'नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम'

 मंसिर १६, २०७५ सोमबार ५:३२:१९ | रासस
unn.prixa.net

काठमाडौं - एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ । 

युनिभर्सल पिस फेडेरेशन (युपिएफ) को आयोजनामा काठमाडौँमा दुई दिनसम्म चलेको सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्दै सशस्त्र द्वन्द्व शान्तिपूर्ण वार्तामार्फत सफल भएको नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक उपलब्धि भनी उल्लेख गरेको छ । 

सम्मेलनले मानवीय र पृथ्वीमाथिको अस्तित्व चुनौती बनेको जलवायु परिवर्तनसँगसम्बन्धी गम्भीर मुद्दालाई विश्व समुदायले प्रभावकारी र तत्कालै सम्बोधन गराउन पहल गर्र्नुपर्नेमा जोड दिइएकोे छ । 

सम्मेलनको समापन कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले घोषणापत्र पढेर सुनाउनुभएको थियो । घोषणापत्रमा अझ शान्तिपूर्ण र समतामूलक तथा समावेशी विश्व व्यवस्था कायम गर्न विश्वव्यापी सुरक्षामा बढ्दो चुनौतीलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरिएको छ । 

दिगो शान्ति र खुशीका लागि विवाह र परिवारजस्ता परम्परा महत्वपूर्ण भएकामा जोड दिँदै सम्मेलनले उक्त परम्पराबाट नै दिगो विकासलाई अगाडि बढाउन समाज र राष्ट्रले सुरक्षा गर्नुपर्छ भन्ने विश्वव्यापी घोषणालाई ध्यानमा राखेको जनाएको छ । हिंसाबाट पीडित, अवसर र शिक्षाबाट बञ्चित महिलाको अवस्थामा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै सम्मेलनले सबै तहका सरकारले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ । 

सम्मेलनले जुनसुकै पेशा, राष्ट्रियता, संस्कृति, जातिका भए पनि सामाजिक दायित्व निभाउन युवा एवं विद्यार्थीलाई आग्रह गर्दै नैतिक छवि कायम गर्न, स्वचालित चेतना विकास गर्न र रुपान्तरणात्मक नेतृत्वको विकासमा युवा एवं विद्यार्थीको समावेश गर्र्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । 

आदर्श जीवनले नै परिवार, समाजमा र विश्व मानवीय सम्बन्धमा भिन्नता र मतभेद हटाउन मद्दत गर्ने उल्लेख गर्दै सम्मेलनले यसबाट नै विश्व परिवारको निर्माण हुनेमा जोड दिइएको छ । यही मङ्सिर १५ र १६ गते भएको सम्मेलन आयोजना गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संयोजक र एकनाथ ढकाल सहसंयोजक रहेको समिति गठन गरिएको थियो । 

‘विश्व शान्तिका लागि सम्मेलन उपलब्धिमूलक’ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्रशान्त सम्मेलन विश्व शान्तिका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ । 

आज यहाँ आयोजित सम्मेलनको समापन समारोहमा उहाँले नेपालको शान्ति प्रक्रिया अघि बढाउँदाको समयमा आफूले गरेको योगदानको स्मरण गर्दै विश्वमै अनुपम नेपालको शान्ति प्रक्रियामा आफूहरुलाई गर्व रहेको धारणा व्यक्त गर्नुभयो । युद्ध र द्वन्द्वको समाधानका लागि त्यसको गहिराइमा पुगी कारण पत्ता लगाउनुपर्ने र छलफल तथा शान्तिपूर्ण वार्तामार्फत समाधानका लागि उपाय पहिल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली जनताले सात झण्डै दशकदेखि पटकपटक सङ्घर्ष गर्दै आएको अधिकारको लडाईं संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संस्थागत भएको बताउनुभयो । नेपालको शान्ति प्रक्रियाका बारेमा केन्द्रित रहेर मन्तव्य दिनुभएका उहाँले तत्कालीन प्रमुख सबै राजनीतिक दल र माओवादी मिलेर नै सशस्त्र द्वन्द्व समाधान भई शान्ति प्रक्रिया सफल भएको चर्चा गर्नुभयो । 

परराष्ट्रमन्त्री ज्ञवालीले निरकुंश राजतन्त्रका विरुद्ध तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको सम्झौतादेखि विसं २०६२÷६३ को आन्दोलन, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, सेना समायोजना, संविधानसभाको निर्वाचन र संविधानसभाबाट नेपालको संविधान जारी भएको सम्बन्धमा अवगत गराउनुभएको थियो । 

साथै उहाँले नयाँ संविधान कार्यान्वयनका लागि गत वर्ष मात्रै तीन तहका निर्वाचन सफल पमा सम्पन्न गरी मुलुकमा राजनीतिक स्थायित्व कायम भएको र वर्तमान सरकारले जनताका चाहना पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान अघि बढाएको बताउनुभयो । 

कार्यक्रममा कोरियाली संसद्को शिक्षा समितिका अध्यक्ष चानयोल लीले विश्वको शान्ति परियोजनामा शान्ति, विकास, सुशासन र संसद् भूमिकाका विषयमा मन्तव्य दिँदै कोरियाली प्रायद्वीपको शान्ति प्रक्रियाका बारेमा सम्मेलनमा नेताहरुले देखाएको चासोप्रति आभार व्यक्त गर्नुभयो । 

युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस जि वाल्सले आफ्नो संस्थाको स्थापना, उद्देश्यका बारेमा अवगत गराउँदै विश्वमा शान्ति र विकासका लागि कार्य गर्दै आएको बताउनुभयो । फिजीका सभामुख जिको लुभेनीले विश्वमा शान्ति कायम गर्न संसद्को भूमिकामाथि प्रकाश पार्दै दिगो विकासका लक्ष्य हासिल गर्न भइरहेको प्रयासका बारेमा अवगत गराउनुभएको थियो । 

यसअघि आजै सम्मेलनकै क्रममा सम्बन्धित क्षेत्रका विज्ञको सहभागितामा विश्वका समसामयिक जटिल चुनौतीमा ‘जलवायु परिवर्तन र सञ्चार माध्यमको’ भूमिका विषयक छुट्टाछुट्टै सत्र सञ्चालन गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया