वाणगङ्गाकी 'रिक्सावाली'

 चैत २०, २०७५ बुधबार २०:७:४३ | रासस
unn.prixa.net

शेरिफ केसी/रासस ।

कपिलवस्तु - देशका केही भित्री मधेसका जिल्लासहित कपिलवस्तुलगायत तराईका अधिकांश जिल्लामा रिक्सा चलाउने कार्यमा महिला पनि आकर्षित हुँदै गएका छन् । कपिलवस्तु वाणगङ्गा नगरपालिकाकी  शान्ता धिताल जिल्लामा रिक्सा चलाउने पहिली महिला हुनुहुन्छ ।

सुरुका दिनमा अटो रिक्सा चलाउँदा महिलाले पनि रिक्सा चलाउँछन् र भन्ने प्रश्न आउने गर्थे तर मनमा साहस हुँदा र आत्मनिर्भर बन्ने चाहना भएपछि हरेक काममा सफल होइने धितालको अनुभव छ ।  उहाँ वाणगङ्गा नगरपालिकामा अटो रिक्सा चलाएर  दैनिक र एक हजार ५ सयदेखि दुई हजारसम्म आम्दानी गर्नुहुन्छ ।  धिताल भन्नुहुन्छ, 'पहिले पहिले गाउँमा महिलाले रिक्सा चलाएको देख्दा कानेखुसी गर्थे हिजोआज राम्रो काम गरेको भनेर प्रशंसा गर्न थालेका  छन् ।' 

प्रायः रिक्सा चलाउने काममा पुरुष मात्रै हाबी हुन्थे तर पछिल्लो समय महिलाहरु पनि यो कार्यमा सक्रिय छन् । 'विगतमा हामी चुलोचौकोमै थियौँ', उहाँले भन्नुभयो 'तर अब हामी व्यवसायमा सक्रिय भएर आफै आम्दानी गर्नुपर्छ भन्ने मान्यताले अटो किनेर चलाउन थालेको हुँ ।' आफूमा काम गर्न सक्ने आत्मविश्वास राखे पुरुषले गर्ने काम महिलाले पनि गर्न सक्ने उहाँको अनुभव छ । महिलाहरु व्यर्थ डराउने गरेको उहाँ बताउनुहुन्छ । 

धिताल मात्रै होइन विद्यालय र कार्यालयबाट बाँकी रहेको समयमा उहाँकी छोरी बिना पनि त्यही पेशामा आबद्ध हुनुभएको छ । बिना भन्नुहुन्छ, 'सुरुमा त विद्यालयमा साथीहरुले पनि अनेक नाम दिएर जिस्काउँथे तर आजभोलि कक्षामा शिक्षकशिक्षिकाले मेरै नाम लिएर उदारण दिँदा निकै खुशी लाग्छ ।' समाजमा कामलाई सानो ठूलो भनेर दर्जा दिँदा आफूहरु पछि परेको बिनाको भनाइ छ । 'कहिलेकाहीँ विद्यालयको बिदा हुँदा म  आफै रिक्सा चलाएर हिँड्ने गर्छु । बाटोमा जिस्काउनेहरु हुन्थे तर म उनीहरुलाई वास्ता नगरी आफ्नो काममा लागिरहन्थेँ', बिनाले भन्नुभयो । 

घरको काममा मात्र सीमित हुने महिलाहरु आजभोलि केही गर्नुपर्छ भनेर अगाडि बढेको शान्ताकी छिमेकी मुमकला खनालले भन्नुभयो । 'सुरुमा त के सकिन्छ होला यति ठूलो साधन हाँक्न भन्ने लाग्थ्यो तर शान्ता दिदीको साहस देखेर हामीलाई पनि निकै हौसला मिलेको छ',  खनालले भन्नुभयो, 'शान्ता दिदी(धिताल)ले रिक्सा चलाएको देखेर आजभोलि मलाई पनि रिक्सा चलाउन मन लाग्छ ।'

धितालले अटो चलाउने मात्र होइन २० वर्षदेखि  सहकारीमा व्यवस्थापकका रुपमा जिम्मेवारी पनि वहन गर्दै आउनुभएको छ । सहकारीको आम्दानीसँगै अटो रिक्साले जिम्मेवारी वहन गर्न अझ सहज भएको उहाँ बताउनुहुन्छ । उहाँ छिमेकी कृषि सहकारी संस्था लिमिटेड कोपवामा व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ ।

सहकारीका सदस्यले पनि बिहान साँझ अटो रिक्सा चाहिएमा उहाँलाई खबर गर्छन् । केही नगरी दिन कटाउनुभन्दा दिनमा एक हजार पाँच सय–दुई हजार कमाउन सकियो भने घर खर्च चलाउन सजिलो हुने भएकाले आगामी दिनमा त्यस पेशालाई अझै निरन्तरता दिइने उहाँले बताउनुभयो । 

'सुरुका दिनमा त घर परिवार आफन्तहरुबाट त्यति सहयोग नभए पनि आजभोलि मैले गरेको काममा सबै खुशी हुनुहुन्छ । ठूला सवारी हाँक्नु महिलाको क्षमताले दिँदैन भन्नेहरु आजभोलि हामी आमाछोरीले अटो रिक्सा हाँक्दा छक्क पर्छन्', धितालले भन्नुभयो । बालबच्चाको लालनपालन्, श्रीमानकाे हेरचाह र चुलोचौकोको काम महिलाको मात्र हो भन्ने हाम्रो समाजले गर्दा आफूहरु शदियौँदेखि पछाडि परेको गुनासो उहाँले व्यक्त गर्नुभयो । 

अहिले उहाँ राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । अटो रिक्सा चलाएर महिला स्वरोजगार बन्न सक्छन् भन्ने गतिलो उदाहरणका रुपमा धिताललाई लिन सकिन्छ । अहिले समाजमा हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया