मन्त्रिपरिषद बैठक : खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मिलाएर छुट्टै आपूर्ति कम्पनी बनाउने

 माघ १७, २०७५ बिहिबार १९:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई मिलाएर आपूर्तिसम्बन्धी काम गर्ने कम्पनी स्थापना गर्ने निर्णय गरेको छ । 

त्यसका लागि उपयुक्त नामसहित छुट्टै कम्पनीमा रूपान्तरण गर्ने आवश्यक प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गरेको जानकारी दिनुभयो । 

यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । 

यस्तै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ संशोधन गर्ने निर्णय गर्नुका साथै विगतका जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका २ हजार ८ सय ७ जना राष्ट्र सेवकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै आएको आफ्ना दुई पूर्व सभापतिहरुको नाममा रहेको स्वास्थ्य संस्थालाई केन्द्र मातहतमै राख्ने निर्णय सरकारले गरेको छ । 
जि.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र दुलेगौंडा, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्ज, बाँके लाई केन्द्र मातहतमा नै राख्ने निर्णय भएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । 

यस्तै पर्सा जिल्लाको ठोरी गाउँपालिकाको केन्द्र र डोटीको बोगटान गाँउपालिकाको नाम परिर्वतन गर्ने गाउँपालिकाले गरेको निर्णय स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेकाे छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया