‘बल्ल चिन्दैछ विश्वले असली नेपाल, नेपालको प्रोफाइल बढेको बढ्यैछ’

 चैत १५, २०७५ शुक्रबार १७:४०:३० | प्रदीप ज्ञवाली
unn.prixa.net

काठमाण्डौमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट म निकै नै उत्साहित छु । खासगरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर ४० देशका ६ सय पाहुना आएका छन् । उनीहरुले कार्यक्रमलाई निकै चासो दिएर सहभागिता जनाएका छन्, यो नै ठूलो सफलता हो र उत्साहित हुने कुरा हो । 

केही प्रतिष्ठित कम्पनी, बहुराष्ट्रिय लगानीकर्ता, विकास साझेदारलगायतको उपस्थितिले हाम्रो यो सम्मेलनको महत्व कति धेरै रहेछ भन्ने पनि देखाएको छ । 

अर्को कुरा यसमा उहाँहरुको ठूलो रुचि पनि देखिन्छ । यदि उहाँहरुको रुचि थिएन भने नेपालमा आउनुहुने थिएन होला । नेपालको विकास र लगानीमा विश्व समुदायको रुचि छ भन्ने कुरा सहभागिताले देखाएको छ । 

त्यस्तै गएको केही महिनाहरुमा हामीले व्यापक रुपमा नयाँ कानुन बनाउने र पुराना कानुनको संशोधन गरिरहेका छौँ, यसले  पनि उनीहरुलाई आकर्षित गरेको छ ।

विदेशी लगानीका लागि जे जस्ता झण्झटहरु छन् भनिएको थियो, त्यो झण्झट  पनि अब हामीले समाधान गरेका छौँ । नेपालको कानुनमा आएको सुधारले विश्व समुदायमा निकै ठूलो सकारात्मक प्रभाव परेको छ । 

आजदेखि सुरु भएको लगानीको यो महाकुम्भले एउटा नेटवर्क निर्माण गर्नेछ । जीटुबी वा बीटुबी जे सुकैमा पनि नेटवर्क स्थापना गर्न यो सम्मेलन पूर्ण सफल हुनेछ । यसको संकेत आज देखिएको छ ।

बल्ल चिन्दैछ विश्वले असली नेपाल , नेपालको प्रोफाइल बढेको बढ्यै

विशेषगरी स्विजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसामु नेपालको बारेमा बताएपछि विश्वले नेपाललाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ । विश्व आर्थिक मञ्चमा नेपाललाई पहिलो चोटी बोलाइनु नै नेपाल अब विश्वसामु देखिँदैछ । अनि नेपाललाई अब हामीले पनि सुन्नपर्छ भन्ने मानसिकता बढेको छ । 

यस्तै विश्व बैंक, एसियाली विकास बैंकलगायतले पनि नेपालको बारेमा धेरै सकारात्मक धारणाहरु राखेका छन् । सहयोगलाई झण्डै दोब्बर बढाउने वाचा गरेका छन् । यसले पनि नेपाललाई उहाँहरुले दिएको महत्व थप प्रष्ट पारेको छ । 

अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको आकर्षण बढ्दै गरेको म पाउँछु, त्यसले नेपालको प्रोफाइल बढेको कुरालाई विश्वास योग्य बनाएको छ । यो लगानी सम्मेलनले पनि नेपालप्रति अन्तर्राष्ट्रिय चासो र नेपाललाई दिएको महत्वलाई थप बढाएको छ । 

– परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग अर्जुन पोख्रेलले गरेको कुराकानीको सम्पादित अंश

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रदीप ज्ञवाली

ज्ञवाली नेपाल सरकारका परराष्ट्र मन्त्री हुनुहुन्छ ।

1 Comments

  • gaurav

    March 30, 2019, 1:12 a.m.

    अब सरकारले काठमाण्डौको हरेक बाटोको टेन्डर पनि बिदेशीलाई दिए अलि राम्रो बन्ने थियो कि ? नेपाली ठेकेदारले टेन्डर त लिन्छन तर काम चाहिं केही गर्दैनन / अझ नेपाललाई सबैतिर चिनाउनलाई नेपालको काठमाण्डौको बाटोको सुधार एकदम आवश्यक छ भन्ने बुझ्नु जरुरी छ नेता भनाउँदाहरुले /

  •  0 Reply

तपाईको प्रतिक्रिया