ऋषि पञ्चमीको सम्झना

 माघ २९, २०७५ मंगलबार १०:५०:४९ | राधा पाैडेल
unn.prixa.net

ऋषि पञ्चमी कहिले तीजको भोलिपल्ट त कहिले पर्सिपल्ट पथ्र्यो । तीजमा बिदा हुने, मीठोमीठो खानपाइने । पञ्चमीसम्म गीत गाउन पनि पाइने । मलाई तीज मन पर्थ्याे । कति गीत आफै बनाइदिन्थेँ । कति गीत सुन्नेबितिक्कै याद हुन्थे । बेलुका ननिदाउँदासम्म म गीत गुन्गुनाउँथेँ : 

“वर्ष दिनको तीजलाई, जाऊ दिदी लिनलाई,
दुवै छाक खान दिउँला बरु ऋण लाई.. ..”

 ऋषिपञ्चमीपछि  तीज गीत गाउन बन्देज थियो । बचेखुचेको रहर ऋषिपञ्चमीमा गाएर, नाचेर मैजारो हुन्थ्यो ।

ऋषिपञ्चमीको रौनक गज्जबको हुन्थ्यो । तर मैले गाउँघरमा पूजा लगाएको हेरेर बस्न पाइनँ । बिहानै इनार वा धारामा नुहाएर महिलाहरु चौतारामा भेला हुन्थे । चौतारी नै भन्ने त मेरो गाउँमा थिएन । कसैको घर आँगनमै पनि पूजा लगाउँथे । पूजा लगाइसक्दा दिन ढल्थ्यो । साँझ नै पर्न पनि सक्थ्यो । तीन–चार त बज्थ्यो नै । आमा, दिदीहरु थाकेर लोत हुन्थे । गलेर घर फिर्थे । अनियता घर धानी टोपल्ने म नै हुन्थेँ । बजारतिर या नारायणी किनारमा लगाइने पञ्चमी पूजा भने अलि छोटो हुन्थ्यो । त्यहाँ एक बज्दा नबज्दै पूजा सकेर उहाँहरु घर पुग्नुहुन्थ्यो । 

आमा दमकी रोगी हुनुहुन्थ्यो । लामो समय भोको बस्दा झन् गाह्रो हुन्थ्यो । अनि आमा छिटो पूजा सक्न नारायणीतिर लाग्नुहुन्थ्यो । तीजको दिन सबैजना बजार जाँदा म घर कुरेर बसेकी हुन्थेँ । त्यसैले पञ्चमीमा आमा नारायणी जाँदा म पनि साथी जान पाउँथेँ । पालो जस्तो र आमालाई साथी पनि । तर त्यहाँ आमाका साथी कति हुन्थे कति । 

ऋषिपञ्चमीको तयारी आमा, दिदीहरुले केही दिन अगाडिदेखि नै गरेका हुन्थे । दतिवन जम्मा गरिसकेका हुन्थे । अघिपछि बारीको कान्लाकुन्ली सफा गर्दा पनि यो दतिवन हो, पञ्चमीलाई चाहिन्छ भन्दै जोगाइजोगाइ राख्थे । दतिवन हरेक आँख्लामा भाँचेर टुक्रा टुक्रा बनाउँथे । २१—२१ वटा भएपछि सिरु वा काँसले बानेर २१ वटै मुठा बनाउँथे । 

दतिवनको मुठा, पूजाको सामान, फेर्ने लुगा आदिको सानो पोको बोकेर महिलाहरु बिहानै घर छोड्थे । भदौ महिनाको नारायणी मात्तिएर, नाच्दै, नाच्दै बगिरहेकी हुन्थी । नदीको दायाँ र बायाँ किनारमा महिला ढपक्कै हुन्थे । राता राता शरीर भएका, कालाकाला डल्लाहरु चलमलाएको खुब रमाइलो देखिन्थ्यो ।

नारायणी वारिको हारमा आमाहरु पनि गएर मिसिनुहुन्थ्यो । म आमा र आमाका साथीहरुको पोको वा झोला किनारनजिकै कुरेर बस्थेँ । त्यही पोकोमा यसो ढल्केर बस्थेँ । नारायणी किनारको रमिताले साच्चै म पुलकित हुन्थेँ । साच्चैको रमिता । भव्य रमिता । ऋषिपञ्चमीको रमिता । 

मेरी आमा वा सबै आमाहरु त्यस दिन सबै उस्तैउस्तै पहिरनमा हुन्थे । पातलो सारीको टुक्रम, लुंगी, पछ्यौरा वा पेटीकोटले छातिदेखि घुँडासम्म छोपेका हुन्थे । 

छोपेको भन्नु मात्र छोपिएको केही हुन्थेन । मैले उहाँहरुले लुकाएका अवयव सबै स्पष्ट देख्थेँ । माथिदेखि तलसम्म । दायाँदेखि बायाँसम्म । अगाडिदेखि पछाडिसम्म । यो दृश्यले मेरो मनमा प्रश्नहरु सल्बलाउँथे । सबैको उस्तै ? सबैको उत्रै ? भोलि म पनि अपवाद हुन्न होला । आमाहरुलाई थाहा हुनुपर्छ, लुकाउन खोजेको लुकेको छैन । आजलाई लुकाउन खोज्नु पनि भएको छैन । यहाँ महिलाकै राज छ । जो–जो जहाँ जहाँको भए पनि पञ्चमीले चिनाएको छ । आफ्नो बनाएको छ । राम्रो बनाएको छ, हाम्रो बनाएको छ र खुशी बनाएको छ ।

छोरा मान्छे कोही छैन । अलि माथि चौतारामा पुग्नुपर्छ । मात्र केटाकेटी छन् मजस्तै । सात, आठ या नौ वर्षका । म जसरी नै बसेका छन् टहलिएर । उनीहरुको मुहार नै हेर्न बनेझैँ भएको छ, आँखाजस्तै । सबै एकोहोरो हेरिरहेछन् आमाहरुको राज, दिदीहरुको राज । 

आमाहरु ठूलो–ठूलो स्वरले बोलिरहेका छन् अर्थात् जिस्किएका छन् । उनीहरु यति खुशी छन् कि पूर्णिमाको जूनजस्तो उज्यालो छ अनुहार । अनारदाना दाँतका लहर खोलेर हाँसेका छन् । आवाज निकालेर खितखिताएका छन् । कोही दतिवनले तीन सय ६५ पटक दाँत माझिरहेका छन् । कोही किशोरीहरुलाई सिकाइरहेको छन् । कोही रातो माटोले यौनांग तीन सय ६५ पटक धोइरहेका छन् । कोही नारायणीमा चुर्लुम्म डुबेर उठ्दैछन् । कोही डुब्न निहुरिँदैछन् । 

सबैजना नारायणीतिर फर्केका छन् । हाँस्दाहाँस्दै भुइँमा नै थचक्क बसेका छन् कोही । सबका सब पेट मिची–मिची हाँसेका छन् । कसले कसलाई गाली गर्छ, कसले कसलाई । कसले कसको शरीरको बारेमा कुरा गर्छ, कसले कसको । 

भन्नहुन्न । देखाउनहुन्न । छुनुहुन्न । बोल्नुहुन्न । लाज हुन्छ । बेइज्जत हुन्छ । यी सिमाना सबै भत्किएका छन् । सिकाएका सबै कुरा बिर्सिइएका छन् । मैले पछाडिबाट सुनेँ । देखेँ । हेरेँ । अनि नारायणीले अगाडिबाट सुनिन्, देखिन् र हेरिन् । सायद मैले भन्दा उनले बढी देखिन् । धेरै सुनिन् ।

नारायणी पनि बग्न नपरेको भए सायद यसै त गर्थिन् होला । दतिवन दलेर शुद्ध भएँ भन्दै गर्व गर्थिन् होला । हगि नारायाणी ! मेरो पनि त ठूली भएपछिको नियति यही त हो नि । नारायणीजस्तै मेरो मनमा पनि प्रश्नहरु उर्लिए । 

एकैदिन वर्षदिनभरिका लागि दाँत माझेर हुने रे । खाना पनि यस्तै भइदिए पो एकपल्ट खाएपछि वर्षभरि पुग्ने । एकैदिन वर्षदिन भरिको भाग यौनांग धोए हुने रे । त्यो पनि रातो माटोले, जुन आफै माटो हो । सम्वेदनशील अंगमा माटो ! माटोमा फोहोर हुन्छ । खोलाको पानी आफैँ संसारका बोक्नु, नबोक्नु सबै बोकेर हिँडेको हुन्छ ।

मैले स्कुल पढ्दा सिकेको र यहाँ गरेको ठ्याक्कै मिलेन । मिल्दै मिलेन । हुन त धेरै पढेकी नै कहाँ छु र । आफ्ना प्रश्नको उत्तर पनि आफैले दिन खोजेँ । यदि खोलाको पानी सफा हुने भए  उमालेर खानु परेको नि ? यदि एकदिन दाँत माझेर हुने भए दिनदिनै वा खाना खाएपिच्छे माझ्नु पर्ने किन? त्यस्तै ३० मिनेटमा सिनेमाको तस्बिर फेरिएझैँ, सबै फेरियो । कसैको भुइँ रातो । कसैको बाटो नै रातो त कसैको फूल रातो ।

–मदन पुरस्कार विजेता लेखक राधा पौडेलको नयाँ पुस्तक ‘अपवित्र रगत’ को अंश । काठमाण्डौ पब्लिकेशनले प्रकाशन गरेको यो पुस्तक मंगलबार सार्वजनिक हुँदैछ ।

अन्तिम अपडेट: भदौ २०, २०७६

राधा पाैडेल

मदन पुरस्कार विजेता लेखिका सामाजिक कार्यकर्ता हुन् ।

तपाईको प्रतिक्रिया