सभामुख र उपसभामुख फरक–फरक दलको बनाउन कांग्रेसको माग

 असार १०, २०७५ आइतबार १६:४:१० | उज्यालो सहकर्मी

काठमाडौं – दुई ठूला पार्टी एकीकरण लगत्तै सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयका लागि आवाज उठाउदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो मागमा  अडिग देखिएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संविधानले गरेको व्यवस्था र राजनीति दलको ऐनमा भएको प्रावधान अनुसार संविधानको कार्यान्वय गर्दै सभामुख र उपसभामुख भिन्न दलबाट चयन गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अतहर कमाल मुसलमान संविधान बनाउने थलोले नै संविधानको प्रावधानको पालना नगर्ने काम भएको भन्दै सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानले गरेको व्यवस्था यथासिघ्र कार्यान्वय गर्न माग गर्नुभयो ।

सांसद उमाशंकर अरगरिया धनुषा जिल्लामा हुलाकी सडक निर्माणको कामको सिलसिलामा निस्किएको धुलो धुंवाका कारण सर्वसाधरणको स्वास्थ्यमा असर परेको भन्दै प्रदुषण नियन्त्रणतर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कमला नदीमा नीलगाई, सुंगुर र श्यालको बिगबिगी नियन्त्रण गर्न माग गर्नुभयो ।

सांसद संञ्जयकुमार गौतमले विपत व्यवस्थापनको पूर्व तयारीतर्फ सरकार गम्भीर नभएको भन्दै त्यसबारे सरकारका तयारीबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले विपत व्यवस्थापनमा खर्च हुने रकमहरु पारदर्शी बनाउन पनि माग गर्नुभयो ।

सांसद घनश्याम खतिवडाले भूमि व्यवस्थापन सम्बन्धी उच्चस्तरीय आयोग बनाएर भूमि व्यवस्थापनमा देखिएको समस्याको स्थायी र दीर्घकालिन समाधान गर्न सरकारसँग माग गर्नुभयो । सुकुम्बासी आयोगबाट मात्रै भूमि व्यवस्थापनमा देखिएको दोहोरो स्वामित्व लगायतका समस्या समाधान हुन नसक्ने उहाँको तर्क थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया