क्यामरुनको दाउफिन्स क्लबले जित्यो मनकामना पोखरा कपको उपाधि

 माघ २७, २०७५ आइतबार १९:४५:१ | रासस
unn.prixa.net

कास्की – क्यामरुनको दाउफिन्स टिम फेमिलीले छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरी उपाधि जितेको हो । 

खेलको ५४औँ मिनेटमा दाउफिन्सका यानिकले गरेको एकमात्र गोल नै टिमलाई उपाधि दिलाउन पर्याप्त भयो । उपाधि विजेता दाउफिन्सले सात लाख ५५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता भएको एपीफएले चार लाख पाँच हजार ५५५ रुपैयाँमा चित्त बुझायो । 

विजेता तथा उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै एपीएफका गोलकिपर राजु नगरकोटीले एक थान मोटरसाइकल प्राप्त गर्न सफल भए । 

प्रतियोगिताको उत्कृष्ट डिफेन्डरमा एपीएफका राजु दङ्गाल, फरवार्ड डफिन्सका यानिक, गोलकिपरमा एपिएफका राजु नगरकोटी, मिडफिल्डर मनाङका हेमन गुरुङ तथा उत्कृष्ट प्रशिक्षकमा एपिएफका राजेन्द्र तामाङ चुनिँदै जनही २५ हजार रुपैयाँ पुरस्कार तथा ट्रफी हात पारे । 

यसैबीच जिल्ला फुटबल सङ्घले प्रतियोगिताको समापन समारोहमा खेल पत्रकार उमेश पुनलाई नगद  २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा पुर्‍याएको योगदानस्वरुप पुनलाई सम्मान गरिएको सङ्घले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया