उपचुनाव : अत्यावश्यक र पास प्राप्त गाडी निर्बाध चलाउन पाइने

 बैशाख १४, २०८१ शुक्रबार १५:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले भोलि उपचुनाव हुने इलाम प्रतिनिधि सभा–२ र बझाङ प्रदेश सभा १ (क) मा पारदर्शिता कायम गर्नेगरी सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले मतदानको दिन भोलि मतदाता आउजाउ गर्ने काममा प्रयोग नगर्नेगरी सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका गाडी सञ्चालनका लागि उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ । साथै सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनका लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने निर्णय भएको छ ।

उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन भोलि चार पाङ्ग्रे, तीन पाङ्ग्रे वा दुई पाङ्ग्रेमध्ये एउटा गाडी अनुमति लिएर प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो ।

बिरामी बोकेको एम्बुलेन्स, दमकल, खानेपानीको ट्याङ्कर, तरकारी, फलफूल र दूध बोक्ने गाडी, विद्युत् सेवाको गाडी, फोहर बोक्ने गाडी, सम्बन्धित सञ्चार गृहबाट जारी गरिएको परिचयपत्रवाहक सञ्चारकर्मीले प्रयोग गर्ने गाडी, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने गाडी, शव वाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि प्रयोग हुने गाडी चल्न सक्नेछन् । यसैगरी निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने गाडी, कुटनीतिक नियोग, यूएन एजेन्सी, द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको गाडी, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको गाडी, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको साधन, आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने गाडी चल्न सक्नेछन् ।

मतदानको दिन भोलि कसैले पनि निर्देशन विपरीत ती क्षेत्रमा गाडीको प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले समातेर मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने व्यवस्था गर्न भनिएको छ । भोलि इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा उपचुनाव हुँदैछ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया