विपी उद्यानलाई शहीद पार्क बनाउने प्रदेश सरकारको निर्णय दूराशयपूर्ण : सांसद पुष्पा भुषाल

 फागुन २३, २०७५ बिहिबार १३:४७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरगञ्जको विपी उद्यानलाई शहीद पार्क बनाउने प्रदेश सरकारको निर्णय दूराशयपूर्ण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ । 

प्रतिनिधिसभाको विहीबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले विपी उद्यानलाई शहीद पार्क बनाउने २ नम्बर प्रदेश सरकारको निर्णय दूराशयपूर्ण भएको टिप्पणी गर्नुभयो । 

उहाँले नेपाली कांग्रेस र कांग्रेसका नेताको इतिहास मेटाउने काम भए शसक्त विरोधमा उत्रने चेतावनी दिनुभयो । उहाँले प्रदेश सरकारलाई निर्णय सच्याउन निर्देशन गर्नका लागि केन्द्र सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो “मधेसबाट, तराईबाट नेपाली कांग्रेसको नाम निसाना, नेताको नाम निसान मेटाउने कदमको हामी घोर भर्त्सना गर्दछौँ । सभामुखमार्फत प्रदेश सरकारलाई निर्देशन गर्नका लागि सरकारलाई निवेदन गर्छौ । ”

प्रदेश नम्बर २ को सरकारले शहीद दिवसका दिन विशेष कार्यक्रम गरी विपी उद्यानमा शहीद पार्क बनाउने भन्दै औपचारीक उद्घाटन गरेपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ । विपी उद्यान बनाउनका लागि विरगञ्ज नगरपालिकाले २०६० सालमा यातायात संस्थानबाट १० विघा जग्गा खरिद गरेको थियो । यही स्थानमा शहीद पार्क बनाउने भन्दै प्रदेश सरकारले रकम निकासा पनि गरेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया