नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन लागि पर्नुस्: मन्त्री अधिकारी

 पुस २०, २०७५ शुक्रबार १५:३७:२२ | उज्यालो सहकर्मी

काठमाडाैं - ‘नेपाल भ्रमण वर्ष–२०२०’ मूल आयोजक समितिले नेपाल भ्रमण वर्षको कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान कार्यक्रम कार्यान्वयन उपसमितिलाई निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको नेपाल भ्रमण वर्ष–२०२० मूल आयोजक समितिको बैठकले नेपाल भ्रमण वर्ष–२०२० को कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान कार्यक्रम कार्यान्वयन उपसमितिलाई निर्देशन दिएको हो ।

सिंहदरबारमा बसेको समितिको दोस्रो बैठकले सो कार्यक्रम संचालन कार्यविधि तयारी पारी मन्त्रीपरिषद बैठकमा पेश गर्ने निर्णय पनि गरेको समितिका सदस्य सचिव एवम् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिनुभयो । बैठकले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन प्रदेशमा पनि पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बनाउने निर्णय पनि गरेको छ ।

प्रदेशका पर्यटनमन्त्रीको अध्यक्षतामा समिति निर्माण गर्ने निर्णय पनि गरिएको संंस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले जानकारी दिनु भयो ।

मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर अघि बढनुपर्नेमा पनि जोड दिनुभयो । सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन मन्त्री अधिकारीकै अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ ।

प्रदेश मुख्यमन्त्रीहरुसमेत रहेको समितिले नेपाल भ्रमण वर्षलाई सफल बनाउन मातहतका सबै निकायलाई गतिका साथ काम गर्न पनि आग्रह गरेको छ ।

मन्त्री अधिकारीले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउने काममा लागिपर्न निजी क्षेत्रलाई पनि आग्रह गर्नु भयो । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष–२०२० मनाउने घोषणा गरेको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया