‘ग्रीन भूमे, क्लिन भूमे’: डाँडापाखामा वृक्षारोपण, बस्तीका सबै घरमा हरियो र‌ंग

 चैत २६, २०७५ मंगलबार १५:२५:१३ | राजु लामिछाने
unn.prixa.net

‘ग्रीन भूमे, क्लिन भूमे’ को नारा अंगिकार गरेको रुकुम पूर्वको भूमे गाउँपालिकाले बस्तीहरु नै हरियो बनाउन लागिपरेको छ । खाली ठाउँमा वृक्षारोपण र घरहरुमा हरियो लेपन गरेर बस्ती नै हरियो बनाउने अभियानमा गाउँपालिका लागेको छ । 

अहिले भूमे गाउँपालिकाले गाउँको मुहार फेरेको छ । पहिले आफुखुशी रङ पोतिएका घरहरु भए पनि अहिले भूमेको बस्ती नै हरियाली बनेको छ । सबै बस्तीहरु हरियो बनिरहँदा गाउँको मुहार नै सुन्दर भएको छ । 

गाउँ नै हरियाली बनेपछि हरियो नै गाउँको पहिचान बनेको भूमे ३ सिमाका रविन्द्र पुनले बताउनुभयो । ‘गाउँपालिकाको हरियो रङ लगाउने कार्यक्रमले हामीलाई घरआँगन सरसफाइमा प्रेरणा मिलेको छ’ पुनले भन्नुभयो, ‘घरछिमेक सिँगारेर सफा गर्नुपर्ने रहेछ भन्ने ज्ञान आएको छ ।’ जानकारी अनुसार अन्य ठाउँबाट हेर्दा हरियो गाउँ देखिएपछि भूमे नै हो भन्ने चिन्न सजिलो पनि भएको छ ।

हरियाली गाउँ बनाउनको लागि भूमे गाउँपालिकको पछिल्लाे गाउँसभाबाट निर्णय भएको थियो । जस अनुसार भूमे गाउँपालिकाले ‘ग्रीन भूमे, क्लिन भूमे’  को नारा सहित अभियान सञ्चालन गरेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले हरेक घरलाई निशुल्क पाँच किलो हरियो रङ दिने निर्णय र कार्यान्वयन गरेको छ ।

‘उक्त रङले नपुगे घरधनीले आफै थप्नुपर्ने निर्णय भएको थियो र कोही कोहीले थपे पनि,’ अध्यक्ष बुढाले भन्नुभयो, ‘हरियो टोल निर्माण गर्ने अभियानले तीव्रता पाइरहेको छ, ३ हजार ८ सय ३६ घरदूरीमध्ये हालसम्ममा ४० प्रतिशत घर हरियो बनेका छन् ।’ 

गाउँ टोल हरियाली बनाउन गाउँपालिकाले अघिल्लाे वर्षदेखि नाङ्गो वनपाखामा विरुवा रोप्ने काम पनि गर्दै आइरहेको छ । नाङ्गो पाखामा वृक्षारोपण गरेर हरियो गाउँसँगै भूमेकाे वातावरण नै हरियो बनाइने गाउँपालिकाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया