बसन्तपुरमा ठड्याइयाे चीर: होली पर्व प्रारम्भ

 फागुन ३०, २०७५ बिहिबार १४:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको हनुमानढोकामा रहेकाे बसन्तपुरमा होलीको चीर ठड्याइएको छ ।

काठमाण्डौको हनुमानढोकास्थित बसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो । चीर ठड्याएसँगै राजधानी काठमाण्डौलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको ‘धालासिक्व मानन्धर सनाः गू खलः’ का सचिव मदनरत्न मानन्धरले जानकारी दिनुभयो । यो पर्वमा मात्रै रंगहरुसहित होली खेल्न पाइन्छ । अन्य समयमा रंगहरुसँग खेल्न कानुनी रुपमै प्रतिबन्ध लगाइएको छ ।

बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा बसन्तपुरमा रहेकाे हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । सचिव मानन्धरले मल्लकालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको पनि बताउनु भयो ।

उहाँले होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रहिआएको पनि बताउनु भयो ।

होली पर्वलाई बसन्त ऋतुको आगमनको खुशीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । याे वर्ष काठमाण्डौलगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया