सरकारले उद्योग तथा लगानीमैत्री वातावरण बनाउन सकेन : उपराष्ट्रपति पुन

 चैत २५, २०७५ सोमबार १५:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगमैत्री वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

उपराष्ट्रपति पुनले व्यवसायीहरुले पटक–पटक आग्रह गर्दा पनि उद्योगमैत्री वातावरण बनाउन सरकारले चासो नदिएको गुनासो व्यक्त गर्नुभयो । 

ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको सोमबार काठमाण्डौमा उद्घाटन गर्दै उहाँले सरकारले व्यवसायीहरुको माग अनुसार उद्योग तथा लगानीमैत्री वातावरण बनाउन नसकेकै कारण देश पछि परेको पनि स्पष्ट पार्नुभयो ।

उपराष्ट्रपति पुनले सरकारको उचित नीतिको अभावमा नेपालको उद्योग व्यवसाय धरासायी भएको पनि स्मरण गराउनुभयो । उहाँले देशलाई समृद्ध बनाउन पनि उद्योगको विकास र त्यसमा आवश्यक लगानीको व्यवस्था गर्न सरकारले ढिलाइ गर्न नहुने आवश्यक्ता पनि औंल्याउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल चम्बर अफ कमर्सका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्योगमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले दोहोरो कर लिनेलगायतका व्यवस्थाका कारण अझै पनि देशमा उद्योगमैत्री वातावरण बन्न नसकेको स्पष्ट पार्नुभयो ।

ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील व्यवसायको उत्थानका लागि सरकारले स्पष्ट नीतिसमेत तय गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले ग्रिल व्यवसायबाट देशको समृद्धिमा योगदान पुर्‍याउन पनि सरकारले अनुकूल वातावरण बनाउन ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेललगायतलाई सम्मान गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया