मौसममा फेरबदलसँगै 'फ्लुभिड' : रुघाखोकी निको नभएमा जाँच गराउन डाक्टरको सल्लाह

 चैत १८, २०८० आइतबार ९:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले यसलाई 'फ्लुभिड' को नाम दिएका छन् ।

काठमाण्डौमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएको हप्तापछि १० जनाभन्दा धेरै बिरामीमा 'फ्लुभिड' पाईएको छ । यसमा धेरै ज्येष्ठ नागरिक रहेका डाक्टरले बताएका छन् । तर बालबालिका, दीर्घरोगी र अरू उमेर समूहका पनि उत्तिकै जोखिममा रहेका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । अहिले अस्पताल पुग्ने बिरामीमा मौसमी फ्लु र कोरोनाको लक्षण एकैसाथ देखिएको र परीक्षण गर्दा दुवै भाइरस पुष्टि भएको उहाँको भनाइ छ ।

अहिलेको मौसममा रुघाखोकी र सामान्य ज्वरो स्वभाविक भए पनि केही वर्षदेखि कोरोना संक्रमण पनि हुन थालेको छ ।  दुवै भाइरस सक्रिय भएर स्वास्थ्य समस्या आएको भने पहिलो पटक अनुभव गरेको डाक्टर पुनले बताउनुभयो । 'फ्लुभिड' को लक्षण पनि मौसमी रुघाखोकी र कोरोनाको जस्तै हुने सरुवारोग विशेषज्ञ डाक्टर पुनको भनाई छ ।

बिरामीले पहिले मौसमी रुघाखोकी भन्दै समयमा नजँचाउँदा पछि स्वास्थ्यमा समस्या आउने क्रम बढेको छ । यसले गर्दा कोरोनाका बिरामीलाई निमोनिया भएको पनि थाहा नहुने र स्वास्थ्यमा जटिल समस्या हुने जोखिम रहेको डाक्टरको भनाई छ । रुघाखोकी लागेर लामो समय निको नभए स्वास्थ्य परीक्षण गरिहाल्न डाक्टर पुनको आग्रह छ । उहाँले कोरोनाविरुद्धको खोप र मौसमी फ्लु रुघाखोकीको खोप पनि आवश्यक मात्रामा लगाउन सुझाव दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया