विश्वका सबै मजदूर एक हुन आह्वान

 मंसिर १५, २०७५ शनिबार १६:३४:२९ | रासस
unn.prixa.net

काठमाडौं – अक्टोबर क्रान्ति शतवार्षिकी समितिले क्रान्तिले एक शताब्दी काटिसकेको उपलक्ष्यमा शनिबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा विश्वका मजदूरलाई एक हुन आह्वान गरेको छ ।

सबै मजदूर एक भएर अघि बढे मात्र विश्वलाई उचाइमा लान सकिने समितिका संयोजक स्वनाम साथीले बताउनुभयो । ‘नेपालमा अझै पनि असमानता र विकृति उस्तै छ, धनीको दमनबाट श्रमिकलाई माथि ल्याउनु आजको आवश्यकता हो’, उहाँले भन्नुभयो ।

अक्टोबर क्रान्तिलाई स्मरण गर्दै उहाँले अहिले नेपालमा कम्युनिष्ट सरकारलाई साथ दिई अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आजभन्दा १०० वर्ष अगाडि १९१७ अक्टोबर २५ र नोभेम्बर ७ मा रुसको पेट्रोग्राद शहर ९हालको सेन्ट पिटर्सवर्ग०मा गरिखाने नागरिकले शासककाविरुद्ध आन्दोलनको आँधी खडा गरेका थिए ।

जनक्रान्तिको त्यही आँधीले तत्कालीन राज्यसत्ताको अन्त्य गरी नागरिकको सत्ता स्थापना भएको थियो । त्यही क्रान्तिको नाम नै ‘अक्टोबर क्रान्ति’ हो । हिउँ, हुरी, अनिकाल, युद्ध र मृत्यु मडारिइरहेको निकै अप्ठ्यारो परिस्थितिमा सम्पन्न उक्त क्रान्तिको अगुवाइ कम्युनिष्टले गरेका भए पनि त्यो क्रान्तिको अग्रपङ्क्तिमा रुसमा क्रियाशील सोभियत, सोभियतमा आबद्ध किसान र मजदूर तथा रुसी सैनिकसमेत थिए ।

विश्वभर पहिलो पटक अक्टोबर क्रान्तिले नै शासित वर्गको राज्यसत्ता स्थापना गरेको थियो । त्यो क्रान्तिमा संसारका लागि रोटी, शान्ति र जमीन, नागरिकका लागि रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरेको थियो ।

फलस्वरूप रुसी नागरिक ‘युद्ध होइन, क्रान्ति, नागरिकविरुद्ध होइन, शोषणविरुद्ध हतियार’ भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयका रूपमा हेर्न लालायित भएका थिए । सर्वहारा वर्गको अधिनायकतन्त्रले आफ्नो पहिलो कामका रूपमा जग्गा जोत्नेको तथा महिला तथा तेस्रो लिङ्गीमाथिका सामन्ती पूँजीवादी हेपाइ–मिचाइ र रजाइँविरुद्ध कानून जारी गरेको थियो ।

समितिका सचिव शरद पौडेलले संसारलाई नयाँ बाटो देखाउने अक्टोबर क्रान्ति १०० वर्ष पुगेका अवसरमा त्यसप्रति सम्मान गर्दै नेपालका सचेत कम्युनिष्टले पनि अक्टोबर क्रान्ति शताब्दी उत्सव मनाइरहेको बताउनुभयो ।

गएको वर्षदेखि समितिले विविध कार्यक्रम गर्दै अक्टोबर क्रान्तिको शतवार्षिकी मनाइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया