धनगढी प्रिमियर लिग: अक्सन शनिबार हुँदै, काे काे कुन टिममा आबद्ध हाेलान् ?

 पुस २०, २०७५ शुक्रबार २०:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी प्रिमियर लिग डीपीएलको खेलाडी अक्सन शनिबार हुने भएकाे छ ।

यसपटकको अक्सन अघिल्लो संस्करणको भन्दा फरक तरिकाले हुन लागेको बताइएकाे छ । अघिल्ला संस्करणमा खेलाडीलाई आयोजकले वर्गिकरण गरेर चार श्रेणीमा राखेर अक्सनमा बोलि लगाइथ्यो भने यसपटक खेलाडी दर्ता गर्दा नै उनीहरुले आफू कुन श्रेणीको खेलाडी भनेर छुट्याएर फर्म भरेका छन् ।

जसका कारण यसपटकको अक्सन खुल्ला रुपमा गरिने भएको छ । जसमा हरेक टिमले आफूलाई चाहिएको खेलाडीमा बोली लगाउनेछन् ।

यसपटकको अक्सनमा खेलाडीको बेस प्राइस ३० हजारदेखि दुई लाख ५० हजारसम्म तोकिएको छ । अन्नपूर्ण होटेलमा बिहान ११ बजेबाट हुने अक्सन अगाडि हरेक टिमको मार्की खेलाडीको पनि फाइनल हुनेछ ।

यसपटकको डीपीएलमा अघिल्लो संस्करणमा रहेका मार्की खेलाडी पनि परिवर्तन हुने भएका छन् । प्रतियोगितामा सहभागी ६ टिममा ५ टिमको मार्की खेलाडी फाइनल जस्तै भइसकेको छ भने रुपन्देहीको बाँकी रहेको छ ।

अघिल्लो संस्करणका रुपन्देहीका कप्तान शक्ति गौचनले क्रिकेटबाट सन्यास लिइसकेको अवस्थामा उनको स्थानमा नयाँ मार्की खेलाडी छनोट गरिनेछ ।

अघिल्लो संस्करणमा स्ट्राटेजिक खेलाडीः

विराटनगरको किंग्स - पारस खड्का
सीवाइसी अत्तरीया - दिपेन्द्रसिंह ऐरी
काठमाडौं गोल्डेन्स - ज्ञानेन्द्र मल्ल
महेन्द्रनगर युनाईटेड - विनोद भण्डारी
रुपन्देही च्यालेञ्जर्स - शक्ति गौचन
टिम चौराहा धनगढी - सोमपाल कामी

यसपटकको डीपीएलको अक्सनमा दुई सयभन्दा बढी खेलाडी समावेश छन् । नेपाल र यूएईबीचको अन्तरराष्ट्रिय एक दिवसीय र टी–२० सिरिजका कारण यो प्रतियोगिता एक साता पछाडि सरेको थियो । जसका कारण अक्सन पनि एक साता पछि धकेलिएको हो ।

प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान रहेको छ । यसपटकको विजेताले पाउने पुरस्कार रकमको घोषणा हुन बाँकी रहेको छ । यसअघि डीपीएलको विजेताले २५ लाख रुपैयाँ पाएको थियो ।

तेस्रो संस्करणसम्म आइपुग्दा टिम चौराहा धनगढीले दुई पटक उपाधि जितेको छ । पहिलो संस्करणको उपाधि पारस खड्काको कप्तानीमा जितेको थियो भने दोस्रो संस्करणको सोमपाल कामीको कप्तानीमा उचालेको थियो ।

तर यसपटकको डीपीएलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काले नखेल्ने बताइसकेका छन् । पारिवारिक कारणले उनले प्रतियोगिता नखेल्ने जनाएका हुन । यसअघि माघ १९ गतेबाट फागुन ४ का लागि तोकिएको मिति अब माघ २६ गतेबाट हुनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया