मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर १० जना घाइते

 माघ १२, २०७५ शनिबार १५:१५:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर १० जना घाइते भएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका-९, भदौरेमा शनिबार बिहान चट्याङ लागेर ५ जना घाइते भएका छन् । चट्याङ लागेर एक बालकसहित ५ जना घाइते भएका हुन् । घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, ३० वर्षीया सुनिता प्रजा र ४० वर्षीय कृष्णबहादुर प्रजा रहेका छन् ।

घाइतेमध्ये कृष्णबहादुर प्रजाको हेटौँडा अस्पतालमा र अरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङका कारण शुक्रबार साँझ ५ जना घाइते भएका छन् । शुक्रबार साँझ परेको चट्याङका कारण राक्सिराङ गाउँपालिका-१, भूमिथुमका ५ जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय सन्तली थिङ, बीरबहादुर बल, बसन्त बल, ठूलीमाया र १ बर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयाे ।

१५ जनालाई चट्याङ लागेपनि अरुको अवस्था सामान्य रहेको छ । त्यसैगरी चट्याङबाट ३ घरमा क्षति पुगेको छ भने ५ पशुचौपाया मरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया