बोस्टनमा नेपाली कक्षा

 असार १२, २०७५ मंगलबार १४:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

केही दिनअघि बोस्टन विमानस्थलमा ओर्लने बित्तिकै नेपथ्यका मुख्य गायक अमृत गुरुङ सोझै एमआइटी (म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी) को परिसरमा पुगे, जहाँ केही जागरुक स्वयंसेवीले यस भेगका नेपाली केटाकेटीहरुका लागि आफ्नो भाषाको कक्षा चलाइरहेका थिए ।

‘यस्तो पर पनि मातृभाषा सिक्न चाहने यति विघ्न नेपाली फूलहरु फक्रिरहेको देख्दा असाध्यै खुशी लाग्यो,’ अमृतले भने, ‘कुनै दिन नेपाल घुम्न गएका बेला तपाईँहरुका हजुरबुवा हजुरआमा वा अन्य आफन्तसँग जब कुराकानी गर्न सक्नुहुनेछ, त्यतिबेलै यसको महत्व बुझ्नुहुनेछ ।’

त्यसको एक सातापछि नै अमृत आफ्नो नेपथ्य टोलीका साथ बोष्टनको मध्ये भागमा रहेका ‘रोयाल बोस्टन’ हलमा आफूलाई फरक नेपाली जमातकामाझ प्रस्तुत गरिरहेका थिए । त्यस सभागृहमा निश्चित उमेरका नागरिकलार्ई मात्र प्रवेश अनुमति भएकाले ती भाषा सिकिरहेका केटाकेटी उपस्थित हुन नसके पनि तिनका अभिभावकहरु चाहिँ आइपुगेका थिए ।

अमृतले एकसाताअघि केटाकेटीलाई भनेकै कुरा यहाँ पनि बेग्लै शैलीमा दोहोर्याए । ‘आइतबारको साप्ताहिक बिदाका बेला चार घण्टा नेपाली भाषा सिकिरहेका केटाकेटीलाई देखेर मलाई असाध्यै खुशी लाग्यो,’ अमृतले भने, ‘यस्तो राम्रो उद्देश्यका निम्ती तपाईँहरुले आफ्नो बिदाको बहुमूल्य समय बच्चाह्रको भाषा सिमाउन ध्यान दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु ।’

ती कलिला बालबालिकाहरुलाई सातामा चार घण्टा मात्र भाषा पढाउन लगाएर दायित्व पूरा नहुने पनि उनले उल्लेख गरे । ‘एउटा सामान्य तर असाध्यै महत्वपूर्ण योगदान तपाईँहरुले थपिदिन सक्नुहुनेछ,’ अमृतले अगाडि भने, ‘ती केटाकेटीहरुसँग तपाईँहरुले घरमा नेपाली नै बोलिदिनुस् ।’

त्यसपछि अमृतले अष्ट्रेलिया सांगीतिक भ्रमणका बेला भेटिएका एक नेपाली बालकसँगको अनुभव सुनाए । ती बालक कुनै समय नेपाल पुगेका रहेछन् र अब फेरि कहिल्यै नेपाल नजाने धारणा बनाएर फर्केका रहेछन् । किन यसो भएछ भनेर बुझ्दा ती बालकले तीतो अनुभव सुनाए ।

‘मलाई त्यो ठाउँ र मेरा हजुरबुवा हजुरआमालाई भेट्दा एकदमै रमाइलो लागेको थियो,’ बालकले भनेका थिए, ‘तर उहाँहरुसँग कुराकानी गर्नै नसक्दा असाध्यै नरमाइलो लाग्यो ।’

आफूले नेपाली नजान्ने र आफ्ना हजुरबुबा हजुरआमाले अंग्रेजी बोल्नै नसक्ने अवस्थामा पुगेका कारण नेपालको यात्रा अन्तिम भएको बालकले आफूलाई बताएका अमृतले सुनाए । त्यस्तो अवस्था फेरि झेल्नका निम्ती आफू अब नेपाल नजाने ती बालकले सुनाएका थिए ।

ती बालकको अनुभव सुनाएपछि अमृतले भने, ‘त्यस्तो अवस्था हाम्रा कुनै पनि केटाकेटीले फेरि झेल्नु नपरोस् । के गर्ने भन्ने निधो तपाईँहरुले गर्ने हो र मलाई थाहा छ, तपाईँहरुले बुद्धिमानीपूर्वक यसको फैसला गर्नुहुनेछ ।’

‘नेपालमा नेपाली भाषाले नै सबै जातिलाई सम्पर्क भाषाका रुपमा जोडेको छ,’ उनले थपे, ‘यो एउटा भाषा तपाईँका केटाकेटीले बोल्न सके भने मुलुकको जुनसुकै भागमा पुगेर पनि आफ्ना कुरा बुझाउन सक्नेछन् ।’

त्यसपछि स्टेजमा अमृतको गीत गुञ्जियो, तिमी पनि नेपाली...म पनि नेपाली....हामी नेपाली...।

नेपाली भाषा र विदेशमा हुर्किरहेका भावी पुस्ताको बारेमा यी सन्दर्भ निकाल्नुअघि नेपथ्य ब्याण्डले सदाजस्तै पृष्ठभूमिमा घडी देखाएर ठ्याक्कै समयमा कार्यक्रम सुरु गरेको थियो । 

स्टेजमा नेपथ्यको अन्य गीतहरु पनि गुञ्जियो । ‘आँगनै भरी’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले’ ‘रेश्शम्’ र ‘तालको पानी’ जस्ता गीतमा नेपालीली निकै रमाइए । त्यसैगरी ब्याण्डका नयाँ गीतहरु ‘कोशीको पानी’ र ‘शिरफूलशिरैमा’ पनि दर्शकले उत्तिकै मन पराएका थिए । कार्यक्रममा ‘हामी नेपाली’, ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ जस्ता देशभक्तिका गीत पनि गाइएको थियो ।

‘हामीले थालेको नेपाली कक्षा चलाउने प्रयासलाई अमृत दाइले सराहना गरिदिनुभएकामा असाध्यै प्रोत्साहित भएका छौं,’ कार्यक्रमका आयोजकमध्ये एक तमु समाजकी सम्झना गुरुङले भनिन्, ‘उहाँले गर्नुभएको आब्हानलाई सबैले ग्रहण गरिदिनेछन् भन्ने विश्वास लिएकी छु ।’ बोस्टनमा यो कार्यक्रम आयोजना गर्नका निम्ति ‘तमु समाज’ले ‘जात्रा नेपाल’सँग मिलेर सहकार्य गरेको थियो ।

‘बोस्टनमा यसअघि पनि हामीले धेरै कार्यक्रमहरु आयोजना गरेका थियौं,’ आयोजक टिमका उज्ज्वल धौवडेलले भने, ‘यो चाहिँ अहिलेसम्मकै सबैभन्दा ठूलो ्मात्र होइन, हाम्रो लागि व्यवस्थित र शालिन आयोजनाको अनुभव बन्न पुग्यो ।’ बोस्टनको त्यो कन्सर्टपछि नेपथ्यको ब्याण्ड नेपाल फर्कियो ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया