संस्थाको नाम - अपराधमुक्त समाज नेपाल, काम - बेरोजगार युवा ठग्ने

 मंसिर ४, २०७५ मंगलबार १९:१०:५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – ‘अपराधमुक्त समाज नेपाल राष्ट्रिय अभियान’ नामक संस्था खोलेर बेरोजगार युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले जनकपुरबाट दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष सिरहा नगरपालिका –२१, बस्ने २७ वर्षका अनिलकुमार मण्डल र त्यसमा काम गर्ने कर्मचारी जनकपुर उपमहानगरपालिका –४, बस्ने २२ वर्षकी नीतु मण्डल प्रहरीले जनाएको छ ।  
 
जनकपुरको पिडारीचोकमा सूर्यनारायण यादवको घरको दोस्रो तल्लामा कोठा भाडामा लिएर ‘अपराधमुक्त समाज नेपाल राष्ट्रिय अभियान’ नामको संस्था खोलेर रोजगारी दिने नाममा सयाैँ बेरोजगार युवाहरुबाट दश हजार रुपैयाँको दरले लाखौँ रुपैयाँ अशुलेका छन् । दुवैजनाले अशुलेको ३ लाख ४५ हजार रुपैयाँ र संस्थाको कागजातहरु बरामद गरेको समेत जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

संस्थाले अपराधमुक्त गर्न समाजमा जनचेतना कक्षा सञ्चालन गर्न बेरोजगारी युवाहरुलाई रोजगार दिने भन्दै प्रत्येकबाट १० हजार रुपैयाँ लिएका थिए । तर रुपैयाँ बुझेको बापत कुनै प्रकारको बिल अथवा प्रमाणपत्र भने दिएका थिएनन् ।
 
पक्राउ परेका संस्थाका अध्यक्ष अनिल मण्डल व्यावसायिक ठग गरेको तथ्य फेला परेको छ । रोजगार दिने नाम पत्रपत्रिकामा सूचना प्रकाशन गरी देशको विभन्न स्थानमा युवाहरुलाई रुपैयाँ ठगेर भागी अर्को ठाउँ गएर पुनः त्यही ठग धन्दा सञ्चालन गर्ने गरेको रहस्य खुलेको छ । उनले तीन महिनाअघि मात्र काठमाडौंको पुरानो बानेश्वरमा रहेकी माइतीदेवी सेतोपुलनजिक संस्था खोलेर ७५ जनासँग पाँच हजारको दरले लाखौँ रुपैयाँ ठगी गरेका थिए ।

त्यहाँ ७५ जनालाई तीन महिना कामसमेत गराएर पैसासमेत नदिई बिचल्लीमा छाडेर भागेका छन् । पाँच हजार रुपैयाँ र तीन महिना काम गरेको ज्यालासमेत नदिएर भागेपछि ७५ जना युवायुवतीहरु बिचल्लीमा परेका छन् ।  

भागेका मण्डल पुनः केही दिनअघि जनकपुरमा संस्था खोलेर रोजगारी दिने सूचना पत्रपत्रिकामा प्रकाशन गरी भ्रम सिर्जना गरेर ठग्न थालेका थिए । त्यसै क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । मण्डलले जनकपुरमा झण्डै तीन सयभन्दा बढीबाट तीसलाख भन्दा बढी रुपैयाँ ठगेको त्यसमा कामको लागि आवेदन र पैसा बुझाउनेहरुले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया