धनगढी प्रिमियर लिगमा काठमाण्डाै गोल्डेन्सको विजयी सुरुवात

 माघ २८, २०७५ सोमबार १३:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - साविक उपविजेता काठमाण्डाै गोल्डेन्सले धनगढी प्रिमियर लिगमा जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको पहिलो खेलमा काठमाण्डाैले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले हरायो ।

धनगढीस्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनायो ।

गतिलो सुरुवात गर्न नसकेको धनगढीको स्कोरबोर्डमा मात्र एक रन हुँदा ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट  भए । त्यसपछि अर्को ओपनर सुनिल धमला मात्र तीन रनमा पेभेलियन फर्किदा धनगढीले ६ रनमा दुई विकेट गुमायो । तेस्रो विकेटकालागि अमित श्रेष्ठ र रन्दिप रजाली विच अर्धशतकीय साझेदारी हुँदा धनगढीको टिम केही सम्हालिएको थियो ।

तर सन्दीप २८ रनमा ललित राजवंशीको बलमा आउट भएपछि घरेलु टिमले ५८ रनमा तेस्रो विकेट गुमायो । त्यसछि क्रिजमा आएका पवन सर्राफ पनि मात्र १९ रनमा आउट भएपछि एक सय एक रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि उसको स्कोर एक सय १५ रन हुँदा अर्धशतक बनाएका अमित श्रेष्ठ पेभेलियन फर्किए । उनी यो सिजनको डीपीएलको पहिलो खेलमा नै अर्धशतक बनाउन सफल भए । अन्तिम ओभरमा सौरभ खनालले १७ रन बनाउदै धनगढीको स्कोरलाई बलियो बनाए ।

जवाफमा काठमाण्डौले एक बल बाँकी हुँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । मध्यम सुरुवात गर्दै काठमाण्डाैले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गर्‍यो । उसले ९५ रन बनाउदा तीन विकेट गुमाएको थियो । ओपनर गौरव तमोर २८ रनमा आउट भए भने अनिलकुमार शाह २४ रनमा पेभेलियन फर्किए । यस्तै अंकित दाबासले २९ रनको योगदान गरे ।

त्यसलगत्तै कप्तान ज्ञानेन्द्र मल्ल मात्र तीन रनमा आउट भएपछि काठमाण्डौले ९९ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि नै सोनु तामाङ पनि मात्र दुई रनमा आउट हुँदा काठमाण्डौको एक सय रनमा पाँचौ विकेट गुमायो ।

त्यसपछि योगन्द्र कार्की दुई रनमा आउट भए । अन्तिममा विक्रम भुषालले १४ रनको योगदान गरे । बलिङमा रोहन मुस्तफाले चार विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया