टी २० शृङ्खला : नेपाललाई यूएईले दियो १५४ रनको टार्गेट

 माघ १७, २०७५ बिहिबार १६:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टिमबाट १५४ रनको विजयी लक्ष्य पाएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो । 

यूएईका लागि शैमान अनवरले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै मुहम्मद उस्मानले ३० रन जोडे । यूएईले ३ रन बनाएको अवस्थामा सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । अश्फाक अहमद २ रन बनाएर बसन्त रेग्मीको बलमा क्याचआउट भए ।

त्यसपछि पाँचौं ओभरमा सोमपाल कामीले गुलाम शाब्बरलाई सन्दीप जोराबाट क्याचआउट गराएका थिए । तेस्रो विकेटका रुपमा यूएईका सीपी रिजवान आउट भए । उनले बसन्त रेग्मीको बलमा प्रदीप ऐरीबाट क्याचआउट हुनपूर्व २२ रन बनाएका थिए । 

त्यसपछिको पार्टनरसिप भने बलियो बन्यो । मुहम्मद उश्मान र शैमान अनवरले ६१ रनको बलियो साझेदारी गर्दै यूएईलाई एक सय रनको आँकडा पार गराए ।

सन्दीप लामिछानेले उश्मानलाई पारस खड्काबाट क्याचआउट गराएपछि त्यो पार्टनरसिप तोडिएको थियो । त्यसपछि शैमान पनि अविनाश बोहराको बलमा बोल्ड भए । यूएईका लागि मोहम्मद बुताले अविजित २० रन बनाउँदा कप्तान मोहम्मद नाभिद बसन्त रेग्मीको बलमा स्टम्प भए । 

बलिङतर्फ सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई विकेट लिए भने सोमपाल कामी र अविनाष बोहराले एक–एक विकेट लिए ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया