लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

 चैत २२, २०८० बिहिबार १२:२४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसको नेतृत्वमा रहेको लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूले आज विश्वासको मत लिँदै हुनुहुन्छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिउँसो ४ बजे विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका संसदीय दलका नेता चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा नयाँ सत्ता समीकरण फेरिएलगत्तै माओवादीले गएको फागुन २३ गते समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री चौधरीले आफ्नो पक्षमा विश्वासको मत जुटाउन साना दलहरूसँग छलफल गरिरहनुभएको छ ।

मुख्यमन्त्रीका लागि दाबी गर्दै आउनुभएका माओवादी केन्द्रका नेता जोखबहादुर महराले आफ्नो पक्षमा बहुमत जुटिसकेको दाबी गर्नुभएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ जना सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब ८६ सदस्यमात्रै छन् । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ जना सांसद छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले उहाँ अप्ठ्यारोमा पर्नुभएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन ह्विप लगाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौरा थारूले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ ।

विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहले कांग्रेसका १८ सहित नागरिक उन्मुक्ति पार्टीका ७, राप्रपाका १ र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमतका लागि आवश्यक २७ मत पुर्‍याउने रणनीति लिए पनि नागरिक उन्मुक्तिभित्रको विवादले बहुमत पुर्‍याउन समस्या भएको छ । यसअघि राप्रपा र स्वतन्त्र सांसदसमेतको समर्थनमा बहुमत जुटाउने रणनीतिनुसार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेश सांसदमध्ये पाँच जनालाई मन्त्री बनाउनुभएको थियो ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउनका लागि २७ सांसदको समर्थन चाहिन्छ । नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्र सभामुखसहित ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ जना स्वतन्त्र गरी ५२ जना सांसद रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया