चलचित्र ‘प्रसाद’को विदेशमा उच्च माग, रिलिजअघि नै आधा लगानी सुरक्षित

 मंसिर १२, २०७५ बुधबार १७:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मंसिर २१ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र हो ‘प्रसाद’ । यतिबेला चलचित्र युनिट चलचित्रको प्रचारप्रसारमा व्यस्त छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्र बजारमा ‘प्रसाद’को चर्चा थाप चुलिएको छ ।

नेपालमा प्रदर्शन हुन अगावै चलचित्रको विदेशी डिमाण्ड आइरहेको निर्देशक दिनेश राउत बताउँछन् । लगभग आधा लगानी ओभरसिज राइट्सबाटै उठ्ने छाँटकाट देखाएको छ ।  हाल युरोपियन मुलुकहरुमा चलचित्रकोे उच्च डिमान्ड भइरहेको निर्देशक राउतको भनाई छ । 

चलचित्र ‘प्रसाद’को युरोप वितरणको अधिकार सुरज कार्कीलाई दिइएको छ । कार्कीले बताएअनुसार युरोपका १२ देशमा चलचित्र प्रदर्शन हुने पक्कापक्की भइसकेको छ । डेनमार्क, जर्मनी, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, माल्टा, फिनल्याण्ड, पोर्चुगल, नर्वेलगायतका अन्य केही देशहरुमा प्रदर्शन हुने पक्का भइसकेको छ । अन्य देशबाट पनि चलचित्र प्रदर्शनको माग बढिरहेको उनको भनाई रहेको छ । 

चलचित्रको अन्तर्राष्ट्रिय शो डिसेम्बर १४ बाट सुरु गर्न लागिएको बताइएको छ । चलचित्रको प्रदर्शन फिनल्याण्डबाट सुरु गर्ने तयारी भएको कार्कीको भनाई छ । कार्की भनाईलाई आधिकारिक मन्ने हो भने चलचित्र‘छक्का पञ्जा ३’ पछिको उच्च डिमान्डेड चलचित्र ‘प्रसाद’ नै हो । यसअघिको चलचित्र ‘छक्का पञ्जा ३’ ले युरोपमा अहिलेसम्मकै उच्च ३० शो पाएको थियो । 

नेपालको प्रदर्शनसँगै २१ गतेबाट नै अष्ट्रेलियामा चलचित्र प्रदर्शनको तयारी भइरहेको छ । डिसेम्बरको ७, ८, ९ र १० मा प्रसाद अष्ट्रेलियामा प्रदर्शन गर्ने बुझिएको छ । चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत छ । चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व रहेको छ । 

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया