राजबिराजमा ४ करोडको लगानीमा नर्सिङ कलेज स्थापना हुने

 मंसिर १२, २०७५ बुधबार २०:१:४० | शुभनारायण यादव
unn.prixa.net

घरदैलाे कार्यक्रममा स्वास्थ्य मन्त्री यादव

सप्तरी – राजबिराजमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नर्सिङ कलेज स्थापना हुने भएको छ । 

कलेज स्थापनाका लागि यस वर्ष ४ करोड बजेट विनियोजन गरिएको उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादवले जानकारी दिनुभयो ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले बुधबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमै नर्सिङ कलेज स्थापना गरिने निर्णय गरिएको जानकारी गराउनुभयो । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड बजेट उपलब्ध गराएको छ ।

कात्तिक मसान्तभित्रै त्यो कार्यक्रम अन्तर्गत योजना छनोट गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि उपप्रधान मन्त्री यादवको कार्यव्यवस्तताका कारण योजना छनोटमा केही साता ढिलाई भएको बताइएको छ । योजना छनोटसम्बन्धी बैठकका लागि यादव बुधबार दिउँसो राजबिराज आइपुग्नुभएको थियो । 

सप्तरी निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत उक्त कार्यक्रमका लागि यादवको संयोजकत्वमा १६ सदस्यीय समिति रहेकोमा बुधवारको बैठकमा दुई जना सदस्यहरु भने अनुपस्थित रहेको समितिका सदस्यसमेत रहेका प्रदेश–२ का भूमि व्यवस्था कृषि एवम् सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

सदस्यहरु उपमा देव र डा. मनोजकुमार सिंह भने बैठकमा अनुपस्थित रहेका थिए । फोरम नेपालवाटै प्रदेश सभामा समानुपातिकतर्फ निर्वाचित उपमा देव प्रदेश–२ का उपसभामुख हुनुहुन्छ भने डा. सिंह नेकपाका तर्फबाट प्रदेश–२का प्रदेश सभा सदस्य हुनुहुन्छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया