‘वीर विक्रम –२’ छायाकंनका लागि निर्माण टिम जोमसोममा

 मंसिर ४, २०७५ मंगलबार १५:११:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मिलन चाम्सको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र हो ‘वीर विक्रम –२’ । चलचित्रको छायांकन सुरु भैसकेको छ ।

केही दिन अगाडि नै छायाकंन सुरु गर्ने भनिए पनि छायाकंन सुरुवातको अन्तिम समयमा नायक आकाश श्रेष्ठले चलचित्रबाट हात झिकेपछि छायाकंन प्रभावित भएको थियो । यतिबेला चलचित्र युनिट चलचित्र छायाकंनका लागि जोमसोम पुगेको छ ।

चलचित्रका सम्पूर्ण कलाकार तथा टिमलाई लिएर निर्माण युनिट जोमसोम पुगेको छ । चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्स, नायक पल शाह, नायिका वर्षा सिवाकोटी, कोरियोग्राफर कविराज गहतराजलगायत अन्य केही कलाकार यतिबेला जोमसोममा छन् । ४० दिनमा चलचित्रको छायाकंन सकिने अनुमान गरिएको छ ।

चलचित्रमा केही हिमाली भेगका दृश्यसमेत समावेश हुने बताइएको छ । सँगै एउटा गीतको छायाकंनसमेत सम्पन्न गरेर निर्माण टिम काठमाडौं फर्कने निर्देशक चाम्सले बताए ।

यसअघिको चलचित्र वीर विक्रममा दयाहाङ राई, दिया पुन, अनुपविक्रम शाही, अर्पन थापा, नाजिर हुसेनलगायतका कलाकारहरुको अभिनय रहेको थियो तर त्यसै चलचित्रको सिक्वेल ‘वीरविक्रम –२’मा पुरानाकलाकार नाजिर हुसेन मात्र यथावत राखिएको छ । चलचित्रमा अन्य पुराना कलाकारलाई देख्न पाइने छैन ।

चलचित्रमा नायक पल शाह र वर्षा सिवाकोटीले रोमान्स गर्दै छन् ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया