सजल : नेपाली संगीतका सेलिब्रिटीले सुन्ने स्वर

 असार २, २०७५ शनिवार ८:५:५३ | दिलिप कुमार ज्याेति
unn.prixa.net

तिमी के गयौ, सबै खल्लो भयो 
न अर्थ रह्यो न भाव छ बाँकी 
यौटा नकोरेको कविता छ अब पढ्नका लागि...

सजल न्यौपानेको संगीत र स्वरमा रहेको यो गीत अहिलेका पुस्तालाई मन नपर्न सक्छ । अथवा अहिलेको बजारमा सजिलै बिक्री गर्न सकिन्न । उनका गीत र गजलमा सुनिने बोल आलाप (शब्द भरिएको सरगम), तान (सरगमहरुको समूहलाई द्रूत लयमा गाउने प्रक्रिया), गमक, मिडलगायत संगीतका जटिल संयोजनलाई बुझ्न कठिन छ । संख्याका हिसावले थोरै नै सही, तर आधुनिक र मौलिक बाजाहरुको ‘फ्युजन’ र सेमिक्लासिकल मिश्रित गायनका कारण सजललाई सुन्न बाध्य पार्छ । जस्तै कि मनिष वशिष्ठका शब्दलाई उनैले संगीत गरेर स्वर भरेका गीत । 

त्यसैले गायक सनुप पौडेलले युट्यूबमा रहेको सजलको ‘तिमी के गयौ’ बोलको गीत फेसबुकमा शेयर गर्दै लेखे, ‘ह्याट्स अप’ । 


यो झरीको हरेक थोपाले आज मेरो मनलाई भिजाइरहेछ 
यो झरीको मिठो वासनाले मलाई त्यसै रुझाइरहेछ...

सजलका गीत अहिले बजारमा भएका चल्तीका गीत भन्दा फरक छन् । गुमनाम जस्तै पनि छन् उनका गीत । गीतका बान्की मिलेका भए पनि युट्यूबमा उनलाई हेर्ने दर्शक थोरै छन् । तैपनि उनलाई चित्त बुझाउने ठाउँ अरु पनि छन् । ‘संगीत मेरो लागि ध्यान हो, प्रार्थना हो । एउटा सन्त अथवा योगीले आत्मसाक्षात्कारको लागि जसरी ध्यान गर्छ । म संगीत मार्फत गर्छु ।’

सजल २७ वर्ष अगाडि काठमाडौंको बौद्ध महाङ्कालमा जन्मिए । शास्त्रीय संगीतको चहलपहल हुने किरातेश्वर संगीत आश्रम नजिकै पर्छ उनको घर । त्यहाँ हरेक पूर्णिमाको दिन शास्त्रीय संगीतको कार्यक्रम हुन्छ । आश्रमका आजीवन सदस्य समेत रहेका सजलका बुबा सागर न्यौपाने संगीत शिक्षक तथा संगीतकारसमेत हुन् । 

बालकैदेखि सजलको जीवन गीतसंगीतसँग जोडियो । संगीत गुरु होमनाथ उपाध्याय, अतुल गौतमलगायतको सानिध्यमा रहने अवसर पाए । अथवा शास्त्रीय संगीतका जटिल सुत्रहरुको आरोह अवरोहमा खेल्दै सुर, ताल र लयमा संस्कारित भए । कुन्ती मोक्तान विद्यालयका संगीत शिक्षिका थिइन् । शारदा क्षेत्रीसँग औपचारिक रुपमा शास्त्रीय संगीत सिके । 

संगीत साधकले साधनाको क्रममा गुरुकुल परम्परामा आफूलाई समर्पित गराउँदै वैदिक संगीतका ऋचाहरुले मानसिक र आत्मिक शुद्धि गर्नु र गराउनु नै प्रार्थना हो, ध्यान हो र पूजा हो । आधुनिक वैचारिक धारले वैदिक संगीतलाई जातियता र जुनसुकै वादमा ढाले पनि यो हाम्रो संगीतको मूल हो । यो छ र त हाम्रो मौलिकता जीवित छ । हुन त संगीतको कुनै भाषा, भेष र जाति हुँदैन । भौगोलिक परिवेश र भाषाले एउटा परिधि कोरे पनि संगीतले सात सुरकै भाषा बोल्छ । 

पुरातनलाई अंगाल्दै अहिलेको आत्याधुनिक ‘फ्युजन’ संगीतसम्म आइपुगेका सजल, संगीतलाई भाव प्रसारक कला मान्दछन् । उनी भन्छन्, ‘संगीत फिलिङ्सको कुरा हो । म्युजिक ह्याज नो ल्याङ्वेज । संगीत आफैंमा शब्द हो, इन्स्ट्रुमेन्टल म्युजिक । जस्तै, मैले कुनै नेपाली गीत गाएँ भने पनि विदेशी फ्यानहरुले संगीत बुझ्नुहुन्छ । भाषा नबुझेरै कमेन्ट र गीत शेयर गरिरहेका हुन्छन् । शाब्दिक भन्दा भावप्रधान विषय हो संगीत ।’ सामाजिक सञ्जाल, युट्यूबलगायतका कारण संगीतले ‘ग्लोबल प्लेटफर्म’ पाएको र आफूले त्यसको सदुपयोग गरिरहेको बताउँछन् सजल ।             

पाकिस्तानी गजल गायक गुलाम अलीलाई एकपटक सोधिएको थियो, ‘तपाईँले देश विदेशका धेरै ठाउँमा आफ्नो प्रस्तुति सुनाइसक्नुभयो । तीमध्ये सबैभन्दा सन्तुष्ट भएको पल याद छ ? जवाफमा अलीले भनेका थिए । ‘‘जब मेरो मेहफिलमा रफी साहब (मोहम्मद रफी) जस्ता संगीतका फरिस्ता सामेल हुन्थे र मेरो गायकीबाट आफूले प्रेरणा र आत्मिक आनन्द पाउने बताउँदथे तब मेरो संगीतले सार्थकता पाउँथ्यो’’ ।

सजलका नयाँ गीत बजारमा आउने बित्तिकै संगीतका सेलिब्रिटीहरु सनुप पौडेल, सुगम पोख्रेललगायत नेपाली संगीतका अग्रज कलाकारले उनको गायकीको तारिफसहित सामाजिक सञ्जालका भित्ता रंग्याउनुले पनि उनी नेपाली संगीतका सेलिब्रिटीले मन पराउने गायक बनेका छन् । सजल भन्छन्, ‘नेपाली संगीत क्षेत्र पहिले भन्दा धेरै परिवर्तन भैसक्यो । युवा पुस्ताबीच संगीतका राम्रा कुराहरुलाई प्रोत्साहन र प्रेरणाको रुपमा लिने लहर चल्नु सकारात्मक पक्ष हो । सुगम दाइ र सनुप दाइ जस्ता अग्रज व्यक्तित्वले मेरो लागि शब्द खर्चिनु भनेको मेरो आउँदो संगीत यात्राको मार्ग प्रशस्त गर्नु हो’ 

भूपेन्द्र खड्काका शब्द र सत्य–स्वरुप आचार्यको संगीतमा गीति संग्रह ‘नमन’ को ‘एक वाक्य सुन’ बोलको गीतबाट व्यावसायिक गायन थालेका सजललाई यही गीतले विन्ध्यवासिनी अवार्ड दिलायो । साथै संगीत अनुरागीमाझ पनि चिनायो । युवा पुस्तामाझ लोकप्रिय ‘फ्युजन’ संगीतले नेपाली मौलिक लोक बाजाहरुको संरक्षण र प्रबद्र्घन हुने विचार राख्ने उनी  आफ्नो प्राय गीतमा नेपाली मौलिक बाजाहरुको ‘फ्युजन’ गर्छन ।

शास्त्रीय संगीतको उर्वर भूमिमा आफ्नो गायकीलाई तिखारेका सजल गजल गायनमा विशेष दखल राख्छन् । ‘तिमी छाती दुखी’, ‘किन खानु झुटो कसम’ ‘मेटियो दर्द सारा’ जस्ता जीवन्त गजलका गायक उनी, नेपाली गजल गायनमा  शास्त्रीय संगीतका विभिन्न हर्कत र भावको प्रयोग गरेर गजल गाउने क्षमता केही स्रष्टाबाहेक अरुमा नभएको र गजलमा प्रयोग हुने हर्कत र भावहरु ‘सेमिक्लासिकल’ गायन भन्दा पनि कमसल भएको ठान्छन् । ‘शास्त्रीय संगीतका विविध आयाम समेटेर भावयुक्त गजल गायनको लागि अझै केही समय लाग्छ । बरु हाम्रै मौलिक  संगीतमा गजललाई ढालेर गाउँदा आफ्नो पन झल्किन्थ्यो कि !   त्यस्तै कम्पोजिसनको प्रतिक्षामा छु ।’

शास्त्रीय संगीतमा पूर्ण रुपमा लाग्न नसके पनि ख्याल र ठुमरी गायनको सौन्दर्य बाट प्रभावित सजल, शास्त्रीय संगीतबाट जीवन निर्वाह गर्न अहिले पनि कठिन रहेको र नेपाली शास्त्रीय गायनमा धेरै कमजोरी रहेको स्वीकार्छन् । ‘शास्त्रीय संगीतमा वादनतर्फ प्रगति भए पनि गायनमा कमजोरी भेटिन्छ । भारतीय र पाकिस्तानी  पंडित, ओस्ताज र विदुशीका ध्रुपद, धमार, ख्याल र ठुमरी सुनेपछि हाम्रो गायन फिक्का लाग्नु स्वभाविक हो ।’ 

अहिलेको संगीत बजार कुनै पनि हालतमा आफूलाई टिकाउँ र बिकाउँ को अवस्थाबाट गुज्रिरहेको छ । तुलनात्मक रुपमा गुणात्मक भन्दा पनि संख्यात्मक गीतहरुको ओहिरो लागेको छ  । आफ्नै शब्द, संगीत र स्वर भर्ने परिपाटी चलचित्र क्षेत्रमा दिन प्रतिदिन बढ्दो छ । गीत संगीत सुन्ने भन्दा मनोरञ्जनको साधन बनेको छ । दिनमा पचासौं गीत आउँछन् । ४० गीतमा अटो ट्युनरको प्रयोग सुनिन्छ । बाँकी १० गीत शब्द, संगीत र गायनका दृष्टिले बजारमा प्रतिस्पर्धा गर्दा एक वा दुई गीत मात्र चल्छन् । एकातिर ‘अटो ट्युनर’ (सुर नलागेको ठाउँमा घटाएर वा बढाएर सुर मिलाउने सफ्टवेयर) बिल्लाधारीको जमात छ भने अर्कोतर्फ वर्षौदेखि संगीत साधनामा लागेकाकोे समूह रहेको छ ।  बजारको यो अवस्थाले सजल जस्ता संगीत साधकका गीत बजारमा  (पपुलर) लोकप्रिय नहुनु स्वभाविक हो । 

‘अटो ट्युनको युज म्युजिकल इलेमेन्ट’ हो । टोनल क्वालिटीको लागि बनेको कुरालाई हामीले सुर लाउन प्रयोग गर्यौँ । यो संगीत भित्रको कुलत हो  । आजकल हामी हरेक चिजमा पर्फेक्शन खोज्न थाल्यौँ । तर साधना र गायकीमा चाहिँ पर्फेक्शन नभए नि हुने । यसलाई टेक्नोलोजीको फाइदा भनु वा बेफाइदा । म चाहिँ अर्गानिक म्युजिकमै विश्वास गर्छु । पुराना स्रष्टाका गीत लाइभ रेकर्डिङ हुन्थ्यो । बीचमा कतै बिग्रन्थ्यो, तर त्यो नेचुरल हो नि । मान्छे हो मेसिन हैन, त्यो त हामी स्वीकार्थ्यौँ नि । यस्तो राम्रो गाएको ठाउँमा यो एउटा बिग्रनु जायज हो भन्थ्यौ  । तर अहिले चाहिँ हामीसँग अपर्च्युनिटी भयो । प्रत्येक शब्द छुट्टै रेकर्ड गर्न पाइ्न्छ । सुर जुनसुकै स्केलमा चढाउन सकिन्छ । यो एउटा ठूलो विकृति हो । ’

गोपाल योञ्जनलाई अदृश्य गुरु र प्रेरणाको  स्रोत मान्ने सजल स्वरसम्राट नारायण गोपाल, भजन शिरोमणि भक्तराज आचार्य र फत्तेमानलाई सुन्न मनपराउँछन् । गीतमा सकेसम्म अटो ट्युनरको प्रयोग नगर्ने उनी,  टेक्नोलोजीले दिएको अवसरलाई चाहिने ठाउँमा मात्र प्रयोग गर्नु संगीतकर्मीको धर्म सम्झन्छन् । संगीत अनुरागीलाई ‘अटो ट्युनर’को कुलतमा नफसाउन संगीतकर्मी र सञ्चारकर्मीलाई अनुरोध गर्छन् ।

अन्तिम अपडेट: असोज ३, २०७५

दिलिप कुमार ज्याेति

कला मनाेरञ्जनमा कलम चलाउने ज्याेतिलाई फेसबुकमा भेट्न सकिन्छ। 

 

तपाईको प्रतिक्रिया