चट्याङ लागेर एकजनाको ज्यान गयो, १६ जना घाइते

 चैत २६, २०७५ मंगलबार ९:९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – चट्याङ लागेर अछाममा एकजनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । सोमबार राती करिब ७ बजेतिर चट्याङ लागेर अछाममा एकजनाको ज्यान गएको अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल बिनायक नगरपालिका ७ बस्ने प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेका छन् । 

घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको ज्यान गएको हो । चट्याङ लागेर ज्यान गएका रावलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाम ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, वडा नं ४, ७ र ८ मा सोमबार परेको चट्याङ लागेर अन्दाजी वर्ष ३३ का धर्मेन्द्र रावल, वर्ष २७ का गोविन्द रावल, वर्ष ४५ का धर्म रावल, वर्ष १२ का रमेश रावल, वर्ष २२ की रेतुका रावल, एक वर्षीय बालक विप्लव रावल, वर्ष ५७ की उज्जा रावल, वर्ष १९ की सृजना रावल, वर्ष २३ की धिर्जा रावल, वर्ष २० का रघु रोक्का मगर, वर्ष २२ की कली रोक्का मगर तथा वर्ष १९ की सपना रोक्का मगर घाइते भएको र अन्य तीनजनाको पहिचान खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ । सोमबार हावाहुरीसँगै आएको असिना तथा परेको चट्याङले सुदूरपश्चिमको अछामलगायत अन्य पहाडी जिल्लामा ठूलो मात्रामा गहुँ, जौ तथा तरकारीलगायतका बालीमा क्षति पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया