हेलिकप्टर दुर्घटना: ज्यान गुमाउने ४ जनाकाे शव फुङलिङ ल्याइयाे, तीनवटा शव बाेकेरै ल्याइने तयारी

 फागुन १५, २०७५ बुधबार १९:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुको शव बिहीबारमात्र काठमाण्डौ ल्याइने भएको छ । 

अहिलेसम्ममा चार वटा शव सुकेटार विमानस्थलमा ल्याइएको प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । चार वटा शवलाई हेलिकप्टरबाट सुकेटार ल्याइएपनि बाँकी ३ वटा शव भने ल्याउन नसकिएको प्रमुख थापाले बताउनुभयो ।

घटनास्थलमा रहेका उहाँले अहिले घटनास्थलमा हिमपात भएको र रात पनि परेकाले हेलिकप्टर प्रयोग गर्न नसकिने बताउनुभयो । थापाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले तीन वटा लास बोकेरै ल्याउन लागेको बताउनुभयो ।

बाँकी ३ जनाकाे शव रातिसम्म भए पनि ल्याउने तयारी भएकाे उपरीक्षक संजयसि‌ह थापाले जानकारी दिनुभयाे ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । उनीहरुलाई बाँकी शव पनि बोकेरै भए पनि ल्याउन भनिएको छ तर बाटो अप्ठ्यारो, रात परिसकेको र हिउँ पनि परिरहेकाले समस्या भैरहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । 

हिउँ परेर हेलिकप्टर उड्नै नसक्ने भएकाले आज शव काठमाण्डौ पठाउन नसकिने पनि उहाँले बताउनुभयो । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको छ । 

ताप्लेजुङको पाथीभरा नजिकैको दारेभिरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परेर हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभाेया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो । 

गृहमन्त्रालयले हेलिकप्टरमा सवार सबै ७ जनाको निधन भएको र सबै शव प्राप्त भएको जानकारी गराएको छ । ताप्लेजुङमा भीआईपी चढेको हेलिकप्टर दुर्घटना भएको यो दोस्रो पटक हो । २०६३ असोज ७ गते तत्कालीन वन राज्यमन्त्री गोपाल राई र उहाँकी पत्नी मिना राईसहित २४ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया