फोरम सरकारबाट बाहिरिए मात्रै राजपासँग पार्टी एकता हुन्छ

 चैत १०, २०७५ आइतबार १३:५६:३० | केशव झा
unn.prixa.net

मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रकृया अहिले अगाडि बढेको छ । एक वर्षअघि प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा चुनावी तालमेल गरेका दुवै दलले त्योबेला पनि एकताको कुरा अघि नबढाएका होइनन् । तर त्योबेला एकता प्रकृयाले खासै गति लिन सकेन ।  

अहिले फेरि संघीय समाजवादी फोरमले एकताका लागि प्रयास गरेपछि राजपाले पनि त्यसलाई सकारात्मक लिँदै वार्ता टोली गठन गरेको छ । राजपा–फोरमको अहिले विधिवत रुपमा वा भनौं औपचारिक रुपमा एकताको पहल भएको हो । हुन त ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी निर्माण हुँदै गर्दा पनि फोरमलाई मिलाएर लैजाने भन्नेबारे पहल भएको थियो ।

तर त्योबेला हुन सकेन । त्यसपछि प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बेला पनि फोरमका अध्यक्ष उपेन्द्र यादवले भाषण गरेर नागरिकका बीचमा एकता गर्ने प्रतिबद्धता नै जनाउनुभएको थियो । त्यतिबेला पनि त्यसले औपचारिकता पाउन सकेन । 

हामी चुनावी तालमेल गर्दै चुनावमा होमियौँ र राम्रै नतिजा पनि हात पार्यौँ । अहिले पनि प्रदेश २ मा हामी २ पार्टीकै संयुक्त सरकार छ । मतदाताले पनि दुवै दललाई एक होउ भन्ने अभिप्रायले नै मतदान गरे । तर चुनावपछि फोरम सरकारमा सामेल भयो, हामी सरकारमा सामेल नभई सशर्त समर्थन मात्रै गर्यौँ ।

संविधान संशोधन लगायत हामीसँग भएका सहमति सरकारले सुनुवाई नगरेपछि अहिले भने हामीले त्यो समर्थन पनि फिर्ता लिइसकेका छौँ । फोरम अझै सरकारमै छ । 

एकीकरणको अन्तिम टुंगो लाग्दा फाेरमले सरकार छाड्नु पर्छ भन्ने नै हाम्रो अडान हो । 

अहिले फोरमले औपचारिक पत्र पठाउँदै एकताको आह्वान गरिसकेपछि हामीले पनि त्यसलाई सकारात्मक लिँदै वार्ता टोली गठन गरिसकेका छौँ । म आफैँ पनि वार्ता टोलीको एक जना सदस्य हुँ । 

फोरमले पार्टी एकताका लागि भन्दै पुस १९ गते पठाउनुभएको पत्र हामीले फागुन १० गते पायौँ । पत्र पाए लगत्तै पार्टीको बैठक बसेर चैत २ गते हामीले फोरमलाई पत्र पठाएका छौँ । त्यसमा हामीले एकताका लागि पहिला सरकार छाड्नु पर्ने शर्त राखेका छौँ । 

हामी सरकारभन्दा बाहिर छौँ । तपाईँहरु सरकारमा हुनुहुन्छ, सरकार छाड्नुभए हामी एकताका लागि तयार छौँ भनेर प्रष्टसँग हामीले भनिसकेका छौँ । त्यसको पनि जवाफ उहाँहरुले पठाउनु भएको छ । एकता भन्ने कुरा नीति, सिद्धान्त र विचारको आधारमा हुने हो ।

सरकारमा बस्ने, सत्तामा जाने भन्ने कुरा रणनीतिक कुरा हो । यो त एकीकरण गरेर पार्टीले सरकारमा बस्ने नबस्ने भन्ने बारेमा निर्णय गरेपछि हुने कुरा हो भन्ने कुरा उहाँहरुले गर्नु भएको छ । 

हामी पनि वार्ता, संवादका लागि सरकारमा रहँदैमा बाधक बन्दैन भन्नेमा नै छौँ । तर एकीकरणको अन्तिम टुंगो लाग्दा भने सरकार छाड्नु पर्छ भन्ने नै हाम्रो अडान हो । वार्ता संवादका लागि अहिले त्यस्तो बाधक केही पनि छैन । 

हाम्रो असन्तुष्टि भनेको संविधानसँग छ । संविधान संशोधन हाम्रो सुरुदेखिकै माग हो । त्यसैले अब सरकारमा बसिरहने भन्ने हुँदैन । त्यसैले सरकार छाडेर नै एकता हुन्छ । 

हामीले वार्ता टोली गठन गरेको फोरमसँग मात्रै नभई विभिन्न समूह तथा दलहरुसँग वार्ता गर्न हो । यो वार्ता टोलीले पहिचान पक्षधर दल तथा फोरमसँग वार्ता गर्छ ।  

केही दिनअघि मात्रै राष्ट्रिय जनमुक्ति पार्टीसँग हाम्रो एकता भयो । त्यस्तै अन्यसँग पनि हाम्रो प्रयास जारी नै छ । सबैसँग छलफल गर्नका निम्ति यो टोली गठन भएको हो । 

सरकारमा हामी छौँ यही बाधक हुनुहुन्न भनेर उहाँहरुले भन्नुभएकोले त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ । र अब छिट्टै वार्ता छलफलको चरण अघि बढ्नेमा मैले विश्वास लिएको छु ।  

पछिल्लो घटना क्रममा आएको मोड रेशम चौधरी प्रकरणमा अदालतले गरेको फैसला र सीके राउतको मूलधार राजनीतिमा पदार्पणले मधेसमा हाम्रो पक्कड पछि पर्ने हो कि भनेर वार्ताको कुरो अघि बढाएको हो कि भन्ने आशंका अहिले केहीले गरेको भए पनि वास्तवमा त्यस्तो केही होइन । 

जसरी प्रधानमन्त्री आफैले सीके राउतलाई हाम्रो विरुद्धमा योजनाबद्ध रुपमा उतारेर मधेसवादी दललाई कमजोर पार्छु भनेर दिवा स्वप्न देख्नु भएको छ त्यो सबै कुराको बदला नेपाली नागरिकले लिन्छ ।  

हाम्रो पार्टी हावामै बनेको पार्टी होइन । लामो संघर्ष खेपेर यहाँ सम्म आईपुगेको पार्टी हो । हामी संसदमा तेस्रो ठूलो दलको रुपमा छौँ भने फोरम पनि चौँथो दलको रुपमा छ ।

त्यसैले हामीलाई कसैको डर भएर पार्टी एकताको कुरो गरेको होइन । आम नागरिकका चाहना दुवै पार्टी एक होस् भन्ने पहिलेदेखि नै थियो । अहिले पनि छ । त्यसैले सबैको चाहना एक हुने भएपछि हामी एक हुनुपर्छ भनेर नै अघि बढ्न खोजेको हो । 

सीके राउतलाई हिजो न आम नागरिकले मन पराएका थिए न आज मन पराएका छन् । विगतमा उनी देश विखण्डनको कुरा गर्दै गर्दा हामीलाई यिनीहरु संसदवादी राजनीति गर्छन्, संघीयताका लागि लड्ने पार्टी हुन्, यिनीहरु झुटा हुन्, मधेसीहरुको अधिकार दिलाउन सक्दैनन्, त्यसका लागि एउटै समस्याको समाधान छ, त्यो भनेको स्वतन्त्र मधेस हो भनेर हिँड्दै गर्दा पनि नागरिक उनको समर्थनमा थिएनन् । 

आज त झन उनले त्यो सबै छाडेर बसेका छन् । त्यसैले उनी पो फटाहा रहेछन् भन्ने नागरिकले बुझिसकेका छन् । त्यसैले सीके राउतसँग हामी डराउनु पर्ने त्यस्तो केही छैन । उनी त नियोजित रुपमा ल्याइएको भन्ने सबैले बुझेका छन् । 

जसरी प्रधानमन्त्री आफैले सीके राउतलाई हाम्रो विरुद्धमा योजनाबद्ध रुपमा उतारेर मधेसवादी दललाई कमजोर पार्छु भनेर दिवा स्वप्न देख्नु भएको छ त्यो सबै कुराको बदला नेपाली नागरिकले लिन्छ ।  

हाम्रो संविधानमा नै बहुदलीय व्यवस्थाको वकालत गरिएको छ । स्थिर शासन सत्ताका लागि राजनीतिक दलहरु जति धेरै कम भयो आम नागरिकलाई त्यति नै धेरै राम्रो हुने हो । त्यसैलाई बुझ्दै हामीले अब एकता हुनुपर्छ अहिलेको अपरिहार्य पनि यही हो भनेर नै प्रकृया अघि बढाउन खोजेका हौँ ।  

हामीले वार्ता टोली गठन गरिसकेका छौँ । तर टोली गठन भइसके पनि अहिलेसम्म औपचारिक रुपमा दुवै दलकाबीच भने कुनै कुराकानी भएको छैन ।

फोरमले सरकार छाडेर आए पार्टी एकीकरणका लागि केही कुराले पनि रोक्न सक्दैन । एकता गर्न भनेर हामी सरकारमा जाने कुरा पनि आउँदैन । फोरमले नै सरकार छाड्नु पर्छ । हामीले हाम्रा नागरिकलाई पहिलेदेखि भन्दै आएका छौँ कि संविधान संशोधन र तमाम अधिकारका कुराहरु पछि मात्रै सरकार भनेर । 

अब फोरम प्रष्ट हुनु पर्छ । उहाँहरु प्रष्ट भएर आउनुभए वार्ता सफल हुन्छ र एकता अन्तिम चरणमा पुग्छ । हामीले वार्ता टोली गठन गरिसकेका छौँ । तर टोली गठन भइसके पनि अहिलेसम्म औपचारिक रुपमा दुवै दलकाबीच भने कुनै कुराकानी भएको छैन । तर पत्रबाट आ-आफ्ना भनाईहरु आदान प्रदान गरिरहेका छौँ । 
एकीकरणलाई कसरी अघि लैजाने भन्ने बल उहाँहरुको कोर्टमा छ । त्यो कोर्ट फराकिलो पारे त उतिबेलै हामी एक हुन्छौँ । 

पार्टी एकीकरण आवश्यक छ । अहिले रािष्ट्रयता र राष्ट्रिय एकतामाथि नै खतरा आएको छ । देशद्रोही र विखण्डनकारी तत्वलाई मूलधारमा ल्याउने बहानामा राष्ट्रियता कमजोर पार्ने जुन खेल भइरहेको छ त्यसलाई परास्त गर्न पनि हाम्रोबीच एकता आवश्यक छ । 

राष्ट्रियता र राष्ट्रिय एकतालाई बलियो पार्न अहिले एकता अपरिहार्य छ । त्यसैले हामी अत्याधिक सकारात्मक भएर, अत्यधिक लचक भएर एकता प्रकृयामा अघि बढेका छौँ । एकताका लागि देखिएका समस्यालाई संवाद र छलफलमार्फत समाधान निकाल्दै एकता प्रकृयालाई हामी अन्तिम निष्कर्षमा पुर्याउने छौँ । 

( राजपा महासचिव तथा वार्ता टाेलीका सदस्य केशव झासँग नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत ३, २०८०

केशव झा

झा राष्ट्रिय जनता पार्टीका महासचिव तथा वार्ता टाेलीका सदस्य हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया