पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

 मंसिर १०, २०७५ सोमबार १६:६:४५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौँ – जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् ।

सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा साेमबार कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । 

कोषले यो अभियानअन्तर्गत यसअघि नै २०० बिरुवा रोपिएको जनाएको छ । एक वर्षमा पाँच हजार वृक्षरोपण सम्पन्न गर्ने कोषको लक्ष्य छ । कार्यक्रममा कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार वृक्षरोपण अभियान शुरु गरिएको बताउनुभयो । पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटक घुमाई अवधि लम्ब्याउन यहाँको वातावरणमा सुधार गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङले सामाजिक उत्तरदायित्वको कामअन्तर्गत पशुपति क्षेत्रमा बिरुवा रोपिएको बताउनुभयो । पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किरातेश्वरलगायतका खाली स्थानमा बिरुवा रोपिने जनाइएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया