यात्राका दुई पात्र : केटीले हँसाइन्, केटोले रुवाए

 पुस १, २०७५ आइतबार १३:१२:५८ | मिलन तिमिल्सिना
unn.prixa.net

शनिबार जसरी पनि धादिङबेसी पुगेर फर्कनुपर्ने थियो । बिहानै कलंकीबाट बस चढें । चालकको बायाँतिर क्याबिनको सिट मिल्यो । सँगै एउटी किशोरी थिइन् । 

बस चढ्ने बेला उनी केही खाँदै थिइन् । बाटोमा पनि उनको मुख खाली थिएन । कहिले ब्यागबाट कुरकुरे निकाल्छिन्, कहिले आलु चिप्स, कहिले बिस्कुट, कहिले चाउचाउ । वरपर बस्नेलाईसमेत छक्क पार्नेगरी उनी थरिथरीका खानेकुरा खाँदैछिन् । 

नागढुंगा कटेपछि उनले फेरि बिस्कुटको अर्को प्याकेट निकालिन् । सँगै सिटमा रहेका अरुलाई पनि दिइन् । मलाई पनि खानुहुन्छ भनेर सोधिन् । मैले खान्न, धन्यवाद भनें । उनले फेरि कर गरिन् ।

‘म त बिहे खान जान लागेको, बिहे खानुपर्छ भनेर हिजोदेखि भात त खाएको छैन, अहिले बिस्कुट खायो भने बिहे कसले खाइदिन्छ र ?’ मैले ठट्टा गरें । उनी मुर्छा परेर हाँसिन् ।

‘म पनि बिहे खान जान लागेको त हो नि’ हाँसो रोकिएपछि उनले भनिन् ।

‘ल तपाईंलाई घाटा लाग्ने भयो, बिहे खानुअघि नै अघाउने हुनुभयो, तपाईंको बिहे भाग कसले खाइदिन्छ ?’ मैले फेरि ठट्टा गरें । उनी फेरि उसैगरी हाँसिन् ।

खानीखोलामा बस रोकियो । उनले त्यहाँ पनि कुरकुरे र चिप्स किनेर ब्यागमा हालिन् ।

गल्छी पुग्ने बेला तितौराको अर्को प्याकेट निकालिन् । ‘यो चाहिँ खानुस्, यसले पेट भरिंदैन, भोज खान पाउनुहुन्छ’ भन्दै प्याकेट मेरो अघिल्तिर तेर्साइन् । मैले नाईं भन्न सकिनँ । एउटा टुक्रो तितौरा मुखमा हालें । उनी मुस्कुराइन् ।

धादिङबेसीभन्दा अघिल्लो बसस्टप ससाह भन्ने ठाउँमा उनी झरिन् । झर्नुभन्दा अगाडि उनले मलाई हाँस्दै जिस्क्याइन्, ‘बिहे भोज कतिखेर हो, तै पनि भोजअघि केही नखानुस् है, फेरि खानु होला नि ।’ मैले हाँसो रोक्न सकिनँ ।

सोचें, यी किशोरीलाई आफ्नो बाहेक अरु कसैको चिन्ता छैन । पैसाको दुःख छैन । आफूले पैसा कमाउन पनि परेको छैन । जति चाहियो बावुआमाले दिन्छन् । सम्पन्न परिवारकी सुखी छोरी होलिन् । त्यसैले जति खाए पनि भयो, जति लगाए पनि भयो । तर उनीजस्तै उनको उमेर हाराहारीका किशोरकिशोरीले यत्तिकै मस्ती गरेर हिँडडुल गर्न पाउँदैनन् ।

उनको बारेमा सोच्दासोच्दै धादिङबेसी पुगियो । झर्ने बेला भयो । धादिङबेसी पुगेर बिहेको रमझममा लागेपछि ती किशोरीको सम्झना पनि सकियो ।

बिहेको रमझममा रम्ने रहर पूरा नहुँदै काठमाडौं फर्किने बेला भयो । फर्कने बेला पनि क्याबिनकै सिट मिल्यो । बिहेका कारण बस कम चलेकाले यात्रुको घुईंचो थियो । ठाउँठाउँमा यात्रु ओराल्दै, चढाउँदै बस आफ्नो गतिमा कुदिरह्यो ।

गल्छीमा अरु यात्रुसँगै एक किशोर पनि चढे । लामो कपाल भएका, पुरानो ज्याकेट र पाइन्ट लगाएका उनी मेरै छेउमा बसको इन्जिनमाथि बसे । एकछिनमा सहचालकले भाडा मागे । उनले पाइन्टको अघिल्तिर हात हाले । त्यहाँ पैसा रहेनछ । ज्याकेटको चेन खोले । भित्र खल्तीमा हात हाले, अनि होसियारीपूर्वक पैसा निकाले ।

सयको दुईवटा, ५० को दुईवटा, अनि २०, १० र ५ का तीन चार वटा नोट सँगै पट्यार राखेका रहेछन् । एकएक गर्दै पैसा गने, अनि २० र ५ को एकएक वटा नोट झिकेर सहचालकलाई दिए । बाँकी पैसा जतनका साथ पट्याए र होसियारीपूर्वक ज्याकेटको भित्री गोजीमा हाले । अनि हात बाँधेर बसे ।

पैसालाई जतन र इज्जत गर्ने यो व्यवहार देखेर मलाई लाग्यो, पक्कै यो उनको आफ्नै कमाई हो । बावुआमाले दिएका हैनन् । बावुआमाले दिएको र पैसाको मतलव नभएको मान्छेले पैसालाई यसरी इज्जत नै गर्न सक्दैन ।

मैले उनलाई सोधें, ‘भाइ घर कहाँ हो ?’
‘महादेववेसी भन्दा अलि माथि’ उनले छोटो उत्तर दिए ।
‘कतिमा पढ्छौ ?’
‘सातमा ।’
‘काम पनि गर्छौ हो ?’
‘हो’ हात हेर्दै उनले भने ।
‘के काम ?’
‘खोलाको बालुवा उठाएर गाडीमा हाल्ने’ उनले मसिनो स्वरमा भनें ।
‘कुनबेला गर्छौ त, स्कुल पनि जानुपर्यो’ मैले फेरि सोधें ।
‘बिदा भएको दिन गर्छु, शनिबार । तर आज चाहिँ हजुरआमालाई पुर्याउन जानुपर्ने भएकाले बालुवा उठाउन जान पाइनँ’ उनले भने ।

उनको नाम साजन राई । उमेर १६ वर्ष । घरमा बा, आमा र सानी भान्जी छिन् । दिदी भिनाजु वैदेशिक रोजगारीमा भएकाले भान्जी मामाघर बसेकी हुन् । भान्जी शिशु कक्षामा पढ्छिन्, साजन चाहिँ सात कक्षामा ।

बावुआमा गरिब छन् । कापी, कलम र स्कुल ड्रेस किन्ने पैसा दिन सक्दैनन् । त्यसैले स्कुल बिदा भएको बेला काम गर्ने गरेको उनले सुनाए । दिनभरी काम गर्दा एकहजार रुपैयाँ कमाई हुन्छ । यसरी कमाएको पैसा उनले आफ्नो पढाईमा मात्र खर्च गर्दैनन्, बाआमालाई पनि दिन्छन् ।
‘हिजो मामाघरको हजुरआमा आउनुभएको थियो, गल्छीभन्दा अलि माथि पर्छ उहाँको घर, उहाँलाई पुर्याएन गएको नि’ उनले भने । 

‘हजुरआमालाई पनि पैसा दिनुपर्यो होला नि है’ मेरो प्रश्न सकिन नपाउँदै उनले मुन्टो हल्लाए ‘धेरै हैन, चारसय रुपैयाँ दिएँ ।’ आफ्नो पढाई खर्च आफैं जुटाएर बाआमालाई मात्र होइन, मामाघरको हजुरआमालाई समेत यति धेरै खर्च दिन सक्ने यी किशोरको कुरा सुनेर म भावुक भएँ । एकछिन केही सोध्नै सकिनँ ।
‘अब झर्ने बेला नि हुन लाग्यो’ उनी आफैं बोले । 

मैले सोधें, ‘काम नगरीकन पढ्न मात्रै पाए हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन ?’
‘लाग्छ नि, एसएलसी (एसईई) सम्म पढ्न पाए हुन्थ्यो भन्ने विचार छ, हेरौं के हुन्छ’ उनको अनुहार मलिन भयो ।

एकछिन विचार गरेर मैले उनको फोन नम्बर मागें । तर केही दिनअघि बाले फोनको सिम फुटाइदिएको र केही दिनपछि अर्को सिम किन्ने बताए । मैले मेरो नम्बर दिएँ र फोन गर्नु है भनें । उनले हुन्छ भने ।
गल्छी आइपुगियो । उनको झर्ने बेला भएछ । तल ओर्ले । मैले बाहिर हेरें । उनी झ्यालतिर आए, हात हल्लाए र भने – अंकल राम्रोसँग जानुस् है । मैले पनि हात हल्लाएँ ।

उनको व्यथा, वाध्यता र बानीव्यहोरा देखेर सबैभन्दा पहिले मलाई आफ्नै त्यो उमेरको याद आयो । १६ वर्षको उमेरमा म एसएलसीको तयारी गर्दैथिएँ । पैसा कमाउन पर्दैनथियो । घरभन्दा अलि टाढा दिदीको घर (गोरखाको घ्याल्चोक) बसेर पढ्थें । कहिलेकाहीँ घर गएको बेला हजुरबा पुर्याउन जानुहुन्थ्यो ।

१६ वर्षको उमेरमा मलाई हजुरबा पुर्याउन हिँड्नुहुन्थ्यो । यही उमेरमा साजन हजुरआमालाई पुर्याउन हिँड्छन् । त्यो उमेरमा मलाई बाआमा र हजुरबाले पैसा दिनुहुन्थ्यो, साजन उल्टै बाआमा र हजुरआमालाई पैसा दिन्छन् । मलाई पैसा कमाउने चिन्ता थिएन, बाले दिएको पैसाले चकलेट किन्न पनि पुग्थ्यो । साजनलाई चकलेट त परको कुरा, बाले कापी कलम किन्ने पैसा पनि दिन सक्नुहुन्न । आफैंले काम गरेर कमाउनुपर्छ । स्कुल पढ्ने उमेरमा कहिलेकाहीँ मलाई लाग्थ्यो, पढ्न नपरे कति सुख हुन्थ्यो होला, न सरमिसको डर न परीक्षा र गृहकार्यको । तर साजनलाई पढ्न कति धेरै रहर छ !

अनि मैले बिहान सँगै यात्रामा रहेकी केटीलाई सम्झें । उनलाई पैसाको चिन्ता नै थिएन । कहिले पाइन्टको खल्तीबाट, कहिले ब्यागबाट पैसा निकाल्थिन् । जतनसाथ पट्याएको नोट हैन, कच्याकुचुक पारेर राखिएका हरिया, निला र पहेंला रंगका नोट । पसलमा पटकैपिच्छे खानेकुरा किनेर फिर्ता आएको नोट एकफेर पनि नहेरी उसैगरी कच्याककुचुक पारेर खल्तीमा राख्थिन् । मुख खाली नगरीकनै खानेकुरा खाइरहन्थिन् । 

तर उनकै उमेर हाराहारीका साजनलाई पैसाको कति धेरै महत्व छ । मुख मिठ्याउन खानेकुरा त के, पेटभरी भात खान पनि पाउँदैनन् । पढ्न कति धेरै रहर छ, तर अन्त मन नडुलाइकन पढ्नै पाउँदैनन् । कापी, कलम र स्कुल ड्रेस किन्ने पैसा जुटाउनकै लागि आफ्नो ज्यानले नसक्नेभन्दा धेरै काम गर्नुपर्छ । बा, आमा र हजुरआमालाई समेत दिनुपर्छ ।

मनमा धेरै कुरा खेले । सोचें, एसईईसम्म पढ्ने उनको रहर पूरा गर्ने कर्तव्य मेरो पनि हो । फोन गर्लान् या नगर्लान्, तर उनलाई मैले अवश्य भेट्नुपर्छ ।


 

अन्तिम अपडेट: साउन ६, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया