सगरमाथा आरोहण व्यवस्थित गरिने

 चैत ११, २०७५ सोमबार ६:४८:३८ | रासस
unn.prixa.net

काठमाण्डाै – सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ । 

साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको हो । 

आरोहणका लागि वसन्त ऋतु र शरद ऋतु उपयुक्त मानिन्छ । खासगरी अहिले आरोहणको मुख्य याम भएकाले आरोहणलाई व्यवस्थित बनाउन विभागले सक्रियता बढाएको छ । पर्यटन विभागका निर्देशक मीरा आचार्यले विगतमा भएका विकृतिजन्य गतिविधिलाई नियन्त्रण गरी आरोहणलाई विश्वसनीय र प्रभावकारी बनाउन लागिएको जानकारी दिनुभयो । 

आरोहणका गतिविधिलाई प्रभावकारी नियमन र व्यस्थित गर्न खटिन सम्पर्क अधिकृतलाई विभागले विशेष जिम्मेवारीकासाथ खटाउनेछ । आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रुपमा खटाइने बताइएको छ । 

“विगतका आरोहण क्रममा सम्पर्क अधिकृत खटाएको स्थलमा नपुग्नेजस्ता गुनासा थिए, अहिले सम्पर्क अधिकृत खटाएको क्षेत्रमा पुग्नैपर्ने व्यवस्था गरिएको छ, अनुशासन कायम गर्न सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतिका रुपमा पठाउने योजना बनाएका छौँ, यसले आरोहणलाई व्यवस्थित र मर्यादिन बनाउन सहयोग पुग्ने अपेक्षा छ”, निर्देशक आचार्यले भन्नुभयो । 

कानूनबमोजिम नै आरोहण समयमा सुरक्षा निकायका व्यक्तिलाई सम्पर्क अधिकृत बनाएर पठाउन लागिएको विभागले जनाएको छ । सोअनुरुप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल आर्मीका समान दुई जनाका दरले छ जना र विगतमा पनि पठाउने गरिएको पर्यटक प्रहरीबाट पनि अधिकृत पठाइनेछ । 

निर्देशक आचार्यले भन्नुभयो, “यीमध्ये सबै यही सिजनमा पठाइन्छ भन्ने पनि हैन, हामीले एक वर्षका लागि सम्पर्क अधिकृत माग्ने भएकाले कतिपय अटम सिजनमा पनि जानुहुन्छ , तर वसन्त ऋतु (स्प्रिङ) सिजनलाई मध्यनजर गरेर सुरक्षाकर्मीलाई पठाउछौँ ।” 

योपटक सगरमाथा सफाइ अभियान रहेको र सगरमाथाको आधार शिविरमा आर्मीको एक्याम्प पनि बस्ने हुँदा केही हदसम्म आरोहण व्यवस्थित हुने विभागको अनुमान छ । आरोहण दलको सङ्ख्याअनुसार सम्पर्क अधिकृत खटाइने बताइएको छ । एक आरोहण दलमा एक सम्पर्क अधिकृत खटिन्छन् । एकदेखि १५ जनाको आरोही दल हुन्छ । 

निर्देशक आचार्यले आरोहण सुरु हुनुअघि शेर्पा टोलीले सगरमाथाको चुचुरोमा डोरी टाग्ने ‘रुट फिक्सिङ’ कार्य सम्बन्धित विभिन्न बैठकबाट सम्पर्क अधिकृत अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । 

आरोहणमा खटिने सम्पर्क अधिकृतको अवधि पनि हिमालअनुसार फरकफरक हुन्छ । सर्वोच्च शिखर (सगरमाथा ८, ८४८) सहित आठ हजार मिटर अग्ला हिमालका लागि ७५ दिनका लागि सम्पर्क अधिकृत खटाइन्छ । तर उनीहरु आवश्यकता र मौसमको अनुकूलता अनुरुप खटिन्छन् । 

पर्वतारोहणसम्बन्धी नियमावली–२०५९ मा व्यवस्था भएअनुसार सम्पर्क अधिकृत आरोही दल सँगसँगै कार्यक्षेत्रमा खटिनुपर्ने भए पनि व्यवहारिक रुपमा आरोहीभन्दा केही समय ढिलो सम्पर्क अधिकृत खटिन्छन् । 

विगतमा कतिपय सम्पर्क अधिकृत सगरमाथाको बेसक्याम्पसम्म पनि नपुग्ने, बीच बाटोबाटै फर्कनेजस्ता समाचार बाहिर आएका थिए । केही कम्पनीले सगरमाथा आरोहण गरेको नक्कली फोटोसहितको कागजातका आधारमा आरोहणको प्रमाणपत्र लिएको पनि विगतमा रेकर्ड छ । यतिखेर धेरै सङ्ख्यामा आरोही पर्वतारोहणका लागि नेपाल आएका छन् । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहण उनीहरूको रोजाइमा पर्छन् । 

आरोहण अनुमति सुरु 

पर्यटन विभागले यस वर्षको वसन्त ऋतुको आरोहण अनुमतिपत्र दिन सुरु गरेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार १५ भन्दाबढी आरोहण समूहले सगरमाथालगायत हिमाल आरोहण अनुमतिका लागि निवेदन दिएका छन् । हालसम्म छ आरोही समूहलाई अनुमति दिइएको छ । सगरमाथाको अनुमति आइतबारदेखि सुरु गरिएकामा एक समूहले अनुमति पाएको पर्वतारोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिनुभयो । दैनिक पाँचदेखि सात समूहलाई अनुमति दिइने विभागले जनाएको छ । 

विभागकै पर्वतारोहण शाखाका अनुसार सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४१४ हिमाल खुला गरेको छ, अझै आरोहणयोग्य १३ सयभन्दा बढी हिमाल रहेको बताइन्छ । 

एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । 

मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहमण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै मिहालबाटै रोयल्टी उठ्छ । विभागका अनुसार सन् २०१८ को वसन्त ऋतुमा रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको छ । योमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको छ । 

सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरकफरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रू ७५ हजार, शरद ऋतुमा रू ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । 
 

अन्तिम अपडेट: जेठ २०, २०७६

तपाईको प्रतिक्रिया