नयाँ वर्ष लाग्यो‍, घुम्ने रहर जाग्यो !

 चैत ३०, २०७५ शनिबार ११:५९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘डाँडा पाखा चउर हरिया देखिए पालुवाले, बोकी ल्यायो बकुल वनको बास मिठो हावाले’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले वैशाख महिनाको निकै नै सुन्दर वर्णन गर्नुभएको छ । प्रकृतिले नयाँ आभुषण पहिरिने समय हो यो ।

रङ्गीबिरङ्गी फूलहरुले हिमाल पहाड तराईमा नयाँ श्रृङ्गार थपेको हुन्छ । कोइलीले वैशाखलाई डाकिसकेको छ, नयाँ वर्ष आइसकेको छ ।

नयाँ वर्षमा धेरैले आफूमा नयाँपन ल्याउने प्रयास गर्छन् । नराम्रा बानीलाई छाड्दै राम्रा बानीको अनुशरण गर्ने संकल्प गर्छन् । कोही पुराना पीडा भुलाउन र कोही नयाँ याद बटुल्न घुम्न जान्छन् । 

त्यसो त हिजोआज नयाँ वर्षमा घुम्न जाने संस्कृति बढ्दो छ । नयाँ ठाउँ घुमेर नयाँ वर्षलाई स्वागत गर्न चाहनेहरु पनि धेरै छन् । तपाईं पनि कतै घुम्न जाने योजनामा हुनुहुन्छ भने घुम्नलायक तल उल्लेख गरिएका ठाउँका बारेमा केही कुरा थाहा पाउनुहोस् । 

पोखरा

घुम्न जाने कुरा गर्दा धेरैले मन पराउने ठाउँ हो, पोखरा । पोखरालाई पर्यटनको पर्याय नै मानिन्छ । ताल, गुफा र नजिकबाट हिमालको दृश्यावलोकन यहाँका आकर्षण हुन् । यहाँबाट अन्नपूर्ण हिमाल, पुनहिलजस्ता क्षेत्रहरुको पदयात्रा गर्नुको साथै सराङकोटबाट प्याराग्लाइडिङको मज्जा लिन सकिन्छ ।

पोखरा जाँदा घुम्न बिर्सनै नहुने ठाउँहरु हुन्, फेवाताल, महेन्द्र गुफा, चमेरे गुफा, डेभिड फल्स, बेगनास ताल, बिन्ध्याबासिनी मन्दिर । एक–दुई दिनको भ्रमण तालिका बनाएर छोटो अवधिका लागि घुम्न जान चाहनुहुन्छ भने पोखरा उपयुक्त गन्तव्य हुन सक्छ ।

मुस्ताङ

हिमालपारिको जिल्लाका रुपमा परिचित मुस्ताङ धार्मिक तथा प्राकृतिक रुपमा रमणीय ठाउँ हो । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्यटकीय स्थल हो । त्यहाँको रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यताले सबैलाई आकर्षित बनाउँछ । 

जोमसोमको चिसो बतास, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, नौतले गुफालगायत मनमोहक प्राकृतिक दृश्य तथा कोरला नाका प्रख्यात छन् । काठमाण्डौबाट पोखरा म्याग्दीको बेनी हुँदै मुस्ताङ पुग्न सकिन्छ । मुस्ताङ जानका लागि चैत वैशाखको समय निकै उपयुक्त मानिन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पुरानो राष्ट्रिय निकुञ्ज हो । चितवनको सौराहा पर्यटकका लागि ख्यातीप्राप्त ठाउँ हो । यहाँ रहेका जीव, जनावरहरु हेर्न, जंगल सफारी गर्न पर्यटकहरुको भिड लाग्ने गर्दछ । हात्ती सफारीको लागि चितवनको घुमघाम उपयुक्त मानिन्छ ।

काठमाण्डौबाट चितवन सिधा गाडी जाने गर्छ । ६ सय ५० रुपैयाँदेखि ७०० रुपैयाँमा चितवन पुग्न सकिन्छ । काठमाडौंबाट प्लेन मार्फत पनि चितवन पुग्न सकिन्छ । 

बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज तराईको महत्वपूर्ण क्षेत्र हो । यहाँ बाघ हेर्न पर्यटकहरु जाने गर्दछन् । विभिन्न प्रजातिका जनावर, जराचुरुङ्गी, गोहीलगायत जीवको यहाँ अवलोकन गर्न सकिन्छ । थारु समुदायको संस्कृति पनि लोभलाग्दो रहेको छ ।

पूर्ण रूपमा तराई क्षेत्रमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य बाघ तथा यसको शिकारको संरक्षण भए पनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन् । निकुञ्जसँगै थारु समुदायको मौलिक संस्कृतिले पनि बर्दिया जाने पर्यटकको सत्कारमा थप फाइदा पुगेको छ ।

पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि बर्दिया पुग्न सकिन्छ । काठमाण्डौबाट झण्डै १३ घण्टाको यात्रामा बर्दिया पुग्न सकिन्छ । काठमाण्डौबाट नेपालगञ्ज हवाइ यात्रामा पुगेर त्यहाँबाट बसको यात्राबाट पनि जान सकिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज नेपालगञ्जबाट ८७ किलोमिटर टाढा छ । सार्वजनिक गाडीमा नेपालगञ्जबाट ३ घण्टाको यात्रामा बर्दिया राष्ट्रिय निकुञ्ज पुगिन्छ ।

लुम्बिनी

लुम्बिनी विश्वमै प्रख्यात धार्मिक पर्यटकस्थल हो । बौद्धमार्गीहरुको यहाँ भिड लाग्ने गरेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध दर्शन गर्न तथा अध्ययन गर्न विश्वभरका मानिसहरु आउने गर्छन् । मायादेवीको मन्दिर लुम्बिनीको मुख्य आकर्षक केन्द्र हो ।

अशोक स्तम्भ आफैमा ऐतिहासिक छ । यहाँ गौतम बुद्धको जन्मस्थल, विभिन्न भग्नावशेष, मन्दिर महत्वपूर्ण आकर्षण केन्द्र हुन् । तिलौराकोट पनि लुम्बिनी जानेहरुका लागि महत्वपूर्ण आकर्षक केन्द्र बन्ने गरेको छ । काठमाण्डौबाट भैरहवा विमानस्थल हुँदै लुम्बिनी पुग्न सकिन्छ ।

लुम्बिनी काठमाण्डौबाट सिधै गाडीबाट पनि पुग्न सकिन्छ । लुम्बिनी पुग्न काठमाण्डौबाट झण्डै एक हजार रुपैयाँ भाडा लाग्दछ ।

रारा

मुगु जिल्लामा पर्ने रारा ताल महत्वपूर्ण पर्यटकीय स्थल हो । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकको लागि रमणीय ठाउँ हो । तालमा पुगेर डुंगा सयर गर्दा निकै रमाइलो लाग्ने गर्छ ।

प्रकृतिको उपहारको रूपमा रहेको रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली क्षेत्र मानिन्छ । यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीलेसमेत आकर्षक बनाएको छ ।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १ सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा तालमा विश्वमै कहीँ नभेटिने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ । काठमाण्डौबाट हवाइ यात्रामार्फत नेपालगञ्ज पुग्न सकिन्छ ।

नेपालगन्जबाट हवाइ यात्रामा मुगुको ताल्चा विमानस्थल पुगिन्छ । ताल्चा विमानस्थलबाट तीन घण्टाको पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ । काठमाण्डौबाट १२ घण्टाको गाडी यात्राबाट पनि नेपालगञ्ज पुग्न सकिन्छ । नेपालगञ्जबाट कालिकोट पुग्न एकदिन लाग्छ । कालिकोटबाट नाग्मा र नाग्माबाट फेरि बस चढेपछि गमगढी पुगिन्छ । गमगढीबाट पाँच घण्टाको हाइकमा रारा पुग्न सकिन्छ ।

खप्तड राष्ट्रय निकुञ्ज

डोटी, अछाम, बझाङ र बाजुराको संगमस्थल हो खप्तड क्षेत्र । यहाँ हिउँदमा हिउँ र अन्य समय हरियाली वातावरणले पर्यटकको मन तान्ने गरेको छ ।
वसन्तमा यहाँ फूलहरु फुलेको,  चराचुरुङ्गीको चिरबिर आवाजले निक्कै रमाइलो बनाउँछ । खप्तड धार्मिकस्थल पनि हो । त्यहाँ खप्तड बाबाले तपस्या गरेको हिन्दूहरुले विश्वास गर्ने गरेका छन् ।
अरु समय हरियाली देखिने खप्तडमा पुस महिनापछि भने हिउँले ढाकेको हुन्छ । खप्तडका ठूला फाँटहरुमा फुल्ने विरङ्गी फूलहरु त्यहाँको विशेषता हो । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

एक दिनमा काठमाण्डौबाट कैलालीको धनगढीसम्म ६ सय ५० किलोमिटर बसमार्फत वा काठमाण्डौबाट सिधै धनगढीसम्म हवाईजहाजमार्फत धनगढी पुग्न सकिन्छ । अर्को दिन धनगढीबाट डोटीको सिलगढीसम्म बसमा पुग्न सकिन्छ । त्यसपछि पैदल गएर खप्तड पुग्न सकिन्छ । जीप चल्ने समयमा भने रिजर्भ गरेर लान सकिन्छ । 

इलाम 

इलामको चियाबारी नै रमाइलो ठाउँ हो । फिक्कलबाट रमाइलो दृश्य हेर्न सकिन्छ । चैत वैशाख इलाम घुम्न उपयुक्त समय हो । 

चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सकन्दपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला हेर्न सकिन्छ ।

सूर्योदय, सूर्योस्त र तराईका फाँटहरु झनै सुन्दर देखिन्छन् । माइपोखरी, कन्याम निकै रमणीय ठाउँ रहेको छ । त्यस्तै श्रीअन्तु डाँडाबाट सूर्यको किरण र हरियाली वातावरण निकै रोचक देखिन्छ ।

अन्नपूर्ण पदमार्ग 

पत्रयात्राका सौखिनका लागि अन्नपूर्ण पदमार्ग राम्रो विकल्प हो । अन्नपूर्ण पदमार्ग नेपालीमाझ मात्र होइन विश्वभर चर्चित छ । लमजुङ सदरमुकाम बँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङको ताल, बगरछाप, चामे, थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा पूरा हुन्छ ।

कास्कीबाट पनि अन्नपूर्ण पदयात्रा सुरु गर्न सकिन्छ । ठाउँ ठाउँमा भएका विश्राम स्थलले पनि अन्नपूर्ण पदमार्गमा थकाई मार्न सहज हुन्छ । पदयात्रीका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको ५ हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज 

सगरमाथा राष्ट्रिय निकुञ्ज पूर्वी नेपालको सोलुखुम्बुको उत्तरी भागमा छ । जसले सगरमाथा, ल्होत्से, नुप्त्से, चो यु, आमादब्लम हिमाल तथा यस वरिपरिको क्षेत्र ओगटेको छ । यसको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग किलोमिटर छ । सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत छ । निकुञ्ज १८ सय मिटरदेखि ४ हजार ४८ मिटरसम्मको उचाईमा रहेको छ ।

यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गूर बाँदर, मोनाल, हा‘इटे उइङ्ग्ड ग्रस बिक्ड, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । यससँगै सगरमाथा पत्रयात्राका लागि आउने पर्यटक पनि उल्लेख्य छन् ।

सर्वोच्च शिखर आरोहणका लागि साथै आधार शिविरसम्मको पदयात्रा पनि पर्यटकको रोजाइँमा छ । काठमाण्डौदेखि लुक्लासम्म हवाई यात्रा र त्यसपछि पैदल यात्रा गरेर सगरमाथा क्षेत्रमा पुग्न सकिन्छ ।

पुनहिल 

म्याग्दीमा रहेको पुनहिल चारैतिर गुराँसे जङ्गलले घेरिएको ३ हजार २ सय १० मिटरको उचाइमा रहेको छ । यहाँ बिहानीको सूर्योदयसँगै, हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन र कोलाहलमुक्त वातावरणमा रमाउन सकिन्छ ।

म्याग्दी घोरेपानी, पुनहिल क्षेत्र पोखरादेखि नजिक हुनुले पनि पर्यटक बढेका छन् । म्याग्दीको भुरुङ तातोपानी, मोहरेडाँडा, कास्कीको घान्दु्रक, उल्लेरी हुँदै घोरेपानीमा पुगेका पर्यटकको लागि पुनहिलबाट देखिने प्राकृतिक सौन्दर्यता, भौगोलिक बनावट र मनोरम हिमशृङ्खलाका दृष्यले पर्यटकको मन जितेको छ ।  

पुनहिलमा चैत वैशाखमा ढकमक्क फूल्ने लालीगुराँस र पुस, माघमा सेताम्मे हिउँ पर्दा थप आकर्षक देखिन्छ । पर्यटकीय नगरी पोखरादेखि कास्कीको नयाँपुल हुँदै एकै दिनको पैदलयात्रामा पुग्न सकिने पुनहिल विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटकहरुका लागि पनि प्रमुख गन्तव्य स्थल बनेको छ ।

भेडेटार

पूर्वाञ्चलका उत्कृष्ट गन्तव्यमा धनकुटाको भेडेटार पनि पर्ने गरेको छ । १ हजार ४ सय ३० मिटर उचाइमा रहेको यो ठाउँ मनोरम दृश्यावलोकनका लागि पूर्वी हिमाली भेगको सुन्दरता नियाल्नका लागि पनि हो ।

भेडेटारबाट धरान बजारको रमाइलो दृश्य देखिन्छ । भेडेटारको भ्यू टावर यस्तो स्थान हो जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरू साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशृंखला एकैपटक हेर्न सकिन्छ ।

अझ अलिकति समय निकालेर घुम्न निस्कनेका लागि भेडेटारसँगै धनकुटा, वसन्तपुर तथा हिले पनि घुम्न सक्छन् । तेह्रथुम, संखुवासभा र धनकुटाको संगमस्थल तिनजुरे मिल्के पनि उपयुक्त स्थान हुन सक्छ ।

काठमाण्डौ उपत्यका नजिक घुम्न जानेहरुका लागि

काठमाण्डौमा बस्नुहुन्छ, टाढा जानको लागि अफिसबाट छुट्टी मिलेको छैन भने चिन्ता लिनुपर्ने केही छैन । उपत्यका आसपासमा पनि निकै नै सुन्दर पर्यटकीय स्थलहरु छन् । तपाईं एक दिनको समयमै दुई तीन ठाउँ घुम्न सक्नुहुन्छ । 

नगरकोट, चन्द्रागिरी, गोदावरी, पुल्चोकी, साँगा आदि बढी रोजाइका पर्यटकीय क्षेत्रहरु हुन् । त्यहाँ पुग्न पनि समय छैन, व्यस्तताले सताइरहेको छ भने उपत्यका भित्रै पनि थुपै ठाउँहरु छन । भक्तपुर दरबार क्षेत्र, बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, पसुपति मन्दिर, स्वयम्भू, ह्वाइट गुम्बातिर पनि घुमघाम गर्न सक्नुहुन्छ । मौसम रमाइलो छ ।

काठमाण्डौ उपत्यकाका डाँडाकाँडातिर हाइकिङमा जाँदा पनि त्यत्तिकै रमाइलो भइहाल्छ । जताततै हरियाली छाएको छ । गहुँ पाक्नै लागेको छ । तोरी फुलेर गह्राहरु पँहेलपुर भएका छन् । कोइलीको कुहुकुहुसँगै प्रकृतीले पनि नयाँ वर्षको मधुर राग फिजाइरहेको छ...। नयाँ वर्षको उत्साहसँगै प्रकृतिमा रमाउनुहोस् । सबैमा नयाँ वर्षको शुभकामना ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया