उज्यालो बन्दै बझाङका गाउँबस्ती

 मंसिर १९, २०७५ बुधबार १८:८:४१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – कुनै बेला मट्टीतेलको टुकी र सल्लाको झरो (चिराग)को भरमा उज्यालोको व्यवस्था  गरेर गुजरा चलाइ रहेका बझाङका दुर्गम गाउँहरु केही वर्षयता एकपछि अर्काे उज्यालो बन्दै गएका छन् । 

ग्रामिण समुदायहरुमा गाउँमा रहेका साना–ठूला खोलाबाट लघु जलविद्युत बनाउने एक खालको प्रतिस्पर्धा नै चलेको छ । जिल्ला विकास समितिको उर्जा तथा जलवायु परिर्वतन शाखाको तथ्याङ्क अनुसार २०६३ सालयता जिल्लाका विभिन्न नगरपालिक तथा गाउँपालिकाहरुमा  ६१ वटा लघुजलविद्युत योजना निमार्ण सम्पन्न भैसकेको छन । ३८ वटा योजनाहरु निमार्णाधीन अवस्थामा रहेका छन् ।

‘पहिला पहिला घट्ट पिस्नका लागि पनि आउन–जान एक दिन लाग्थ्यो’, दाँतोलाका विष्णु जेठाराले भन्नुभयो, ‘बिजुली आएपछि गाउँमै घट्ट छ, उज्यालोको पर्याप्त व्यवस्था छ । गाउँमा झिलिमिली छ ।’ विद्युत निमार्ण भएपछि उज्यालो मात्र नभएर स–साना उद्योग, सूचना प्रविधिमा आधारित व्यापार व्यवसाय गर्नका लागि सहज भएको र विद्युतले गाउँको अनुहार नै फेरेको उहाँको भनाइ छ ।

उर्जा शाखाका अनुसार पछिल्लो समय बझाङ जिल्लाका १७ हजार २ सय ९१ घरधुरीमा जलविद्युत सेवा पुगिसकेको छ भने केही वर्षभित्रै जिल्लाभरका सबै घरधुरीहरुमा जलविद्युत सेवा पुग्ने जिल्ला विकास समितिको अनुमान छ ।

‘मिसन बनाएर काम गर्दा तीन वर्षभित्र बझाङका सबै घरमा जलविद्युत सेवा पुर्याउन सकिने श्रोत र सम्भावना रहेको छ’, जिल्लाका १० गाउँपालिका र दुई वटा नगरपालिकामध्ये अहिले बिजुली नबलेको कुनै गाउँपालिका तथा नगरपालिका बाँकी छैनन् ।’

जिल्लाभर बनेका लद्युजलविद्युतमा बैकल्पिक उर्जा प्रर्वधन केन्द्रको अनुदान, तत्कालीन जिल्ला विकास समिति र अन्य विभिन्न गैरसरकारी संस्थाले लगानी गरेका छन् । यसमा स्थानीयको श्रमदानले पनि छोटो अवधिमा धेरै विद्युत उत्पादन गर्न सम्भव भएको जिल्ला समितिका संयोजक खड्कबहादुर खड्काले बताउनुभयो ।

गाउँमा विद्युत पुगेपछि टुकी र झरो बाल्नु पर्ने बाध्यता हटेको छ भने दुर्गम गाउँहरुमा पनि सूचना र सञ्चारको पहुँच पुगेको छ । विद्युतले गाउँको विकासको ढोका नै खोलेको स्थानीयहरुको भनाई छ ।

‘बिजुली पुगेपछि धेरै फाइदा भएको छ’, छविसपाथीभेरा गाउँपालिकाका धनलाल भण्डारीले भन्नुभयो, ‘टीभी के हो भनेर थाहा नपाएका हामी दुर्गमका मान्छेले घरमै टीभी हेर्न पाएका छौं, केटाकेटीले उज्यालोमा पढ्न पाएका छन् । सीप हुनेले उद्योगधन्दा चलाएका छन् ।’

योसँगै बझाङ जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि बझाङ जिल्ला झन् उज्यालोमय बनेको स्थानीयबासिन्दाको भनाई छ । 

 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया