बहराइनमा एक वर्षमा १० जना नेपालीले ज्यान गुमाए

 पुस १९, २०७५ बिहिबार १३:२६:२४ | उमाकान्त पाण्डे

युएई – गएको वर्ष बहराइनमा १० जना नेपाली कामदारले ज्यान गुमाएका छन् । अघिल्लो वर्ष सन् २०१७ मा ११ जना नेपाली कामदारको ज्यान गएको थियो । 

ज्यान गुमाउने मध्ये ९ जना ‘सडेन कार्डियक एरेस्ट’ अर्थात मस्तिष्क पक्षघातका कारण ज्यान गएको हो । यस्तो समस्या हुने कामदारको सुतेकै अवस्थामा ज्यान जाने गरेको छ ।

यो वर्ष मोरङका किशोर धिमाल, शम्भुबहादुर विश्वकर्मा, कास्कीका राजन गुरुङ, पाल्पाका छमबहादुर थापा, चितवनका हरी परियार र  ओखलढुङाका रामबहादुर कार्की रहेका छन् ।

यस्तै कपिलबस्तुका जीवन थारु, लमजुङका गजेन्द्रसिंह गुरुङ, खोटाङका घमान्दबहादुर राई र कन्चनपुरका सुरेन्द्र हिमालीले पनि बहराइनमा ज्यान गुमाएका छन् । 

सुतेकै अवस्थामा ज्यान जानेको संख्या घटाउन चेतनामूलक कार्यक्रम गर्ने छु : राजदूत

बहराइनको वातावरणका बारेमा पर्याप्त जानकारी नहुँदा कामदारको ज्यान जाने जोखिम धेरै हुने गरेको भन्दै नेपाली दूतावासले यसबारेमा चेतनामूलक कार्यक्रम गर्ने बताएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले दूतावासले त्यसको तयारी गरिरहेको बताउनुभयो । 

‘दूतावासले यहाँ कार्यरत नेपालीमाझ बहराइनको बातावरण, हावापानीका बिषयमा सजग गराउने र मृत्युदर घटाउनेगरी चेतनामुलक कार्यक्रम गर्छ,’ उहाँले भन्नुभयो, ‘सुतेकै अवस्थामा धेरै नेपालीको ज्यान जानु चिन्ताको विषय हो ।’

अघिल्लो वर्ष ज्यान गुमाएकाका परिवारले यो वर्ष क्षतिपूर्ति पाए

अघिल्लो वर्ष ज्यान गुमाएकाका परिवारले सन् २०१८ मा क्षतिपूर्ति पाएका छन् । १० अक्टोबर २०१५ मा ज्यान गुमाएका खोटाङका बालकृष्ण राईका परिवारले ५ हजार ७ सय ५७ दिनार अथवा झण्डै सवा १७ लाख रुपैयाँ राहत पाएका हुन् । 

यस्तै २४ अक्टोबर २०१७ मा ज्यान गुमाएका खोटाङका राम गोतामेको परिवारले पनि ५ हजार ६ सय ५५ दिनार अथवा झण्डै १७ लाख रुपैयाँ राहत पाएको हो । नेपाली दूतावास बहराइनको पहलमा प्राप्त भएको राहत परराष्ट्र मार्फत सम्बन्धित जिल्ला प्रशाशनले परिवारमा बुझाएको दूतावासले जनाएको छ ।

दुवैको कार्यस्थलमा दुर्घटना भइ ज्यान गएको थियो । बहराइनमा झण्डै २६ हजार नेपाली कार्यरत रहेको दूतावासका उपनियोग प्रमुख खगराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

   सन् १९७७ बाट कुटनैतीक सम्बन्ध स्थापना भएको बहराइनमा सन् २०१३ मा मात्रै नेपाली दूतावास स्थापना भएको हो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया