स्थानीय तहबाट पुनर्निर्माणलाई सहज र छिटो बनाउन प्राधिकरणको अनुरोध

 मंसिर ९, २०७५ आइतबार १७:४८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहलाई अधिकार प्रयोग गरी पुनर्निर्माणका काम सहज र छिटो बनाउन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहका जनप्रतिनिधिलाई अधिकार प्रयोग गर्न आग्रह गर्नुभयो । निजी आवास पुनर्निर्माणका विषयमा काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा सीइओ ज्ञवालीले संविधान र पुनर्निर्माण सम्बन्धी नीति नियम र कार्यविधिले दिएका अधिकार प्रयोग गरी निजी आवास र पुनर्निर्माण सम्बन्धी कामलाई अघि बढाउन आग्रह गर्नुभएको हो ।

स्थानीय तहसँग एकाकार भएर काम गरी पुनर्निर्माण समयमै पूरा गर्ने र तत्काल देखिएका समस्या समाधान गर्दै जाने पनि ज्ञवालीले बताउनुभयो । गत भदौ २१ गते बसेको प्राधिकरणको निर्देशक समिति बैठकले निजी आवास पुनर्निर्माणलाई थप सहजीकरण गर्न स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

नीतिगत, स्रोतको व्यवस्थापन, प्राविधिक पक्षलगायत उपलब्ध गराउने भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्वामित्व लिएरै काम अघि बढाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले खटाइएको ठाउँमा नबस्ने इन्जिनियरहरुलाई कारबाही गर्ने चेतावनी समेत दिनु भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया