अनावश्यक क्षेत्रमा बजेट खर्च नगर्नुस् : मुख्यमन्त्री गुरुङ

 माघ १३, २०७५ आइतबार १९:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्षभित्र गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाइने बताउनुभएको छ ।

धौलागिरी गाउँपालिका म्याग्दीको आइतबार मुनामा आयोजित पाँचौं गाउँसभाको उद्घाटन गर्दै उहाँले स्रोतसाधनको उपयोग गरेर प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको हो । 

उहाँले गण्डकी प्रदेशभित्र रहेको जलस्रोत, पर्यटन, जडिबुटी र खनिजको उत्खनन् गरी प्रदेशको विकास निर्माणमा परिचालन गरिने बताउनुभयो । कृषि, पर्यटन र जलविद्युतलाई मुख्य आधार बनाएर रोजगारी सिर्जना गर्ने बताउँदै उहाँले रोजगारमा आधारित अनुदानलाई प्राथमिकता दिएकाले सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

जनसभागितामूलक गतिविधिलाई प्राथमिकता दिइने बताउँदै उहाँले सबै स्थानीय तहका समस्यालाई प्राथमिकतामा राखिएकाले बजेटको सदुपयोग गरेर ती समस्याहरुको समाधान गरिने बताउनुभयाे ।  

मुख्यमन्त्री गुरुङले सरकारले उपलब्ध गराएको अनुदानलाई सदुपयोग गरी बेरोजगारी समस्याको अन्त्य गर्दै जनताको जीवनस्तर उकास्ने योजनामा सहभागी हुन जनप्रतिनिधिलाई सुझाव दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत सेवा आम नागरिकको पहुँचमा पुग्ने बताउँदै ग्रामीण क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने उहाँले प्रस्ताव गर्नुभयो । बजेट कार्यान्वयनलाई विशेष ध्यान दिनुपर्ने बताउँदै अनावश्यक क्षेत्रमा बजेट खर्च नगर्न समेत मुख्यमन्त्री गुरुङले सुझाव दिनुभएको छ ।

त्यसै अवसरमा गण्डकी प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले प्रदेशको विकासका लागि प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरिने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश देशकै पर्यटनको राजधानी बन्न सक्ने पर्याप्त सम्भावना रहेकोमा जोड दिँदै गाउँगाउँमा होमस्टे सञ्चालन, पर्यटकीय क्षेत्र पहिचान गरी प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरिने बताउनुभएको थियो । 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया