के हुँदैछ नेकपा र कांग्रेसभित्र ?

 पुस ३, २०७५ मंगलबार १३:२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चिसो दिनप्रतिदिन बढिरहँदा देशका मुख्य दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसभित्र भने आन्तरिक सरगर्मी ह्वात्तै बढेको छ । 

दुई तिहाई बहुमतको सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै दलभित्र अहिले आन्तरिक विवाद देखिएको छ । 

नेकपाको लामो समयपछि बसेको स्थायी समिति बैठक र नेपाली कांग्रेसको महासमिति बैठक दुवैमा पार्टीभित्रको आन्तरिक कमजोरी तथा नेतृत्वको एकाधिकारको विषयलाई अर्को समूहले जमेर विरोध गरिरहेको छ । 

नेकपामा एक व्यक्ति एक पदको कुरो चर्कोसँग उठेको छ भने कांग्रेसमा विधान संशोधनको कुरो पेचिलो बनेको छ ।

नेकपा सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनलाई टक्कर दिने गरी फरक मतसहितको प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनमा नेतृत्व सही ढंगले चल्न नसकेको र एकताको बेला एक व्यक्ति एक पद भनिएको भए पनि अहिले नेतृत्व नै एक व्यक्ति बहुपदमा रहेको भन्दै पार्टी नेतृत्वको चर्काे आलोचना गरिएको छ ।  

नेपाली कांग्रेसभित्र भने पदाधिकारीको संख्या, केन्द्रीय कार्य समितिको प्रतिनिधित्वलगायतका विषयले विवाद बढाएको छ । 

नेकपाका सचिवालय सदस्य गौतमले पेश गरेको प्रतिवेदनप्रति इंगित गर्दै पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोसिस गरेको भन्दै संविधानमा यदि मिल्ने भइदिएको भए दुवै जना प्रधानमन्त्री पनि बन्ने थियौँ भनेर अभिव्यक्ति नै दिनुपर्यो ।

सोमबार बोल्ने पालो पाउनुभएका नेता गौतमले प्रधानमन्त्रीको अभिव्यक्तिलाई व्यंग्य गर्दै अहिले सरकार दुई तिहाइको रहेकाले संविधान संशोधन गरेर भए पनि दुवैजना प्रधानमन्त्री बन्न सुझाव दिनुभयो । 

कांग्रेसको महासमिति बैठकको बन्द सत्रको चौथो दिनसम्म आइपुग्दा पनि विधान मस्यौदामा सहमति जुट्न सकेको छैन ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान सम्बन्धि प्रतिवेदनमा कांग्रेस केन्द्रीय कार्य समितिमा अझै सहमति जुट्न नसकेको हो । पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता पौडेल पक्षबीच सहमति नजुट्दा विधान संशोधन मस्यौदाको प्रतिवेदन अझै महासमिति बैठकमा पेश हुन सकेको छैन । 

महासमितिको बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक र पार्टीको आयव्ययसम्बन्धी प्रतिवेदनमा भने खासै ठूलो विवाद नरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्षद्वय र अर्का नेता वामदेव गौतमले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । बैठकमा स्थायी समिति सदस्यहरुले आ–आफ्ना धारणा राख्ने क्रम जारी नै छ । अध्यक्षद्वय ओली र दाहालले पेश गरेको प्रतिवेदनमा पार्टी र सरकारले गरेको काम सही भए पनि सुनियोजित रुपमा चौतर्फी प्रहार भइरहेको दाबी गरिएको छ भने नेता गौतमले पेश गर्नुभएको प्रतिवेदनमा सरकारको ९ महिने काम निराशाजनक र नेतृत्व पार्टीको सामूहिक निर्णयमा नभई एकलौटी ढंगले अघि बढेको आरोप लगाइएको छ ।

तत्कालीन एमाले र एकीकृत माओवादीबीच केन्द्रीय तहमा एकता भएको ७ महिना वित्दा पनि तल्लो तहसम्मको एकताले पूर्णता पाउन नसक्नु नेतृत्वको गम्भीर कमजोरी रहेको गौतमको प्रतिवेदनले औँल्याएको छ । यस विषयमा पनि बैठकमा छलफल चलिरहेको छ ।

यस्तै, पोलिटब्युरो सदस्य चयन, केन्द्रीय सदस्यको जिम्मेवारी र भ्रातृ संगठनको एकताको काम पनि बाँँकी नै छ ।

सोमबारको बैठकमा नेताहरु वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, बेदुराम भुसाल र शक्ति बस्नेतले दुवै प्रतिवेदनमाथि आआफ्नो धारणा व्यक्त गरेका छन् ।

पार्टी गतिशील र तल्लो तहसम्मै एक बनाउन बनाउन नेतृत्व अझ बढी क्रियाशील र सशक्त बन्नुपर्ने धारणा नेताहरुले राखेको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

लामो समयपछि बसेको स्थायी समिति बैठकले पार्टीलाई गतिशीलता दिने नेकपा नेता कार्यकर्ताले अपेक्षा गरेका छन् । यस्तै महासमिति बैठकपछि भने कांग्रेसभित्रको तिक्तता निमिट्यान्न भएर पार्टी सुदृढ तरिकाले संचालन गर्नुका साथै रचनात्मक प्रतिपक्षीको भूमिकामा खरो रुपमा उभिनेछ भन्ने विश्वास नेता कार्यकर्तामा छ ।   

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया