सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग गर्दै कर्मचारी आन्दोलनमा

 माघ २, २०७५ बुधबार १२:१८:५५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सचिवमाथि कुटपिट गर्ने मन्त्रीलाई कारबाही गर्न माग गर्दै निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियन बुधबारदेखि आन्दोलनमा उत्रिएको छ । 

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।

कुटपिट गर्ने मन्त्री यादवमाथि कारबाहीको माग गर्दै सोमबार मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले आन्दोलनमा उत्रिने २४ घण्टे अल्टिमेटम दिएका थिए । 

बुधबार बिहान कर्मचारीहरु मन्त्रालय अगाडि जम्मा भएर माघ ४ गतेसम्मको लागि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । जसअन्तर्गत बुधबार बिहान १० बजेदेखि ११ गतेसम्म पेन डाउन गरी दिनभर हातमा कालोपट्टी बाँधेर काम गर्ने, बिहीबार हातमा कालोपट्टी बाँधी बिहान १० बजेदेखि १२ बजेसम्म पेन डाउन गर्ने र शुक्रबार हातमा कालोपट्टी बाँधेर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने आन्दोलनको कार्यक्रम रहेको ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले बताउनुभयो । 

बिहीबारसम्म सत्यतथ्य छानबिन गरी दोषी मन्त्रीमाथि नियमानुसार कारबाही नभए थप दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने उहाँले चेतावनी दिनुभयो ।

भनेको एनजीओलाई कार्यक्रम नपार्दा गएको आइतबार मन्त्री यादवले सचिव झालाई आफ्नो कार्यकक्षमा बोलाएर कुटपिट गर्नुभएको थियो । प्रतिवादमा सचिवसमेत गालीगलौजमा उत्रिनुभएको थियो । 

घटनाको छानबिन गर्न आइतबार साँझ नै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्य छानबिन टोली गठन भएको थियो । टोलीले घटनाको छानबिन गरी सात दिनभित्र मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन पेस गर्नुपर्ने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया