यस्ता बुद्धिजीवीहरुको असलियतका बारेमा मैले जवाफ दिँदा उनीहरु थला पर्छन् : प्रधानमन्त्री अाेली

 मंसिर २०, २०७५ बिहिबार १५:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले केही बुद्धिजीवीको टिप्पणी अत्यन्तै असभ्य र तल्लो स्तरको रहेको भन्दै बोल्नु अघि विचार गरेर बोल्न चेतावनी दिनुभएको छ ।

बुधबार नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रममा प्रधानमन्त्री ओलीले असभ्य टिप्पणी गर्नुभन्दा पहिले अर्थात संचारमाध्यममा जानुभन्दा पहिले आफूसँग एक पटक सत्य तथ्यका बारेमा जानकारी लिन आग्रह गर्नुभयो । 

यस्ता बुद्धिजीवीहरुको असलियतका बारेमा आफू राम्रोसँग जानकार रहेको भन्दै उहाँले आफूले जवाफ दिँदा उनीहरु थला पर्ने बताउनुभयो ।  

‘मसँग एकपटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्ने इच्छा गर्नुभएको हो कि होइन ?’ प्रधानमन्त्रीले प्रश्न गर्दै भन्नुभयो ‘उहाँहरूलाई सोध्न चाहन्छु, उहाँहरूका अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो ।’

सरकारकै भत्ता पेन्सन खाने, सुविधा लिने व्यक्ति नै गैरजिम्मेवार ढंगले बोल्ने र गोपनीयताहरूको वास्ता नगरी अत्यन्त अनुत्तरदायी र झूटो प्रचार गर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले भन्नुभयो, ‘म अत्यन्त अपमानजनक ढंगले जवाफ दिइरहन चाहन्नँ तर, उहाँहरूलाई म सोध्न चाहिँ चाहन्छु, म पनि जवाफ दिऊँ ?’

केही दिनअघि सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीले प्राप्त गर्नुभएको एक लाख डलरको पुरस्कारका विषयमा विभिन्न टिप्पणीहरु आएका थिए । 

कसैले पुरस्कारलाई किनेको जस्तो भनेको र कसैले पारिश्रमिक लिएको जस्तो देखिएको भनेर अत्यन्त गैरजिम्मेवार ढंगले प्रतिकृया दिएको भन्दै उहाँले यस्तो गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिनुभएको हो ।  


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया