फेसन

 माघ १९, २०७५ शनिबार १३:३३:११ | रमेश भट्टराई ‘सहृदयी’
unn.prixa.net

काठमाण्डाै – हेर्नास्, सोझो औँलाले घिउ आउँदैन । बाङ्गो पार्दा पनि जाडो मौसममा त जमेको जम्यै गर्छ । विषय घुमाउरो र सज्जनको विरोधाभास हो । खै, केमा हो भन्दा पश्चिमा प्रवृत्ति नै भनौँ । मिसाइल परीक्षण कुनै हाम्रा पुर्खाका आकर्षणका केन्द्र होइनन् । महाराजगञ्ज चोकमा पुग्दा एउटा दृश्यमा ड्राइभरले अकस्मात् एक्लै बोले– ‘बरु केही नलगाइ हिँडे भइहाल्थ्यो नि, कस्तो हो फेसन पनि ।’ प्रायः मान्छे आ–आफ्नै भित्री भावनामा ती अर्धनङ्गा युवतीको दर्शन गर्दै रहेछन् ।

कम्मर माथिसम्म त ठीकै नै हो तर कम्मर मुनिका गुप्ताङ्गसम्ममा कपडाले मरितरि छोएकै भनौँ । कसैले ठट्टिन भ्याए, ‘बिचरी गरिब रहिछन्, कपडा नै रहेनछ ।’ नारीहरू छ्या के जमाना भन्दै खित्किएको परबाटै देखिन्थ्यो । सायद, ती प्रमुख पात्रमा पनि लाजै नभएको कहाँ हो र । सकेसम्म समाजसँग जित्ने महान् सङ्घर्षमा आफ्नो छोटो कपडा तानेजस्तो पनि गर्थिन् । कतिपय आवरा केटाले जिस्क्याउँदा कति ओठे जवाफ फर्काएकी हुँदी हुन् पनि, लाग्यो । 

बोलीमा ड्याड, मम रे । वाक्य गठनमा रीता र सीतालाई पनि – ‘ओइ लास्टै बोर भो नि ।.

एउटा छतमा एक धरो लाएर पेटको घुरघुरमा शान्ति दिने मान्छेको दौडाहामा जीवन र मृत्युको फेसन चलिरहन्छ । फेसनको बजारमा अरबौँ, खरबौँ मान्छे आफ्नै फेसनका लागि बाँचे । ठाउँ अनुसारका भेष र परिवेशमा कुनै क्लेश नहुँदा मान्छे सबै नाङ्गा हुन्छन् । मान्छेलाई समयसँग चल्नुपर्छ भनिन्छ तब फाटेका, च्यात्तिएका, उधे्रका, बिब्ल्याँटा पहिरन वाह ! वाह !! बन्छ । हो हजुर, घुँडा र पछाडितिर प्वाल पर्दा टालेर लाउने मान्छे आजभोलि सपिङ सेन्टरमा गएर थोत्रो पत्रु लुगालाई एक मुठो पैसा हालेर किन्छ । समय त हिजोकै जस्तो छ । जस्ताको त्यस्तै छ । घाम–पानी, जाडो गर्मी उही र उसैगरी हुन्छ । जलवायु परिवर्तनको चपेटा मान्छेले बनाएको सङ्कटको भूमरी हो । हतियारमा साँध लगाएर उन्माद मच्चाउनेले आफूसहित प्राणीको अस्तित्व नामेट पार्ने आविष्कारमा गर्व गर्छ । मानवतालाई चटनी बनाएर प्रकृतिमा सामूहिक बलात्कार गर्छ अनि पुरस्कार र सम्मान पाउँछ । विनासको ज्वाला दन्काएर आफ्नो प्रवृत्ति भुल्छ । मानवता तुहिरहन्छ ।

अर्काले चाप्पचुप्प चुम्बन गरेको देखेर ओठ निचोर्दा दूध निस्कनेहरू हिरोहिरोइनको पैसा कमाउने चर्को बजारको सक्कली व्यवहारिकतामा मक्ख छन् । जिन्दगीको ‘ज’ थाहा नहुनेले लभ गर्छन् अनि बेलैमा माया स्वाहा । पहिला गफमा आकाशका तारा झार्ने अलिपछि तिनकै बङ्गारा झार्ने । पहिला चाटाचाटको माया– पछि काटाकाटको डिभोर्स । यसो बच्चा जन्माउने फ्याक्ट्री पनि चलिहाल्छ । अनि कलिलो बच्चा, न बाबातिर न आमातिर । बाबाले अर्कैसँग लभ गर्छन् । आमा सोह्र वर्षे बनेर अर्कै केटासँग लहसिन्छिन् । बच्चा यस धर्तीमा ‘जीवित अभिभावकको टुहुरो’ बन्छ । अनि फस्छ कुलतमा । लभ फेसन, डिभोर्स फेसन, टेन्सन फेसन अनि न रहन्छ बाँस न बज्छ बाँसुरी ।

अङ्ग्रेजी स्कुलमा हाल्ने फेसनमा समाजले बाबाआमालाई बाध्यकारी फेसनको जालमा फसाउँछ ।

फेसबुकमा हाइहाइ हुइहुइ गरेर पार्कमा भेट्ने, कुनाकानी गर्ने, जङ्गल प्रदूषित हुन्छ– चिजबल, कुरकुरेको खोलले । गल्डफ्रेन्ड र ब्वाइफेन्डको चक्करमा सात, आठ कक्षामै पढाइ स्वाहा । त्यो अज्ञानताको आकर्षणमा न पढाइ न दिगो प्रेम । पछि विवाह अर्कैसँग हुँदा चरित्रमा दाग भेटिन्छ अनि त्यहाँ मनोविज्ञानको नैतिक दबाबमा त्यो घरबार पनि बेखुसी र अधुरो हुन्छ । हजुर फेसनको कमालमा आमाबाबाले नानीबाबु भनेकैहरू नानीबाबु उत्पादनको फ्याक्ट्री सञ्चालनका मेनेजर बन्न कोल्टिन्छन् । प्रत्येक पाठका पानाका अक्षरमा सुन्दर मुस्कानका धमिला चित्र झल्किरहन्छन् । प्रत्येक अक्षरमा सायद तिनकै चित्र । बिदा र फुर्सदमा सकेसम्म, पाएसम्म घरमा बास हुन्न । हुन त असल घरपरिवारको संस्कारले यस्तो खाले अत्याधुनिक प्रविधिको फेसनमा निरुत्साहित गर्ला नै । यसो नहुँदासम्ममा– त्यहाँ जन्मिन्छ, भद्रगोल अनैतिकताको फेसनेबल जग ।

कलेज लाइफ... भो हजुर, कुरा गर्नुभन्दा बिहानै क्याफेतिर निस्केर नियाल्नुस् । हजुरबाले मिनिस्कट लगाएकी कलेज युनिफर्मकी नातिनीमा आँखा गाड्छन् । बलात्कारी, दुराचारी, अत्याचारी, भ्रष्ट्राचारी, कर्मचारी, व्यापारी, भिखारी, सिकारी, खलासी, ड्राइभर, प्रहरी सबैको आँखामा राम नाम सत्ते हुन्छ । जिन्दगी के छ, एउटा मोटरबाइकमा एउटी नवयुवती यसो बसेमा ब्रेक लाग्दैलाग्दैन । लागेमा मान्छेकै ठेगान हुँदैन । नवयुवती मान्छेसँग होइनबाइकसँग लभ गर्छिन् हजुर । अनि फेसनै त हो, मुखभरि एक माना पिठो घस्छिन् । कुकुरले आची नखाँदै चुइगम पट्काउने ठिटाठिटीको पुराणमा आधुनिकता छ । बोलीमा ड्याड, मम रे । वाक्य गठनमा रीता र सीतालाई पनि – ‘ओइ लास्टै बोर भो नि ।..... अनि तैँले कति पढिस् ।’ केटाकेटीमा एउटै लिङ्गको क्रियापद प्रयोग हुन्छ । अङ्ग्रेजी बोक्रे रवाफमा फेसनको मूल्य र मान्छेको व्यक्तित्व झल्किन्छ । भुटेको मकै पाखेका लागि मात्र हो, पिजा र बर्गरमा पल्किन्छ । चिकेन चिल्लीको स्वादमा सानो चियाघर होइन गल्डफ्रेन्डले महङ्गो क्याफेको टिफिनमा दिलचस्पी राख्छे । वर्षदिनको बाबुको पसिना र आमाको पौरख छोराले एक छाकमा सकिसक्छ अनि– ‘कन्भिन्स भइन यार’ । गफको ढाँचा र पारा नै बेग्लै ।

तपाईँ अचम्म नमान्नोस् । गाउँको पाखामा आँखा–आँखा जुधेर हुने प्रेम र यहाँको दुई दिने भड्किलो प्रेमको परिणाममा कयौँ गुणा पृथकता भेटिन्छ । रहस्यभित्रको माया पिरतीको मीठासताको रस थाहै नपाएर मर्ने जङ्गली मायामा फेसनको घुलन छ । पश्चिमाको अन्धो आकर्षणमा न जीवनको मजा न त दिगो भावुकता । आक्रोसको त कुरै नगरौँ । रिस र झन्के स्वभावको मान्छेले नाटक हेरेर नाटक मच्चाउँछ । रिस उठ्यो भने मोबाइल पछार्छ, छेउका सामान फुटाउँछ, चिच्याउँछ अनि रिसाउने संस्कारमा– वाउ ! कत्रो फेसन !! प्रेममा फेसन, खानपानमा फेसन । आहा ! मान्छेले चन्द्रमा पुगेको नक्कल गरेर फेसन देखाए ?!

अन्तरिक्ष, यन्त्रमानवको आविष्कार– अहँ, होइन । घरमा आमाले घिउमा परपर भुटेको भातलाई लात हानेर होटलको फ्राइ राइस खाए महान् हुने रे । आफ्नो भाषा बोल्दा लाज मान्ने अर्काको नक्कल र बडप्पनको ढोङमा रवाफ । अझ विदेश जाने पनि फेसन । स्वदेशको आवरापनामा पनि फेसन ।

जसका घरका सदस्य विदेश भासिएका छन्– अमेरिका, बेलायत, अस्ट्रेलिया जानेहरूका बाआमाको यहाँ भुइँमा खुट्टा हुँदैन । बिरामी हुँदा पानी तताएर दिने मान्छे भाडामा खोज्नुपर्छ, सानो फुरफुर हुँदैन । राष्ट्रियता र स्वाभिमान जति बेचेर खाइसक्दा पनि पैसाको आडम्बर जाँदैन । थाहा छ, गरिब त रित्तै जान्छ नै धनीले समेत एउटा सुनको कौडी जाँदाखेरी लाँदैन । अँगालोमा बेरिएका रवाफिला केटाकेटीमा भर्जिनिटि कहाँ रहिरहन्छ र । माया जति अविवाहितमै सकिन्छ । प्रेम के हो, त्यो व्यावहारिकतामा झल्किन्छ । प्रेमी त्यो होइन जसले सजिलामा साथ दिन्छन् प्रेमी त त्यो हो जसले अप्ठ्यारो हुनै दिँदैन ।

कार्टुनमा आँखा गाढेर हेर्नेदेखि हजुरबाको जत्रो ढ्याब्रे चस्मा आँखामा लगाएका बच्चाबच्चीले बिस्तारै सिरियलको भूत त चढ्नै पर्‍यो । नबनेर पनि के गरुन् । अङ्ग्रेजी स्कुलमा हाल्ने फेसनमा समाजले बाबाआमालाई बाध्यकारी फेसनको जालमा फसाउँछ । छोराछोरीले राम्रो नम्बर ल्याउलान् तर आफ्नै मोजासम्म धुँदैनन् । ग्याँस बालेर पानी तताउन आउँदैन । आँखा खोलेर हेर्नोस्, हजुर फेसनको बेसनमा भेटिने स्वादले तपाईँ छिट्टै मेरो सोचको विपरीत बन्नुहुनेछ । आजको युग हो नि युगजस्तै बन्नुपर्दैन, तपाईँको मतमा म कहाँ अमिल्दो हुँ र । प्रेम त गर्नुहोस्, तर आँखा खोलेर गर्नुहोस्, बुझेर गर्नुहोस् । यो संसार प्रेमकै जालोमा उनिएको छ । तब प्रेम मायाजाल पनि त हो ।

मलाई तपाईँ अब शुभचिन्तक सम्झन थाल्नुहुन्छ । हो, घुँडा फाटेको पाइन्ट, छड्के क्याप, लत्रङ्ग भेस्ट, बाहिर एउटा टाँक नलगाएको सट, कानमा ठोसो अनि हातमा मालाको बेराई छ, त्यसमा घाँटीमा एउटा लामो त्यस्तै केही झुण्डिएको होओस् । त्यसपछि कपालको प्रकार तपाईँ आफै बुझ्नुहोस्– फेसन । ठिटीको तिघ्रा देखाउने चाला, छोटो लाएर तान्दै गर्ने, आँखी भौँको मिलान छ । कपाल परिपरिको कटाई । छेडिएको ओठ वा आँखी भौँ पनि । होइन, तान्ने नै भए त छोटो किन लाउनु लामो लाए तानिरहने झन्झटै पर्दैन ।

एकदिन पोखराको लेखनाथ चोकमा पुगेको थिएँ । बाहिर पानी मुसलधारे वर्षेको थियो, साथमा हावा पनि । ओतको छहारीमा झुरुप्प मान्छेको भीड । विपरीत दिशामा एउटी युवती र साथमा सानो भाइ छ । गाडिको लाम उत्तिकै दगुरादगुर छ । ती युवती बाटो काट्न खोजिरहेकी छिन् । एउटा हातले छाता समात्नुपर्ने, अर्को हातले भाइ डोर्‍याउनुपर्ने अनि अर्को त हातै छैन तर एउटा हातले उनको कपडा तान्नुपर्ने छ किनकि कपडालाई हावाले उडाएर लज्जास्पद बनाइरहँदो छ । विचराको अवस्थामा उरन्ठेउलाको पानी परेकै बिर्साउने घटनामा जाडोको कुटुकुटु दाँत कटकटाउने अवस्था पनि गायब । तिनलाई जाडो नभएरै होला तर त्यहाँ फेसनको एक मुठी जोहो भएकै हुनुपर्छ । हजुर, खान लाउन हिँड्नमा मान्छेको व्यक्तिगत अधिकार हुन्छ तर पनि न्यायसङ्गत हीतकारी गफ गर्दा शरीर र अस्मिता बचाउन फेसनको जोहो भन्दा आफ्नैपनमा मजा लिए राम्रो होइन र । दबाबको आरोप नभिराउनुहोस् तर मान्छेले सहजीकरण गर्दा सशक्तिकृतका पाटामा ध्यान पुर्‍याउनु जाति होला ।

सबैलाई नक्कलको सौखिनता नहोला । हुनुमा के खराबी छ । संसारमा श्रृङ्गार रसकै कुरा किन रोचक बन्थ्यो नत्र । तब युवतीले पनि युवकको सौन्दर्य नपक्री कसरी संसार चल्ला र । प्रकृतिभन्दा माथि मानिस हुँदैन । तर, फेसनले कहिलेकाहिँ अनैतिकतामा मलजल गर्छ । छाडापन भित्र्याउँछ, अनुशासन नामेट बनाउँछ, संस्कार र संस्कृतिलाई प्रहार गर्दछ । समयसँग मान्छे बदलिनुपर्छ तर सती नै जानु पर्ने आवश्यकता छैन, मेरो मत हो ।

तपाईँ विमति राख्नुहोस् । म तर्क गर्न चाहन्न । प्रायःशारीरिक सौन्दर्यतामा युवती नै पारखी हुन्छन् । पुरुष पनि नहोलान् भन्न सकिन्न । सबै युवती पनि पारखी हुँदैनन् । नारी आकर्षण शक्तिमा संसारको अनुशासन र मर्यादा सदैव बाँच्दै आएको लाग्छ । हुन त हिन्दू संस्कृतिका महान् विद्वत् व्यक्तित्व मानिने वेदव्यास बलात्कृत नारीबाट जन्मिएछन् । समाज विद्रुपताको अनैतिकता अमानवीय जडमा विछिप्त बन्छ ।

मर्यादा र सुशासनको बाटामा ठूला माछाहरू महापातकी हुँदा लुकिरहन्छन् र लुकाइरहिन्छ । निर्दोषहरू तिनको अमानवीय प्रताडनाका सिकार बन्छन् । तीनको यातनाको, जीवनको के कुनै मूल्य हुँदैन ? दोषी रवाफमा अर्को दोषी बनाएर ठाँटले तमासा हेरिरहन्छ । राक्षसी नर्तकीमा बलात्कार प्रोत्साहित बन्छ तब नारी अस्मिता, पुरुषको दुराचार कामुकता यौनमनोविज्ञानको अचेतन मनमा कुहिरहन्छ । मान्छे पातकी बन्छन् । वेश्यालय, हाडनाता करणीसम्मका दुर्घटनामा यौनवासनाको अतृप्तता भयङ्कर बनेको हुँदो हो– आजको कुमान्छेमा ।

म सबै नारीलाई सतीसावित्री बन्नुहोस् भन्दिन जवानी तपाईँको हो । जीवन हो । तर घरको मियो नभाँच्नुहोस् । अवस्था हेर्नुहोस् । सम्मानित रहनुहोस् । पुरुषका सत्य कुरा मात्र मान्नुहोस् तर विरोधी बनेर सद्भाव नै भाँच्नुमा त मजै हुन्न । आमा, दिदी, छोरी, बुहारी नारी हुन् । नवदुर्गा, महालक्ष्मी, सावित्री नारी नै हुन् । आदिशक्ति नारी हुन् । पृथ्वी, गाईको पूजा नारीत्वमा सम्मानित किन हुन्थ्यो हिजो ? आज नैतिक पतनमा डिस्को र रक्सिको पाटी मच्चाउनेले आधुनिकताको कालोमनको ढोङमा आफ्नो सुसंस्कृतिलाई बलात्कार गरिरहेका छन् । यसमा नारी पनि आज दोषी हुन् । संस्कार सिक्ने कुरा गर्दा विदेशी नक्कललाई महान् ठान्छन् । आफू आत्मनिर्भर बन्न शरीर बेच्ने हर्कत गर्न पछि नपरेका सबै तथ्य बजारमा नआउलान् तर फिल्मी प्रपञ्चको रङ्गमञ्च हलमा मञ्चित हुन्छ ।

हिजो राणा शासकले, आज महान् शासकमा होला ? फरक अलिअलि हिजो नचाहेरै आज अलिअलि चाहेरै पनि । अलिअलि बाध्यताले हुनसक्ला । नहुन सक्ला, अति सुन्दर, सत्यता रहोस्, यही अभिप्राय हो । मलाई को त्यो ? भन्ने प्रश्न गर्नुभए म नाजवाफ छु, बेतर्क र कुतर्कको होहल्ला हो भने क्षमा चाहन्छु । नारी नै हुन्– काली जसले रक्तबिजको बध गरिन् । शक्तिको प्रतीक लाञ्छित त बन्दै छैन ? तपाईँ पुरुषको सहवासको साधन होइन नारी तर श्रीमान्को विरोधी बन्ने घरभँडुवा पनि होइन । शोषण, दमन, अत्याचारको प्रतिवाद गर्न इज्जत बेचिएको त छैन, खबरदार गर्नुहोस् ।

यहाँ कानुनलाई जनताले शक्तिशाली बनाउन मैदान प्रयोग गर्छन्, अबको युगमा । दया, प्रेम, शान्ति र समृद्धिमा नारीत्व जीवन्त बनोस् । नारी र पुरुषको समसत्य सहकार्यमा दाग नलागोस् । चोट नपुगोस् । असल पारिवारिक दायित्वमा युद्ध र शान्तिको दुबै पाटाबाट नारीशक्ति सबल छिन् । पुरुषको पुरुषत्व पहिचान नगरी आफूलाई फसाउने नारीमा पनि नारीत्व भएको ठहर्दैन । सत्य तीतो हुन्छ । मानिसले असत्यको व्याख्या गरेर सत्य लुकाउँदा मलाई जटिलता नहोस् ।

हजुरआमा पनि भन्नुहुन्छ– ‘बाबु डाइबिटिज भा’छ । मलाई त टिन्सन भा’छ । अर्को छोरीले फुन गर्छु भन्थी । त्यो केजाति अनलाइन भन्नेमा चियाट नि भा’छैन, इन्टरनेटमा नेटओक आएन ।

हिरोइनको हरेक नाङगो नाचमा पैसा र चर्चा अनि श्रृङ्गार रसको घुलन हुन्छ । भएको वस्तु छोप्न नभ्याएको न हो, निर्वस्त्रतामा के ठूलो कुरा हुन्छ । सबै मान्छे, प्राणी, जीव उसै गरी नाङ्गै जन्मिए । कपडा त मानिसले पछि बनाएको हो । नागाबाबालाई केही लाज छैन, न सरम । यो समाज तिनकै शक्ति खोजिरहन्छ । सोचेर हेर्दा, कपडाको आविष्कार नहुँदा पात लगाउने र आजको युगमा उही युग फर्किन लागेको मात्र त हो । धेरै भए फेसनमा प्राचीनताप्रति मोह नै त बढ्या हो – एउटा तर्क भन्जन हो । हरेक मान्छेले अर्कोलाई हेर्छ, आफूलाई बिर्सन्छ । धनीका छोरीहरू कारमा बस्न रुचाउँछन् । कपडाको लवाइमा फेसनको मोह छ ।

हिरो हिरोइनले लगाएको कपडालाई बजारमा जसले पहिला लगायो उही महान् भयो, चाहे त्यो जस्तो होस् । आमाबुवाका अघि एउटा कपडा लगाएर बाहिरिएका छोराछोरी बाहिर अर्कै पोसाकमा हुन्छन् । जति छोटो र फाटेको, त्यति महङ्गो । बाहिरी जिल्लाबाट सदरमुकाम वा सहर, राजधानीतिर भित्रिएकाहरू कोठामा, घरमा जेहोस्, जस्तो अवस्था होस्– यसो लुगामा चाहिँ स्मार्ट हुने ध्याउन्नमा मोडिन्छन् । सायद देवकोटाले त्यही भएर हाेलान भिखारी, गरिब जस्ता कविता रचेका । मान्छेले कपडाको सम्मानमा हजुर भन्छ । कोट लगाएका दिन गाडीको अकाउन्टेन्टले मलाई भाडा माग्दा ‘सर’ भन्छ अरु बेला बेपर्वाह वचनमा– दाइ भाडा पाऊँ त । तब त, काठमाडौँ छिरेको दुई तीन महिनासम्ममा मान्छे अर्कै । बाबाका खेतको डिलमा बसेर मकै र कोदोको रोटी खाइरहँदा यहाँ पिजा र बर्गरको महङ्गो होटलको नास्तामा कति मीठासता रहला ।

अन्यथा लिए पनि मैले के नै गर्न सक्छु र । अहिले पच्चिस–तीस वर्षपछि विवाह गर्ने केटाकेटीको जीवनमा सेकेण्ड हेण्डको जलप बन्ने भय उच्च रहला कि, लाग्छ । कस्तो शङ्कालु भन्नुहोला त्यो औँला मात्र झर्छ जसमा विष लागेको हुन्छ । अर्थात् सानैदेखि अग्रिम बुकिङमा आफ्नो सिट सुरक्षित बनाउनुहोस्, भन्न पनि त मिल्दैन । यहाँ अपवाद धेरै जसो असल परिवार र ग्रामीण भेगमा अवश्य रहला । मोबाइल, इन्टरनेट, फेसबुक, म्यासेन्जर सबैलाई खाँदखुँद पार्दा लभको फेसनमा मात्र होइन अङ्ग्रेजी मिश्रणमा बढाबा छ । हजुरआमा पनि भन्नुहुन्छ– ‘बाबु डाइबिटिज भा’छ । मलाई त टिन्सन भा’छ । अर्को छोरीले फुन गर्छु भन्थी । त्यो केजाति अनलाइन भन्नेमा चियाट नि भा’छैन, इन्टरनेटमा नेटओक आएन ।’ आखिर नेपाली शब्दै त छैनन्, के गरुन् । बिचरी हजुरआमाले, तब मातृभाषा जोगाउने ठेक्का उनीबाट पनि हट्छ ।

अहिले ड्रिङ्क मतलब हार्ड ड्रिङ्क नगर्ने मान्छे पङ्गु हो । अलिअलि रक्सि, मासु, चुरोट पनि नखाने पाखेका त साथी पनि हुँदैनन्, त्यो एकलकाँटे । महङ्गो चुरोटको धुवाँलाई गोलो पारेर उडाउने केटाकेटीको रवाफ नभएको भए चुरोटको उद्योग र क्यान्सरका डाक्टरको जागिर, राज्यको आयस्रोतमा कत्रो बाधा हुन्थ्यो । यसबाट अलिकति त जनसंख्या संयोजनमा मद्दत पुग्ला । बाबाआमासँग चेपारे घसेर, ढाँटेर पैसा असुल्ने अनि प्रवृत्ति विकसित बन्दा खतरा बढ्नु अस्वाभाविक पनि होइन । एकजना ट्याक्सी ड्राइभर दाइ भन्दै थिए– ‘मलाई हिजो राति एघार बजेतिर मुखमा पट्टि बाँधेका पाँचजना केटाहरूले धम्क्याए ।

भाग्यवस, तीमध्ये एउटा छिमेकी केटो रहेछ, आवाजले चिनेँ । अनि, मैले तिनीहरूको कर्तुत खोलिदिने कुरा गरेपछि माफी माग्दै आफ्नो बाटो लागे । अहिले तिनीहरू खोलाको आडमा बसेर डेन्ड्राइभ सुँघ्छन् । तिनीहरू ११–१२ कक्षामा पढ्छन् । धनी बाबुका बिग्रेका मान्छे ।’ कुरा उठिहाल्यो तीतो यथार्थ, नयाँ बसपार्कतिर आफन्तलाई लिन जानुपर्ने भयो । लगभग साँझ पर्न लागेको थियो, साथमा एकजना मेरा दाइ, निकै मोटो हट्टाकट्टा हुनुहुन्थ्यो । होटलका गेटमा बसेका मेकअपमा परैबाट हेर्दा पनि सेतै पाउडर घसेका देखिनेहरूले वेश्यावृत्तिको सङ्केत गर्दै थिए । त्यहाँ जवानीको के कुरा बीस वर्ष बढी उमेरकी होलिन्, ‘दाइ’ भन्दै ग्राहकलाई सम्बोधन गर्दै गरेको आवाज सुन्दै हामी अघिअघि बढिरहेको त्यो दृश्यले अनैतिकताको छेकबार नभएको प्रष्ट्याउँछ । फेरि सत्य हो तर त्यसले कसलाई कति बिजाउँछ, म भन्न सक्दिन ।

तपाईँ समालोचक बन्नुहोस्, श्रीमान् बेस्सरी परदेशमा पसिना पोख्छ । श्रीमती यता अर्कैसँग ओछ्यान लगाउँछिन् । श्रीमान् सम्पत्ति कमाउँछ । श्रीमतीले उडाउँछिन् । श्रीमान् घर आउँछ, न सम्पत्ति न श्रीमती पाउँछ, ठन्डाराम । के यो फेसनको धोकेबाज मात्र कुसंस्कारमा सजिन्छ । हरेक चाडबाडमा खर्चिलो फेसन छ । मान्छेको वर्षदिनको कमाइ एकै दिनमा स्वाहा । विवाह, काजकर्म, पाठपूजाजस्ता संस्कृतिलाई विकृतिको बोझिलो खोल ओढाइएको छ । समाज विद्रुप छ । घरमा श्रीमती बिचरी छोराछोरीका लागि अनेकौँ पसिना र प्रयत्न गर्छिन् । श्रीमान् बिहानै रक्सि धोकेर जथाभावी पल्टिन्छ ।

चटपटे र पानीपुरीको सानो टुङ्सीलाई बाटाको छेउमा राखेर छोराछोरी पढाउने श्रीमतीको वेदनाको अन्यायमा फेसनको दमन छ । चारतिर सम्बन्ध गाँस्दै परिवारमा दबाब र दादागिरी देखाउने चरित्रहीनताको पितृसत्तात्मक दमनमा नारीको पसिनासँग परिवारका कलिला सदस्यको जिन्दगी टुटेको हुन्छ । घरमा टर्रो बोल्छ किनकि उसकी अर्की नायिका प्रतीक्षारत हुन्छे । कामुकताको व्यापारमा मनको तिर्सना र परिवारको तिरस्कारभित्र दमनकारी स्वभावको मनोविज्ञान फेसनेबल बन्न पुग्छ । कानुनका कुरा र घरबारको टुटेको घटनालाई प्रेमपूर्वक जोड्न चाहने आमाको मन कति कुँडिँदो हो ?

नोकरलाई भन्दा कुकुरलाई माया गर्ने प्रवृत्तिमा मानवताका बखान सुनिन्छन् । पढेलेखेका नारीले आफ्नो स्तरको खोज्दाखोज्दै अविवाहित बन्नुपर्‍यो भने पनि अतृप्ती जीवनमा शान्ति हुन्न । श्रीमतीले आफू बढी कमाउने र उच्च तहको भएकैले दबाब जमाउने दम्भमा घरबारसम्म त होला तर परिवारको सद्भाव रहन्न । प्रेममा फेसनको फेसन मच्चाएर फेसन हुनुहुन्न । हजुरबाको काने जुत्ता आज फेसन भयो । हिल चप्पल लाउनुहोस्, तर खुट्टा मर्केला ख्याल राख्नुहोस् ।

बच्चा नजन्मी अपलोड नगर्नुहोस्, पछिको कुरा जान्न गाह्रो छ हजुर । फेसनका पूजारी म र तपाईँ हामी सबै हौँ । तपाईँको पहिचान र गरिमा जोगाउनु तपाईँकै कर्तव्य हो त्यहाँ फेसन पहिचान नबन्ला कि ? फेसनले मान्छेलाई व्यस्त तुल्यायो होला । गाडिको सिटमा एक्लै के गर्ने– फेसबुक चलाऊँ, गीत सुनौँ आफैले मात्र भए पनि । फेसनको विकसित रूप टेन्सन हो । यसको प्रारम्भमा टेन्सन होइन रहर हुन्छ पछि त्यही टेन्सन बन्छ ।

रात बितेको पत्तै नपाउने गरी सञ्जालमा झुलौँ, या त कोठादेखि महलसम्म फेसन । खुट्टादेखि टाउकासम्म फेसन । किचन र ट्वाइलेटमा फेसन हुँदै जाँदा बाथरुम सिङ्गर, आफ्नै रुम सिङ्गर अनि क्लासरुम सिङ्गर अनि स्टेजमा पुग्ला– राम्रो कुरा भयो ।

सबै फेसनमा खराबी मात्रै पनि त छैनन् । चक्कुको काम तरकारी काट्नु हो तर मान्छे काटेमा......! शरीरमा आधा साबुन लगाएको मान्छेले मोबाइलमा भन्छ– हेलो....। व्यस्त फेसन । ड्राइभर र पुलिसमा श्रीमतीको गोठ हुन्छ भन्छन् तर सबैका हुँदैनन् है । मलाई मार्नुहोला, दुबैले ज्यानलाई खतरामा पार्नुहुन्छ । क्षमा चाहन्छु । फेसन भनेकै भएका कुराको यथार्थता । कुर्सीमा फेसन छ । अमानवीय दमनमा, मिसावटमा सबै फेसनेबल नबन्ने मान्छे के मान्छे ? फेसन विकासको शुभकामना । 
 

अन्तिम अपडेट: जेठ ४, २०७६

तपाईको प्रतिक्रिया