सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

 फागुन १४, २०७५ मंगलबार १२:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – बैतडीका उच्च भेगमा सोमबार राति फेरि हिमपात भएको छ । जिल्लाको खोड्पे, सतबाँझ, मुस्याचौर र श्रीभावरलगायतका ठाँउमा हिमपात भएको छ । हिमपातले जिल्लामा चिसो पनि बढेको छ ।

लगातार मौसममा आएको परिर्वतनले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा चिसो बढेको छ । 

यो वर्ष यतिबेलासम्म चिसो रहिरहँदा चिसोले नागरिकहरु मर्कामा परेका दशरथचन्द नगरपालिका १ का देवदत्त भट्टले बताउनुभयो । लगातारको चिसोले यहाँका स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो लगायतका बिरामीहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ ।

हिमपातले बैतडीका ग्रामीण सडकहरु हिलाम्मे भएर सवारीसाधन सञ्चालनमा पनि समस्या भएको सवारीचालकहरुले बताएका छन् ।

हिमपातका कारण डोटीमा सडक अवरुद्ध

डोटीमा पनि सोमबार रातिदेखि नै हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपातसँगै वर्षा पनि भएको छ । डोटीका उच्च पहाडी बस्तीहरु हिउँले सेताम्य भएका छन् । 

हिमपातका कारण स्थानीयहरु घरबाहिर निस्किन सकिरहेका छैनन् । जिल्लाको खप्तड, भल्मा, गोलादेउ, शिखर, नापानी, केदारधुरा, उदैनिलगायतका उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परेको स्थानीय दीपक खड्काले बताउनुभयो । उहाँका अनुसार बाक्लो हिमपातका कारण स्थानियले गाईबस्तु समेत चराउनका लागि गोठ बाहिर निकाल्न सकेका छैनन् ।

त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा करिब दुई फीट हिउँ परेको नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायलले जनाएको छ । त्यस्तै हिमपातका कारण अत्तरिया स्याउले जोड्ने भिमदत्त राजमार्ग केही समय बन्द भए पनि अहिले सुचारु भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया