रुकुम पूर्वमा गाडी दुर्घटना, ९ घाईते

 असार ८, २०७५ शुक्रबार ९:१८:७ | राजु लामिछाने
unn.prixa.net

राजु लामिछाने, रुकुम (पूर्व)-रुकुम पूर्वकाे सिस्ने गाउँपालिका ५ मा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । 

रुकुम पुर्वको सदरमुकाम रुकुमकोटबाट दाङका लागि छुटेको ना ५ ख ४०१२ नम्बरको बस सदरमुकाम नजिकैको मङ्ग्रा भन्ने ठाउँमा दुर्घटना भएको बताइएको छ ।

स्थानीय सर्जना कार्कीका अनुसार, बिहान ६ बजे छुटेको बस १० मिनेट पछि सडकबाट करिब १५ मिटर तल खसेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार, बसमा सवार यात्रुको संख्या यकिन हुन बाकी रहेको र घाइते  ९ जनाको जिल्ला जनस्वास्थ्य रुकुम पुर्वमा उपचार भइरहेको छ । 

घाइतेहुनेहरुमा बाँके जिल्ला डुडुवा गाउँपालिका ५ का २५ वर्षीया सुभद्रा यरि, त्यसै स्थानकी ५५ वर्षीया पुतली खड्का, ३० वर्षीय अजित यरि, रोल्पा जिल्ला लिवाङ निवासी ३२ वर्षीय दिलिप कुमार पुन, रुकुम पश्चिम बाफिकोट गाउँपालिका ५ का २० बर्षका दिलिप देवकोटा रहेका छन् ।

त्यसैगरी, रुकुम पूर्व सिस्ने गाउँपालिकाका  ४० वर्षका अम्बर थापा, त्यसै स्थानका ५१ वर्षीया सुधा कुमारी शर्मा, २३ वर्षका नारायण गौतम छन् । घाइते मध्ये एक जनाको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले घाइतेको उद्दार गरिरहेको बताईएको छ ।

तीव्र गतिमा गाडी चलाएकोले दुर्घटना भएको र गाडी चालक दाङ्, तुल्सिपुरका चुडामणि बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया