दुःख पाएँ भनेर विदेश गएनन् खिमबहादुर, गाउँमै वर्षको १० लाख कमाई

 मंसिर ८, २०७५ शनिबार १४:३१:३२

सागरबिक्रम बस्नेत/रामेछाप 

खोरमा ४३ वटा बाख्रा अनि टनेलभित्र र बाहिर लटरम्मै फलेका गोलभेंडा । खिमबहादुर अधिकारीको बगैंचामा तरकारीको लागि बनाइएका प्लाष्टिकका पोखरी, पोखरीको बाहिर पहेंलै पाकेका हलुवाबेद, सुन्तला, जुनार, कागती र कफीका बोटले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । 

सफल किसान बन्न खिमबहादुर दिनरात मेहनत गरिरहनुभएको छ, यही खेतबारीमा । अहिलेको स्थितिमा आउन उहाँले गर्नुभएको संघर्षको कथा पनि लामो छ । 

शहर पस्दा र छोड्दाको कथा 

खिमबहादुरले १३ वर्षको हुँदै घर छोड्नुभयो । कारण थियो, हातमुख जोड्ने समस्या । तर बाध्यतामा आएकाहरुलाई शहरले कसरी निचोर्ने रहेछ भन्ने खिमबहादुरले काठमाडौं टेकेपछि नै थाहा पाउनुभयो । 

तर जसरी भए पनि कमाउनु थियो उहाँलाई । पैसाकै लागि खिमबहादुरले किताब समाउने  बेलामा नाम्लो समाउनुभयो । भारी बोक्न पनि सजिलो भएन उहाँलाई । किनकी भारी बोक्न बस्नेहरु सबै उमेरले उहाँभन्दा ठूला थिए अनि हातपाखुरा पनि बलिया । 

बलियाका छेउमा दुब्ला र सानाले काम पाउने कुरै थिएन । उहाँलाई भारी बोक्नु पर्‍यो भन्ने चिन्ता थिएन । चिन्ता त आफूलाई कसैले भारी बोकाएनन् भन्ने थियो । जसोतसो उहाँले भारी बोक्ने काम पाउनुभयो ।

भारी बोकेर भए पनि चामलको भात खान पाउनुभएको थियो । खिमबहादुरको घरमा चामलको भात पाक्न कि त दसैँ, तिहार नै आउनुपथ्र्यो कि त श्राद्ध । ‘त्यसैले चामलको भात खान पाउँदा पनि सपना नै पूरा भए जस्तै भएको थियो’ खिमबहादुर सम्झनुहुन्छ ।   

भारी बोकेर खान पाएको चामलको भातले खिमबहादुरका गालामा मासु थपियो । ‘आफूलाई अलि बलियो भए जस्तो लागेपछि भारी बोक्न छोड्नुप¥यो भन्ने सोचें’ खिमबहादुरले पेशा परिवर्तन गर्दाको  क्षण सम्झनुभयो ।

हिजोसम्म भारी बोक्ने उहाँले अब घर बनाउने काम थाल्नुभयो । त्यतिबेला ढलानको काम गर्ने श्रमिकले दिनको ३० रुपैयाँ पाउँथे । त्यहाँ पनि उहाँले ५ रुपैयाँ कम पाउनुभयो । कारण उही थियो कामदारहरुमध्ये उहाँ सबैभन्दा सानो हुनुहुन्थ्यो । 

तर पनि उहाँको गुनासो थिएन । किनकी त्यही कमाइले उहाँले ज्यानमा दुई जोर लुगा फेर्न पाउनुभएको थियो । यही काम उहाँले २०४७ सालदेखि ३ वर्षसम्म गर्नुभयो । 

३ वर्षमा सिमेन्टले उहाँका हातम फुट्न थाल्यो । खाना खाँदा पनि चहर्‍याउन थालेपछि सहन गाह्रो भयो । त्यही पीडाले उहाँले काम फेर्नुभयो । १९ वर्ष लागिसकेका खिमबहादुर पुग्नुभयो, बौद्धको गलैंचा कारखानामा । सिकेर काममा सिपालु भएपछि उहाँले महिनामा ६ सय रुपैयाँ तलब पाउनुभयो । 

गलैैंचा कारखानामा काम गरेको ५ वर्षमा खिमबहादुर कारखानाको मास्टर बन्नुभयो । ११ वर्ष यही काम गरेपछि म्यानेजर पनि बन्नुभयो । २०६२ सालमा म्यानेजर हुँदा उहाँको तलब २५ हजार रुपैयाँ पुग्यो । 

त्यही बेला खिमबहादुरको बिहे पनि भयो । गलैंचा कारखानाको काम र कमाई राम्रै भएकाले उहाँले श्रीमतीलाई पनि सँगै काठमाडौं ल्याउनुभयो । छोरी जन्मिएपछि जागिर खाएर मात्रै नहुने रहेछ भन्न लाग्न थाल्यो । त्यही सोचले उहाँले काम फेर्नुभयो । २०६५ सालमा लाइसेन्स निकालेर ट्याक्सी चलाउन थाल्नुभयो ।

तेल हालेर साहुलाई दिनको ५ सय रुपैयाँ दिनुपथ्र्यो । तर कहिले धम्की खानुपर्ने, कहिले कुटाई पनि अनि कहिले त ट्याक्सी चढ्नेहरुले नै भाडा नदिने । यो तनावले उहाँलाई गाउँ नै फर्किन प्रेरित गर्‍यो । अरुले जस्तो विदेश जाने सोच बनाउनुभएन । गाउँ फर्किने बेला नै योजना बनेको थियो, बाख्रा पाल्ने । 

नबुझी बाख्रा पाल्दाका समस्या 

खिमबहादुरका ६ जना दाजुभाइ । बुवाको अंशमा उहाँले ३ रोपनी जग्गा पाउनुभएको छ । यही जग्गामा घर छ । २०७२ सालमा बाख्रा पाल्ने र तरकारी लगाउने सोचेर काठमाडौंबाट फर्किेपछि १५ रोपनी जग्गा भाडामा लिनु भयो । 

खिमबहादुरलाई टेलिभिजनमा आउने कृषि कार्यक्रमले उत्साहित बनायो बाख्रा पाल्न । जागिर र ट्याक्सी चलाएर जोगाएको पैसाले २० वटा बाख्रा किन्नुभयो । तर बाख्रा सप्रिनुको साटो दुब्लाउँदै गए । कारण, खिमबहादुरले घाँसको कुनै तयारी गर्नुभएको थिएन । घाटा हुने छाँट देखिएपछि बाख्राको सङ्ख्या घटाउनुभयो । 

बाख्रा पालेर कमाउन सकिन्छ भन्ने बजारबाट बुझिसक्नुभएको थियो । त्यसैले बाख्रा घटाएर घाँस रोप्नुभयो । बाख्रा घट्दा बारीमा तरकारी थियो बेच्नलाई । त्यतिबेला उहाँको गाउँमा तरकारी किनेर खाने चलन थिएन ।

आफूले फलाएको काउली डोकोमा बोकेर गाउँभरी घुमाएर बिक्री गर्नुहुन्थ्यो । पहिलो सिजनकै काउली बेचेर भएको एक लाखभन्दा धेरै कमाएपछि नयाँ घर बनाउन थाल्नुभयो । 

घाँसका बिरुवा हुर्किंदै गए । तरकारी खेती पनि फस्टाउँदै गयो । घाँस भएपछि फेरि बाख्रा पाल्न सुरु गर्नुभयो । २०७२ सालदेखि बाख्रा पाल्न थालेका खिमबहादुरका खोरमा अहिले ४३ वटा खसी बाख्रा छन् । 

बाख्रा पालेर भएको कमाइले उहाँले दुईवटा पक्की घर बनाउनुभएको छ । घरको भुइँतलामा बाख्राको लागि व्यवस्थित खोर बनाउनुभएको छ । आँगनमा तरकारीको क्यारेट बाँधेर ठिक्क पारिएको मोटरसाइकल राखिएको छ । 

बगानमा सिजन अनुसारका तरकारी र फलफूल फल्छन् । तरकारी र फलफूल बेचेको पैसाले घर खर्च चल्छ । अनि बाख्राबाट वर्षको १० लाख रुपैयाँ कमाइरहनुभएको छ खिमबहादुरले । 

यो कमाइले तीन जना छोरी र एक जना छोरालाई काठमाडौंमा पढाउँदै हुनुहुन्छ । छोराछोरी घरमा नभएपछि खिमबहादुर र उहाँकी श्रीमतीले नै घरको सबै काम भ्याउनुुहुन्छ । अधिकारी भन्नुहुन्छ, ‘धेरै जनाले थोरै काम गर्नुभन्दा थोरैले धेरै काम ग¥यो भने सबै काम टार्न सकिन्छ ।’

अधिकारीका श्रीमान श्रीमती बिहान ४ बजेदेखि नै घरधन्दामा जुट्नुहुन्छ । बाख्राको लागि दैनिक ३ पाथी अन्नको कुँडो पकाउनुहुन्छ । खोर सफा गर्ने, बाख्राको पिसाब जम्मा गर्ने, त्यसलाई पोखरीमा मिसाएर गोलभेंडा बालीमा लगाउने, बाख्राका लागि डालेघाँस ल्याउने, अझ बारीमा फलेका गोलभेंडा आफैंले मोटसाईकलमा बाँधेर बजारसम्म पनि पुर्‍याउने । यही काममा बित्छ उहाँहरुको दिन दिन । 

सफल किसान बन्ने सपना

खिमबहादुर अहिले गाउँको एउटा कृषि सहकारी संस्थाको अध्यक्ष भएर पनि काम गरिरहनुभएको छ । सानैबेला शहर पस्दा पढ्न नपाए पनि अहिलेसम्म खिमबहादुरको काममा पढाइले समस्या पारेको छैन ।

कुनै दिन काठमाडौंमा मजदुरी गर्दा उहाँले राम्रो लाउने र दुई छाक मिठो खाने सपना साँच्नुभएको थियो । अहिले उहाँका सपना केही फेरिएका छन् । अब उहाँलाई जिल्लाको नमूना र सफल किसान बन्ने सपना छ । अनि यो सपनालाई पूरा गर्न स्थानीय सरकारले सघाउँछ भन्ने आशमा हुनुहुन्छ, खिमबहादुर । 

अन्तिम अपडेट: फागुन १७, २०७५

तपाईको प्रतिक्रिया