‘अन्साल्लो’ नै पहिरोले बगाएपछि एकछाक टार्नै धौ–धौ

 पुस ८, २०७५ आइतबार १४:४३:११ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – खेतीपाती गर्न जग्गा छैन । सम्पत्तिको नाममा एउटै मात्र घर छ । वर्षौदेखि पानी आउँदा चुहिने घर मर्मत गर्नु त सपनाको कुरा हो । बाजेका पालामा सेलेटले छाएको घरमाथि खरले जेनतेन जोहो गरी टाउको लुकाउने व्यवस्था मिलाइएको छ ।

कामाई खाने जग्गाका नाममा तरकारी लगाउने सानो करेसाबारी पनि छैन । ठेकी भाँडा कुँदेर जीविकोपार्जन गर्दै आउनुभएका तल्कोट गाउँपालिका वडा नम्बर ३ का रामबहादुर चदाराले सम्पत्तिका् नाममा ‘अन्सालो’ र त्यही एउटा घर छ ।

‘पुर्खाहरुले घर पनि कसरी निर्माण गरे, अचम्म  लाग्छ । वर्षौदेखि घर परिवारको लालनपालन मागेर चलाइएको छ । मागी खानका लागि पनि केही मेहनत गरे मात्रै हुन्छ’, चदाराले भन्नुभयो, ‘त्यत्तिकै मागेर गुजरा चलाउन सकिँदैन ।’

पूर्खौली पेशा ‘अन्साल्लो’ (काठका भाँडा–ठेकी निर्माण गर्ने ठाउँ)को सहायताले घर परिवारको गुजरा चलाउँदै आएका थिए, चदारा । तर गएको भदौ महिना उहाँको परिवार पाल्ने सहारा ‘अन्सालो’ नै पहिरोले बगाइदियो । भदौ १ गते आएको पहिरोले ‘अन्साल्लो’ बगाइदिएपछि उहाँलाई एक छाक टार्न पनि धौ–धौ भएको हो ।

राति परेको अबिरल वर्षासँगै आएको पहिरोले ‘काम गरेर खाने’, ‘छोरा–छोरी, घर परिवारको पेट पाल्ने’ एउटै माध्यम ‘अन्साल्लो’ बगाइदिएपछि अहिले एक छाक टार्न पनि समस्या भएको रामबहादुर चदाराले बताउनुभयो ।

रामबहादुरका बुढाबुढी, दुई छोरा, एक छोरी, एक नाति, दुई नातिनी गरी आठजनाको परिवार यही ‘अन्साल्लो’मा निर्भर थियो । बझाङ जिल्लाका धेरै जस्तो ठाउँका स्थानीयबासिन्दालाई दूध, मही, ध्यू, दही राख्नका लागि ठेकी, पारा, तुरी, मनानी, ठेकोलगायतका सामाग्री बनाइदिएवापत आउने नगद र खाद्यान्नबाट उहाँले परिवारको गुजारा चलाउँदै आउनुभएको थियो ।

त्यही खाद्यान्न र नगदको सहायताले घर परिवारलाई एक छाक खान र एकसरो लगाउन जेनतेन पुगेकै थियो । तर जब पहिरोले अन्सालो बगायो, उहाँको परिवार पाल्ने अठोट पनि चकनाचुर भयो । अन्साल्लो पहिरोले बगाएपछि चदाराको परिवारको बिचल्ली भएको छ ।

पहिराेले बगाएकाे चदाराकाे अन्साल्लाे

‘२० हजार रुपैयाँ छिमेकीबाट सहयोग मागेर अन्साल्लोमा लाग्ने औजारहरु खरीद गरेको थिए । त्यो सबै ऋण तिर्न नपाउँदै पहिरोले बगाइदियो’, चदाराले भन्नुभयो, ‘छिमेकीसँग मागेको १३ हजार ऋण तिर्न बाँकी छ । अब २० हजार ऋण निकालेर फेरि ‘अन्साल्लो’ राख्न सक्ने मेरो अवस्था छैन । र, मलाई ऋण दिन कसैले पत्याउदैनन् पनि ।’

अहिले गाँउकै छिमेकीहरुबाट दैनिक केही मागेर भए पनि एक छाक जेनतेन टारेको चदाराले बताउनुभयो । ‘अब कत्ति देलान् र ! अब त भोक भोकै मर्नुपर्छ कि भन्ने चिन्ता लाग्न थालेको छ’, गहभरि आँसु पार्दै चदाराले भन्नुभयो, ‘सरकार गाउँ–गाउँ पुग्यो भन्छन्, खै हामीलाई त एक छाक खान पनि धौ–धौ छ । हामीलाई कसैले हेरेका पनि छैनन् । सरकार आयो होला, हुने खानेकै लागि आयो होला ।’

छोरा–छोरी पाल्न असहज हुँदा आफूलाई बाँच्न पनि मन नलाग्ने चदारा गुनासो गर्नुहुन्छ । ‘मैले तल्कोट गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय र तल्कोट गाउँपालिकामा समेत क्षतिपूर्ति पाउँ भन्दै निवेदन पनि दर्ता गराएँ’, चदाराले भन्नुभयो, ‘खै, त्यो निवेदन कुन टोकरीमा गयो । मलाई थाहा छैन । पटक–पटक वडा कार्यालय र गाउँपालिकासम्म धाएँ । क्षतिपूर्ति पाउने आशसहित तल्कोट गाउँपालिकामा पुग्थे तर निराश भएर घर फर्कनुपर्थो ।’

उहाँले अगाडि भन्नुभयो, ‘न गाउँपालिकाले सहयोग गर्यो । न वडा पालिकाले ! अहिले वडा पालिका र गाउँपालिकामा जान पनि छोडेँ । अब वल्लो–पल्लो गाउँमा गएर ऋण खोज्न पर्ला ! ऋण पाएँ भने ‘अन्साल्लो’ बनाएर फेरि छोरा छोरीको लालनपालन गर्नुछ । नभए छोरा–छोरी सहपरिवार लिएर भारत जानु पर्ला । अरु विकल्प छैन मेरो  ।’
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया