सुरक्षाको माग गर्दै वैदेशिक रोजगार व्यवसायीले प्रधानमन्त्रीलाई भेटे

 फागुन २८, २०७५ मंगलबार १८:३३:५९ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायी संघले सुरक्षाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

आर्थिक सहायता नदिएको भन्दै व्यवसायीको घरमा बम विष्फोट गराएर भयको वातावरण सृजना गरिएको र यसले व्यवसाय गर्ने वातावरण नभएको भन्दै संघले सुरक्षाको माग गर्दै मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेरै संघका प्रतिनिधिहरुले विष्फोटको घटनामा संलग्नलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । 

गएको शुक्रबार वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट भएको थियो । बिष्फोटबाट गुरुङको निजी कार र घरमा समेत क्षति पुगेको थियो ।

विष्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको र उनीहरुले बम विष्फोटको केही समयअघि आर्थिक सहायता मागेको ज्ञापन पत्रमा उल्लेख छ । आर्थिक सहायत नदिएकै कारण व्यवसायीलाई डर देखाई आर्थिक संकलन गर्ने नियतले अध्यक्ष गुरुङको घरमा बिष्फोट गराइएको संघको ठहर छ ।

संघले विप्लपसँग उचित माध्यमबाट वार्ता गरी भविष्यमा यस्ता क्रियाकलाप हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । जवाफमा प्रधानमन्त्री ओलीले बम पड्काउने  र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको बताउनुभयो ।

उहाँले गुरुङको घरमा भएको विष्फोटप्रति दुःख व्यक्त गर्दै घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया