गुड्दा गुड्दैको ‘बस उठेर’ शीर्षासन गर्दा संसार चकित ! नेपालीको भाग्य खुल्यो !!

 चैत १८, २०८० आइतबार १४:४:३ | मिलन तिमिल्सिना
unn.prixa.net

नाम बस, हेर्दा उठ । लेख्नेले भन्छन् पल्टियो, हेर्नेले देख्दा ठडियो । हाम्रै देशमा यो पालि संसारमा कहीँ कतै नभएको अचम्मै भयो । त्यो पनि अस्ति भर्खरै पर्यटन राजधानी घोषणा भएको पोखरामा । बाटोमा गुड्दै गरेको बस एक्कासी दुई बल्ड्याङ खाएर खडानन्द भयो । रामदेवको योगमा हुने शीर्षासनजस्तो । विकसित देशले अन्तरिक्षमा पठाउन लागेको रकेट र क्षेप्यास्त्रजस्तो ।

प्रधानमन्त्रीले पटकपटक उथलपुथल ल्याउँछु भनिरहँदा उठेको र ठडिएको बस अर्थात् उठबसको यो शीर्षासन सरकारको अर्को चमत्कार हो । दुःखद दुर्घटनामा उदेकलाग्दो गरि उठेर बसले शीर्षासन गरेको देखेपछि देशमा उथलपुथल हुने सम्भावनाका क्षेत्र अनगिन्ती छन् र आफसे आफ प्रकट हुनेछन् भन्ने कुरा स्वतः प्रमाणित भएको छ ।

सबैभन्दा पहिलो कुरा त पोखरा यसै पनि देशकै पर्यटन राजधानी । सबैभन्दा धेरै पर्यटक पुग्ने ठाउँ । अब उठ बस हेर्नकै लागि पर्यटकको घुइँचो लाग्छ । विदेशबाट समेत पर्यटक ओइरिन्छन् । नेपालमै भएका विदेशी पर्यटक त अहिल्यै पुगिहाल्छन् । नेपाल आउने कि नआउने भनेर विदेशतिरै दोधारमा रहेका पर्यटक पनि पासपोर्ट र भिसा बनाउने तयारीमा जुटिहाल्छन् । केही दिनमै नेपालमा पर्यटकको ओइरो लाग्छ । काठमाण्डौ ओर्लनेबित्तिकै पर्यटकलाई पोखरा पुग्ने हतारो हुन्छ ।

एकैपटक धेरै पर्यटक जहाजमा समेत अटाउँदैनन् । सडकमार्ग हुँदै गाडीबाट जानुपर्छ । गाडीबाट जाँदा पनि पर्यटकले अर्को चमत्कार देख्न र भोग्न पाउँछन् । घाम लाग्दा धुलाम्य, अलिअलि पानी पर्नेबित्तिकै हिलाम्य । संसारका अरू देशमा भएका राजमार्गमध्येमा नयाँ र नौलो राजमार्ग । घाममा धुलो र धुवाँ खाँदै, पानीमा हिलो र जाम भोग्दै पोखरा पुग्दा पर्यटकलाई फरक अनुभूति हुन्छ । राजमार्गमा लामो जाम, त्यसमाथि पर्यटक नै जाममा फस्दा फाइदा चाहिँ नेपालीलाई । सस्तो मूल्य पर्ने खानेकुरा महँगोमा बेच्न पाइन्छ । उता उठ बस हेर्न जाने ठाउँका होटलवालाहरू मालामाल, यता राजमार्गमा सामान बेच्ने व्यापारीका खल्तीमा पैसा फालाफाल । खल्तीमा एकसुको भएन भनेर निराश नेपालीका अनुहारमा एकाएक चमक । छिनको छिन सुखी नेपाली, समृद्ध नेपाल ! प्रधानमन्त्रीले भन्ने गरेको उथलपुथल फर्मुलाको अर्को चमत्कार !

उठ बसले शीर्षासन गरेको ठाउँलाई अर्को पर्यटक केन्द्र बनाएर वरपर पार्क बनाउन सकियो भने दीर्घकालीन फाइदा हुन्छ । यसलाई सङ्ग्रहालय बनाउन सकिन्छ । उठ बसलाई 'भ्युटावर' को रूपमा पनि प्रयोग गर्न सकिन्छ । फेदमा सङ्ग्रहालय, टुप्पोमा भ्युटावर । वरपर पार्क र हरियाली । नजिकै ठूला होटल र मल । एउटा बसले योगासन गर्दा पर्यटन क्षेत्रमा कति धेरै योगदान !

चान्स पाए भने नेपालीले जे पनि गर्न सक्छन् भन्ने यो अर्को उदाहरण हो । गिनिजबुकमा नाम लेखाउन लगाएर उठ बस र चालकको मात्र हैन, देशकै पनि ख्याति र शान बढाउन सकिन्छ । गुडिरहेको बसलाई उठ आसनमा अड्याउन सक्ने ती बसका चालक र सहचालक महामानव हुन् । उनीहरूलाई सरकारले महापुरुष घोषणा गरि पुरस्कार र सम्मान गर्नुपर्छ । सरकारले यो माग बेलैमा पूरा गरिदिने हो भने नेपाल र नेपालीको नाम र नाक राख्ने सिलसिलामा यो अर्को उथलपुथल हुन सक्छ ।

यही उठ बसका कारण अर्को उथलपुथल स्वास्थ्य क्षेत्रमा पनि हुने भएको छ । डाक्टरहरू भन्छन्– शरीर स्वस्थ र फूर्तिलो राख्न नियमित योगाभ्यास गर्नुपर्छ । काठमाण्डौसहित देशका शहरहरूमा बेलाबेला योग कार्यक्रम हुन्छ र यस्तो कार्यक्रमका लागि भारतबाट रामदेवलाई बोलाउने चलन छ । अब हुने यस्ता योग कार्यक्रममा भारतबाट रामदेव बोलाउनु पर्दैन । त्यही उठेको बस हेरेर मान्छेहरूले शीर्षासनलगायत योगका आसन सिक्नेछन् । जडीबुटी र ध्यानको केन्द्र भनेर चिनिँदै आएको नेपाललाई योगको केन्द्रका रूपमा पनि संसारले चिन्नेछ ।

योगकै कुरा गर्दा बसको उठासनलाई केहीले नेता बाबुराम भट्टराईको शीर्षासनसँग दाँजेका छन् । तर जतिपटक शीर्षासन गरे पनि नेता भट्टराईले फेरि शीर्ष आसन भेट्याउन सकेका छैनन् । कहिले यता फड्कने, कहिले उता हामफाल्ने गर्दागर्दै बाबुराम उत्तानाटाङ्गासनमा पुगिसके । शीर्षासनका लागि बल गरिरहेका भट्टराईलगायतका नेताहरूलाई बसको उठासन प्रेरणा बन्न सक्छ । बसको यो रूप देखेर नेता र अरू मान्छेहरूले मात्रै होइन, गाईगोरु र भैँसीहरूले पनि शीर्षासन गर्न सक्छन् ।

अर्को महत्त्वपूर्ण कुरा विश्वका धनी र विकसित देशहरूले अब थाहा पाउनेछन्, नेपाल पनि अन्तरिक्षमा रकेट र क्षेप्यास्त्र पठाउन सक्षम छ । रकेट र क्षेप्यास्त्रका लागि अत्याधुनिक मेशिन र औजार आवश्यक पर्दैनन् । देशभित्रै रहेका स्थानीय साधन र ठाउँ नै पर्याप्त हुन्छन् । अन्तरिक्षमा बस्ती बसाउने तयारी गरिरहेका वैज्ञानिक र अनुसन्धानकर्ताहरू अब नेपालमा आउनेछन् । सामान्य बसबाटै अन्तरिक्षमा पुग्न सक्ने सम्भावनाको अध्ययन गर्नेछन् ।

त्यसैले बस उठेर देखापरेको शीर्षासन विज्ञान र प्रविधिको क्षेत्रमा समेत महत्त्वपूर्ण उथलपुथल हो । यति धेरै चमत्कारको कुरा जान्दाजान्दै पनि उठेको बसलाई फेरि बसाउनु उथलपुथल र परिवर्तनको महत्त्व नबुझ्नु हो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया