एमबीबीएस पढ्न प्रतिमालाई ज्ञानोदय विद्यालयले दियो एकलाख ६ हजार रुपैयाँ

 मंसिर १४, २०७५ शुक्रबार १६:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेको खजुरामा रहेको ज्ञानोदय माविले पूर्व विद्यार्थी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनका लागि एकलाख ६ हजार रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयमा शुक्रबार औपचारिक कार्यक्रम गरी शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलन गरिएको एकलाख ६ हजार ६ सय ६४ रुपैयाँ प्रतिमाका अभिभावकलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

शिक्षक र कर्मचारीबाट  ८४ हजार २ सय २१, बाल कल्याण कोषबाट १० हजार कक्षा ६ देखि १२ का विद्यार्थीबाट ९ हजार ३ सय ४३, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले दुई हजार र पूर्व अध्यक्ष मानबहादुर भण्डारीले एक हजार १०० गरी  एकलाख ६ हजार ६ सय ६४ रुपैयाँ प्रतिमालाई सहयोग गरिएको हो ।

प्रतिमाले २०७२ सालको एसईई परीक्षामा ज्ञानोदयबाट ‘ए प्लस’ ग्रेड ल्याएर बाँके जिल्ला प्रथम भएकी थिइन् । विद्यालय परिवारले शर्माको उत्तरोत्तर प्रगतिको कामना पनि गरेको छ ।

यसैगरी  डा. राजन पाण्डेले प्रतिमालाई ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । जनकल्याण मावि बद्रिपुरका शिक्षिका सम्झना केसीले शुक्रबार नै तीन हजार ५०० रुपैयाँ सहयोग गर्नुभएको छ ।

त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पूर्ण छात्रवृत्ति भएपछि भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कमजोर आर्थिक अवस्था भएका कारण शर्माको पढाईलाई सहयोग गर्न आर्थिक सहयोग संकलन गरिएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया