पोर्चुगललाई हराएर इतिहास दोहोर्‍याउने दाउमा मोरक्को

 असार ६, २०७५ बुधबार १५:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सुरुवाति खेलमा पूर्व च्याम्पियन स्पेनलाई सनसनीपूर्वक ३–३ को बराबरीमा रोकेको पोर्चुगलले समूहको दोस्रो चरणमा आज मोरक्कोबिरुद्ध मस्कोको लुज्निकी रंगशालामा खेल्दैछ । प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन युरो च्याम्पियन पोर्चुगलले मोरक्कोलाई हराउनुपर्नेछ ।
 
पोर्चुगलका स्ट्राइकर आन्द्रे शिल्भाले भनेका छन् कि उनी ‘संसारकै उत्कृष्ट खेलाडी’ रियल मड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डोसँगै सुरुवाति ११ मा खेल्न लालायित छन् ।
 
पोर्चुगिज प्रशिक्षक फर्नाण्डो सान्तोषले स्पेनविरुद्धको सनसनीपूर्ण ३–३ गोलको बराबरी भएको खेलमा रोनाल्डोसँगै गोन्कालो गुडेसलाई अग्रपंक्तिको जिम्मेबारी दिएका थिए । जहाँ युरने च्याम्पियन कप्तान रोनाल्डोले ८८औं मिनेटमा उत्कृष्ट फ्रिकिक गोल गरेपछि प्रतियोगिताको उपाधि दावेदार स्पेन बराबरीमा रोकिएको थियो ।
 
३३ वर्षीय रोनाल्डो विश्वकपमा ह्याट्रिक प्रहार गर्ने पाका खेलाडी बनेका छन् भने विश्वकपमा ह्याट्रिक गर्ने इतिहासकै चौथा खेलाडी पनि बनेका छन् ।
 
र, प्रशिक्षक सान्तोषले आज हुने मोरक्कोविरुद्धको खेलमा आन्द्रे शिल्भालाई सायद सुरुवातमै मौका दिनेछन् । यसो भएमा एसी मिलानका यी स्ट्राइकरले महान फुटबलर मध्येको एकसँगै खेल्ने अधिकार पाउनेछन् ।
 
‘म के भन्छु भने, अर्को खेलमा उनीसँग खेल्न पाउनु मेरो सपना हो ।’ शिल्भाले पत्रकारहरुसँग भने, ‘म भन्न सक्छु कि उनी (रोनाल्डो) परिस्थितिलाई सहज बनाउँछन्, उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’
 
‘हामीले एकअर्कालाई राम्रोसँग बुझेका छौँ, उनीसँग खेल्दा जहिले पनि विशेष हुन्छ । जब टिमलाई मेरो जरुरत हुन्छ, म जतिबेला पनि हाजिर छु । म अनमार्क रहेको हुन्छु, आक्रमणका बेला हामी एक अर्काका लागि स्पेस बनाउँछौं, मलाई आशा छ कि हामी सही दिशामा फर्कनेछौं, जितको सुवात गर्नेछौं ।’
 
मोरक्कोविरुद्धको खेलमा सुरुवाति ११ मा पर्ने सम्भावनाबारे पत्रकारको प्रश्नमा शिल्भाले भने, ‘मलाई थाहा छैन, यो काम प्रशिक्षकको हो, उनी भन्न सक्छन् कि कसले खेल्नेछन् ।’
 
‘अहिलेसम्म मैले आफ्नो शतप्रतिशत दिएको छु, जो कोही पनि प्लेइङ सेटमा पर्न चाहन्छन् । तर, हामी सबै प्रशिक्षकको रोजाइमा सहमत हुन्छौं ।’
 
आत्मघाती गोलका कारण इरानसँगको सुरुवाति खेल १–० ले हारेको मोरक्कोका लागि पोर्चुगलविरुद्धको खेलमा इंग्लिस क्लब वाटफोर्डका विंगर नोर्दिन अम्राबात चोटका कारण उपलब्ध हुने छैनन् । यद्यपि एट्याकिङ मिडफिल्डर फयकल फज भने अन्तिम मिनेटमा आत्माघाती गोलका कारण सेन्ट पिटर्सबर्गमा व्यहोरेको हारका बाबजुद सकारात्मक देखिन्छन् ।
 
उनले भने, ‘हामी पोर्चुगलको सामना गर्न तयार छौं । अहिलेसम्म हामी मरिसकेका छैनौं, हामी सबै आफ्नो समथृक र मोरक्कोका जनताका लागि गर्व गर्ने खालको सफलतामा विश्वास गछौं । हामी हाम्रा समर्थकलाई खुसी पार्न चाहन्छौँ, हामीले एउटा लडाईं हारेका छौं, युद्ध हारेका छैनौं ।’

पोर्चुगल भर्सेस मोरक्को म्याच फ्याक्ट्स

– मोरक्को र पोर्चुगल यसअघि एक पटकमात्र भेट भएकोमा मोरक्कोले पोर्चुगललाई ३–१ ले हराएको छ । सन् १९८६ को विश्वकपमा मोरक्कोले पोर्चुगललाई हराएर विश्वकपमा पहिलो जित दर्ता गराएको थियो ।
 
– यो विश्वकपमा अफ्रिकी मुलुकविरुद्ध पोर्चुगलको पहिलो पराजय होे, त्यसपछिका तीन खेलमा पोर्चुगलले अफ्रिकी टोलीलाई २ पटक हराएको छ भने १ पटक बराबरी खेलेको छ ।
 
– पोर्चुगलले सन् २००२ को जुनपछि विश्वकपमा युरोप बाहिरको टोलीसँग अहिलेसम्म पराजय व्यहोरेको छैन । २००२ को विश्वकपमा दक्षिण कोरियासँग पराजित भएयता युरोपबाहिरका मुलुकसँग उसले ५ जित र ३ बराबरी खेलेको छ ।
 
– पोर्चुगलले विश्वकपको समूहचरणमा खेलेका पछिल्ला १० खेलमा एउटा मात्र हारेको छ । सन् २०१४ मा जर्मनीसँग ४–० को पराजयबाहेक उसले ५ जित र ४ बराबरी खेलेको छ ।
 
– जारी प्रतियोगिताको सुरुवाति खेलमा इरानसँग १–० ले पराजित हुँदा मोरक्कोले ६८ प्रतिशत बल पोजिसन राखेको थियो । यो सन् २०१० को विश्वकपमा स्पेनपछिको धेरै हो । त्यतिबेला स्विट्जरल्याण्डसँग पराजित हुँदा स्पेनले ७३ प्रतिशत बल पोजिसन नियन्त्रणमा राखेको थियो ।
 
– स्पेनविरुद्धको खेलमा ह्याट्रिक पूरा गरेपछि क्रिष्टियानो रोनाल्डो विश्वकप इतिहासमा ह्याट्रिक गर्ने पाका खेलाडी बनेका छन् ।
 
– त्यही खेलको ८८औं मिनेटमा फ्रिकिक गोल गरेका रोनाल्डोले ठूला प्रतियोगितामा पहिलो पटक फ्रिकिकमार्फत गोल गरेका हुन् । यो उनको ४५औं प्रयास थियो ।
 
– रोनाल्डोले यसअघि सन् २००६, २०१० र २०१० को विश्वकपमा जम्मा ७० शट प्रहार गरी ३ गोल गरेका थिए भने यस विश्वकपको पहिलो खेलमा जम्मा ४ शट प्रहार गर्दा ३ गोल गरे ।

प्लेयर्स टू वाच

क्रिष्टियानो रोनाल्डो - पोर्चुगल
 
रियल मड्रिडका सुपरस्टार रोनाल्डोले स्पेनविरुद्धको खेलमा देखाइसकेका छन् कि उनलाई रोक्न कठिनमात्र होइन असम्भव नै छ । विश्वस्तरीय खेलाडीले भरिएको स्पेनबिरुद्ध उनले ह्याट्रिक गरे । ३३ वर्षीय रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने उनी पाका खेलाडी पनि हुन् ।
 

लगातार चार विश्वकपमा गोल गरेका रोनाल्डोमाथि पूरै पोर्चुगिज टोली निर्भर रहनेछ । यस्तोमा उनलाई मार्क गर्न सकेको खण्डमा मोरक्कोलाई पहिलो जित हासिल गर्न सहज हुनेछ ।
 
पहिलो खेलमै ह्याट्रिक गरेका उनी आजको खेलमा मोरक्कोलाई हराएर पोर्चुगललाई विश्वकपको नकआउट चरणमा पुर्याउन प्रयास गर्नेछन् । उनले पोर्चुगलका लागि १५१ खेलमा ८४ गोल गरेका छन् जहाँ ६ विश्वकप गोल पनि समावेश छ ।
 
अजिज बोउहाडोज - मोरक्को
 
केवल १३ दुर्भाग्यपूर्ण मिनेट मैदानमा बिताएका अजिज इरानविरुद्धको खेलमा एकाएक खलनायकको रुपमा चित्रित गरिए । ६८ प्रतिशत बल पोजिसन लिएर पनि खेलको अन्तिम मिनेटमा उनको आत्मघाती हेडिङ गोलका कारण मोरक्को पराजित हुनुपरेको थियो ।
 

इरानविरुद्ध सब्स्टिच्यूट हुँदै ७७औं मिनेटमा मैदान छिरेका उनलाई आजको खेलमा सुरुवाति ११ मै मौका दिनुपर्छ र आफ्नो कमजोरी सुधार गर्ने मौका दिनुपर्छ ।
 
जर्मन क्लब सेन्ट पाउलीका ३१ वर्षीय यी स्ट्राइकरले सन् २०१६ मा मोरक्को राष्ट्रिय टोलीबाट डेब्यू गरी १२ खेलमा ३ गोल गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया