मुस्लिम समुदायले इद उल फित्र मनाउँदै, आज सार्वजनिक बिदा

 चैत २९, २०८० बिहिबार ६:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि आज इद उल फित्र मनाउँदैछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मियता साट्ने गर्छन् ।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यसवर्ष हिजो बुधवार आकाशमा चन्द्रमा नदेखिएका कारण ईदको अन्तिम  दिन आज बिहीवार सार्नु परेको मुस्लिम धर्माबलम्बीको भनाइ छ ।

राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिँदै इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम धर्मावलम्बीको महान पर्व इद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया